अक्सिजेनेटर आपूर्तिमा समस्या, नेपालमा मुटु शल्यक्रिया ठप्प हुने अवस्थामा

तत्काल के गर्न सकिन्छ छलफल भइरहेको स्वास्थ्य प्रवक्ताको भनाइ


    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७९, बिहीबार

नेपालगन्जः भरतपुरस्थित चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया गर्दा चाहिने अक्सिजेनेटर अब चार वटा मात्र बाँकी छन्।

ती चार वटा अक्सिजेनेटरले ४ जना बिरामीको शल्यक्रिया गर्न मिल्छ। त्यसपछि आउने बिरामीलाई के गर्ने भन्ने अस्पताल प्रशासनसँग योजना छैन। किनकी अक्सिजेनेटरको अभावले अरू अस्पतालमा मुटुको शल्यक्रिया नै रोकिएको छ।

केहीदिनअघि काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा अक्सिजेनेटर नभएपछि मुटुको शल्यक्रिया सेवा बन्द भएको छ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजेनेटरको अभावले मुटुको शल्यक्रिया रोकिएको एक साता भइसक्यो।

प्रतिष्ठानका मुटुशल्य चिकित्सिक डाक्टर लोकेश जैसवालले अक्सिजेनेटरको अभावका कारण रोकिएको शल्यक्रिया फेरि कहिले सुरू हुन्छ टुंगो नभएको बताउनुभयो ।

देशका अरू अस्पतालमा पनि अक्सिजेनेटरको सकिन लागेका छन् तर नयाँ कहिले आइपुग्छन् भन्ने अनिश्चित छ।

मुटुको शल्यक्रिया गर्दा अक्सिजेनेटर नभई हुँदैन। डाक्टर जैसवालका अनुसार ओपन हार्ट सर्जरी गर्दा मुटु र फोक्सो दुबै बन्द गर्नुपर्छ। त्यस्तो बेला शरीरमा अक्सिजन दिन र कार्बनडाइअक्साइड लिन यो उपकरण राख्नुपर्छ।

‘मुटु र फोक्सो बन्द भएका बेला अक्सिजेनेटरले शरीरको रगतमा अक्सिजन दिने र कार्बनडाइअक्साइड लिने गर्छ। यो बिना ओपन हार्ट सर्जरी गर्न सकिन्न,’ उहाँको थप भनाइ छ ।

३५–४० हजार रुपैयाँ पर्ने यो उपकरण तेस्रो मुलुकबाट आयात गर्नुपर्छ। सरोकारवालाहरूका अनुसार अक्सिजेनेटरको उत्पादन युरोपका केही मुलुक, अमेरिका र जापानमा हुन्छ। भारतले पनि तिनै मुलुकबाट आयात गरेर माग धानिरहेको छ।

अहिलेको अक्सिजेनेटरको उत्पादन र विश्वव्यापी आपूर्तिमा समस्या देखिएको छ। जसको असर भारतमा पनि परेको छ।

अघिल्लो साता गुजरातको अहमदावादका डाक्टरहरूले अक्सिजेनेटरको चिन्ताजनक अभाव भइरहेको बताएका थिए।

टाइम्स अफ इन्डियामा जुलाई १२ मा प्रकाशित समाचारअनुसार कोरोनाभाइरसका कारण चीनमा लामो समय भएको लकडाउन, पछिल्लो समय रूस(युक्रेन युद्धका कारण एकातिर अक्सिजेनेटर उत्पादनका लागि कच्चा पदार्थ उपलब्ध हुन सकेको छैन भने अर्कातिर आपूर्तिमा पनि समस्या भइरहेको छ।

भारतीय आपूर्तिकर्ताहरूले युरोप र अमेरिकाका उत्पादक कम्पनीहरूले आफूले मागेजति अक्सिजेनेटर दिन नसकेको बताएका छन्।

नेपाली आपूर्तिकर्ताहरूले पनि अक्सिजेनेटर युरोप र अमेरिकाबाट सोझै मगाउने गरेका छन्। सरकारी अस्पतालहरूले आफूलाई चाहिने सामग्री टेन्डरमार्फत् किन्न सक्ने भएकाले यो उनीहरूको नियमित कामअन्तर्गत पर्छ।

अहिले अक्सिजेनेटरको अभावले शल्यक्रिया नै बन्द हुने अवस्था आएपछि स्वास्थ्य मन्त्रालयले समस्या समाधानका लागि पहल थालेको छ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले समस्या समाधानका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको बतउनुभयो ।

  • ५ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech