दार्चुलाका १६८ बालबालिकालाई कडा कुपोषण

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७९, बिहीबार

दार्चुला: जिल्लाका ९ वटै स्थानीय तहमा ५ वर्षमुनिका एक सय ६८ जनामा कडा खालको कुपोषण देखिएको छ । जिल्लाका ६१ वडामा स्वास्थ्यकर्मी पुगेर ५ बर्षमुनिका बालबालिकालाई चेकजॉच गर्दा कडा कुपोषण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरिका १३ हजार ४८ बालबालिकामध्ये ६ महिनादेखि ५ बर्ष मुनिका पॉच हजार बढी कुपोषणको समस्यामा छन् । स्थानीय तहका स्वास्थ्य शाखाहरूले स्वास्थ्यकर्मी टोल–टोलमा खटाएर ५ बर्ष मुनिका जिल्लाभरीका ५ हजार दुई सय ५ जना बालबालिकाको स्वास्थ्य परिक्षण गर्दा एक सय ६८ जनामा कडा खालको कुपोषण पृष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर बिरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

उहाँका अनुसार शैल्यशिखर नगरपालिकामा ३५ बालबालिका, लेकम गाउपालिकामा ३५, नौगाड गाउपालिकामा ३५, ब्यास गाउपालिकामा २० , मार्मा गाउपालिकामा १५, मालिकार्जुन गाउपालिकामा १० र दुहु गाउपालिकामा ४ बालबालिकामा कडा खालको कुपोषण देखिएको छ ।

जिल्लालाई असार २४ गते मात्रै पूर्ण खोप जिल्ला र पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको थियो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्लामा १ सय ६८ बालबालिकाहरूमा कडाखालको कुपोषण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उमेर अनुसार खानाको व्यवस्था हुन नसक्नु, आमाले बच्चा छिटो पाउनु, पोषणयुक्त तथा भिटामिनयुक्त खानेकुराको उपलब्धता हुन नसक्दा बालबालिकामा कुपोषण देखिएको खोप सुपरभाईजर भट्टले बताउनुभयो ।

  • ५ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech