किन सताउँछ ग्यास्ट्रिकले ?

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७९, शनिबार

साधारण बोलीचालीको भाषामा ग्यास्ट्रिक भनेर चिनिने रोगलाई अंग्रेजीमा ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिक हुँदा आमाशयलाई घेरेर बसेको नरम झिल्ली सुन्निने वा फुल्ने (इन्फ्लामेसन) हुन्छ । ग्यास्ट्रिक कुनै खास उमेर समूहका मानिसलाई हुने नभई बच्चादेखि बुढासम्म जसलाई पनि लाग्ने गर्छ । तर, प्रायः ४०–४५ वर्ष कटेपछि ग्यास्ट्रिकले बढी सताएको पाइन्छ। यो उमेरमा मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने भएकाले जुनसुकै रोगले सजिलै आक्रमण गर्न थाल्छ। खासमा खानपिनबाट हुने ग्यास्ट्रिक वा चिन्ताबाट हुने ग्यास्ट्रिक, युवावस्थामा पनि हुने गर्छ।

अर्कोतिर वातावरणीय प्रभावबाट र खाना नपचेर हुने ग्यास्ट्रिकबाट भने बच्चा पनि प्रभावित हुने गर्छन् । ग्यास्ट्रिकका अन्य धेरै कारक हुन्छन् । मूल रुपमा ९० प्रतिशत ग्यास्ट्रिक हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाबाट लाग्ने गर्छ । अर्को भनेको जथाभावी औषधि सेवन, पेनकिलरको बढी प्रयोगले पनि ग्यास्ट्रिक गराउने कारण हो । समयमा नखाने, समयमा नसुत्ने र बढी मात्रामा अमिलो खानाले पनि यस्तो ग्यास्ट्रिको समस्या आउँछ । चिन्ताले पनि ग्यास्ट्रिक निम्त्याउने गर्छ । साथै, रक्सी, चुरोट र झानेका वा तारेका खानेकुरा पनि ग्यास्ट्रिकका कारण मानिन्छन् ।

खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसका साथसाथै हाइड्रोक्लोरिक एसिड नामक कडा प्रकारको अम्ल पनि हुन्छ । पेटभित्र उत्पादन हुने यो अम्लको काम खाना पचाउने र पेटभित्रका कीटाणुलाई मार्ने हो । आमाशयलाई यो अम्लबाट बचाउनका लागि आमाशयको भित्रबाट म्युकस नामका तरल पदार्थ र बाइकार्बोनेट नामक क्षार निस्किरहेको हुन्छ । यो प्रक्रियामा असन्तुलन भएमा ग्यास्ट्रिक हुन्छ ।

वातावरण पनि कारक
ग्यास्ट्रिक गराउने प्रमुख कारक एचपाइलोरीको संक्रमण खासगरी दिसाबाट संक्रमित पानी खाना वा अन्य माध्यमबाट हाम्रो शरीरभित्र पुग्यो भने हुन्छ। दिसामा पाइने ब्याक्टेरिया हाम्रो पेटको एन्टम नामक झिल्लीको तल्लो भागमा गएर बस्छ। उक्त पातलो झिल्लीको माथिल्लो भागमा अम्लीयपन हुने भएकाले ब्याक्टेरिया माथि बस्दैन । यो एकदमै न्युटल स्थान वा बफर जोनमा बस्ने गर्छ । जसले बाहिर आएर ग्यास्ट्रिक बनाउँछ । यसको समयमै उपचार भएन भने जटिलता थप्दै जान्छ।

किन बढ्दै छ ग्यास्ट्रिक ?
हिजोआज मानिसको जीवनशैलीमा परिवर्तन आएको छ जंकफुडमाथिको निर्भरता अत्यन्त बढेको छ । मानिसको खानपानसँगै बाह्य वातावरणमा समेत परिवर्तन आएको छ । जीवन दिनदिनै चिन्तामय बन्दै छ । अस्वस्थ प्रतिस्पर्धा धेरै छ, अप्राकृतिक कुराहरु बढ्दै छन् । व्यस्तताका कारण सुरक्षामा मानिसको ध्यान गएको छैन । जीवन धान्नका लागि संघर्ष गर्दागर्दै अत्यावश्यक कुरामा ध्यान पुर्याउन सकेको छैन ।

समयमा खाने, सुत्ने, सकारात्मक सोच्ने, चिन्तामुक्त हुने, नियमित व्यायाम गर्ने लगायत कुराहरु मानिसका प्राथमिकतामा पर्न सकेका छैनन् । वातावरणीय प्रदूषण चरम अवस्थामा छ । मानिसको जीवनशैली र वातावरणमा आएका यस्ता परिवर्तनका कारण नै पछिल्लो समय ग्यास्ट्रिक आमरोग बन्न पुगेको हो । यससँगै चिन्ता ग्यास्ट्रिकको प्रमुख कारण हो । पहिल्लो समय युवापुस्ताले अपनाउने गरेको अस्वस्थ जीवनशैली र चिन्तामग्नताले देशको युवा जनशक्तिलाई ग्यास्ट्रिकले गाँजेको छ ।

नेपालको सन्दर्भमा कतिपय सामाजिक, धार्मिक मूल्यमान्यताका कारण भोको बस्ने गर्नाले पनि ग्यास्ट्रिक बढिरहेको छ । पुरुषको तुलनामा नेपाली महिलाहरु बढी व्रत बस्ने, समयमा नखाने भएकाले ग्यास्ट्रिकबाट पीडित बन्न पुगेका छन् ।

विदेशमा बस्ने नेपाली पनि ग्यास्ट्रिकबाट पीडित छन् । उनीहरुमा ग्यास्ट्रिक हुने खास कारण भनेकै खाना वानीमा परिवर्तन हुनु हो । उनीहरुले यहाँ खाने खाना र उता गएर खाने खानामा पूरा परिवर्तन हुन्छ । यहाँ दाल, भात, तरकारी खाइरहेको मान्छे, पाचन प्रणाली पनि यहीँको वातावरणसित अभ्यस्त भइसकेको हुन्छ । विदेश गएर मानिसले बढी मात्रामा मासु, जंकफुड, दूध बढी मात्रामा खाने हुन्छ भने यहाँ साग र भेजको मात्रा बढी खाइरहेको हुन्छ ।

एक्कासि खानपानमा आउने यस्तो परिवर्तनका कारण खाना पचाउन नसक्ने हुन्छ । खाना राम्रो नै खाए पनि पचाउन नसक्दा ग्यास्ट्रिक हुन्छ । हाम्रो शरीरले कुनै वेला राम्रो खाना पनि पचाउन सक्दैन । यससँगै लामो ड्युटीका कारण समयमा खान नपाएर पनि उनीहरुमा ग्यास्ट्रिक हुने गरेको छ ।

ग्यास्ट्रिक बिग्रेमा के हुन्छ ?
ग्यास्ट्रिक बिग्रेको खण्डमा अल्सर हुन्छ । अल्सर कहाँनेर छ भन्ने कुराले महत्व राख्छ । यदि पेटबाट तलतिर जाने नलीमा अल्सर रहेछ भने त्यसले खाना पास हुने नलीलाई नै सानो र साँघुरो बनाउँछ । खाना रोकियो वा पास भएन भने बान्ता पनि हुन्छ । अल्सर बिग्रको खण्डमा रक्तअल्पता हुन्छ, दिसामा रगत जान्छ, दिसा कालो हुन थाल्छ । समयमा उपचार गरेन भने यसले ज्यान पनि लिन सक्छ । अल्सरको समयमा उपचार नहुँदा आन्द्रा फुट्ने पनि सक्छ । उपचार अभावमा अल्सर बिग्रेर १ प्रतिशत मानिसमा क्यान्सर पनि हुने गरेको पाइएको छ। त्यसैले ग्यास्ट्रिक भएमा समयमै उपचार गराउन र खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।

रोकथाम/उपचार
ग्यास्ट्रिकबाट बच्न सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको खानपिनमै हो । समयमा खाना खाने, राम्रो र पाकेको खाना खाने, पानीलाई उमालेर वा फिल्टर गरेर कीटाणुमुक्त बनाएर मात्र पिउने गर्नुपर्छ । सागसब्जी तथा फलफूल बढी मात्रामा खानुपर्छ । रक्सी, चुरोट खानुहुँदैन । सामान्य दाल, भात, तरकारीले केही असर गर्दैन । पानी बढी मात्रामा पिउनुपर्छ । पोलेको खानेकुरा खानुहुँदैन । मासु खाने हो भने मज्जाले पकाएर खानुपर्छ । अमिलो अचार, तारेको खानेकुरा बन्द गर्नुपर्छ । चिल्लो बढी खानुहुँदैन । पिरोले खासै असर त गर्दैन, तर पनि कहिल्यै नखानेलाई भने अपवादका रुपमा असर गर्छ । खुर्सानी कहिले पनि पच्दैन ।

पोषणयुक्त खानेकुराको सेवनले पनि ग्यास्ट्रिकबाट बच्न महत्वपूर्ण सहयोग पुर्याउँछ । पोषणले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। यसले शरीरमा शक्तिप्रवाह गर्छ । जब शरीरमा शक्ति बढ्छ वा तागत प्राप्त हुन्छ, त्यतिवेला केही भयो भने शरीरले आफूलाई नियन्त्रणमा राख्न सक्छ।

ग्यास्ट्रिक उमेर छिप्पिएका मानिसलाई मात्र हुने नभई बच्चालाई पनि हुन्छ । खासगरी बच्चालाई खाएको कुरा पचाउन नसकेर ग्यास्ट्रिक हुन्छ । बच्चालाई ढ्याउ–ढ्याउ आउँदा, पेट दुख्दा ग्यास्ट्रिक भनेर पनि मान्ने गर्छौं । बच्चाले खानेकुरा नखाएर पनि यस्तो भएको हुन्छ । यस्तो अवस्थामा सजिलै पचाउन सक्ने, पोषणयुक्त खानेकुरा कुराहरु मात्र खुवाउनुपर्छ । बच्चालाई बढी मात्रामा दूध खुवाउनुपर्छ ।
बायोप्सी वा इन्डोस्कोपी गर्दा एच पाइलोरी नामक कीटाणु देखियो भने ट्रिपल थेरापी दिनुपर्ने हुन्छ । यसमा एन्टिवायोटिक्सको मात्रा मिलाएर चिकित्सको सल्लहअनुसार लिनुपर्छ ।

रोकथामका घरेलु उपाय
बिहान उठ्नासाथ दैनिक १। २ गिलास पानी पिउने
राति खाना खाएको कम्तीमा २ घण्टापछि मात्रै सुत्ने
समयमा सुत्ने र उठ्ने बानी बसाल्ने
नियमित खाने तालिकालाई पछ्याउने

लक्षण
खानामा अरुचि
पेट ढुस्स हुने र भरिएजस्तो लाग्ने
पेटको माथिल्लो भाग पोल्ने, दुख्ने
बान्ता होलाजस्तो हुने
बढेको वेलामा खप्नै नसक्ने गरी पेट दुख्ने
कालो दिसा हुने

  • ३ बैशाख २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech