क्यान्सर राेग रोकथाम गर्न डाक्टरहरू कस्ता खाद्यवस्तु तथा शैलीका लागि सुझाउँछन् ?

    • स्वास्थ्य पेज

  • २१ माघ २०७८, शुक्रबार

क्यान्सर रोग रोकथाम गर्न डाक्टरहरू कस्ता खाद्यवस्तु तथा शैलीका लागि सुझाउँछन् ?

हाम्रो भोजन बढी शाकाहारी प्रकृतिका हुनुपर्छ ।

१- मूलतः हामीले गेडागुडी, सुपसुरुवा, आलु, रोटी, दालभात, तरकारीको साथै प्रशस्त सागपात र फलफूल खानुपर्छ । मासु खाए पनि रातोमासु जस्तो, खसीको, राँगोको कम खाने तर मासुलाई मूल आहारका रूपमा खानु हुँदैन ।

२- हामीले हरेक दिन घटीमा ४ सय ग्राम फलफूल र सागपात खान आवश्यक छ । फलफूलमा भिटामिन तथा खनिज पदार्थ एवं रेशायुक्त वस्तुहरू (फाइबर) हुन्छन् । जसले हामीलाई धेरै प्रकारको क्यान्सरबाट बचाउँछ ।

३- हाम्रो दैनिक खानामा दालभातलगायत गेडागुडी पनि घटीमा ५ सय ६० ग्रामसम्म समावेश हुनैपर्छ । खाना छान्दा पाएसम्म पालिस कम भएको ९होल ग्रेन० पोषण युक्त गेडागुडीमै बढी ध्यान दिनुपर्छ । यी खाद्यपदार्थहरू प्रोटिनको राम्रो स्रोत हो । यसका साथै यीभित्र धेरै प्रकारका तत्वहरू हुन्छन् । जसले क्यान्सरको रोकथाममा मद्दत गर्छ ।

४- रातो मासु सकेसम्म खाँदै नखानु । त्यसको सट्टामा माछा वा कुखुराको मासु खानु । रातो मासु भन्नाले बफ वा बिफ, खसी, भेडा र बंगुरको मासु सम्झिनुपर्छ । यी परिकार दिनमा ६०र१०० ग्रामभन्दा बढी कुनै पनि हालतमा नखानु । रातो मासु बढी खानेहरूलाई क्यान्सरको सम्भावना बढी हुन्छ ।

५- बेसी पोलेको र धुवाँमा सेकेको खाद्य परिकारहरू खाने बानी परेका मानिसहरूमा क्यान्सरको सम्भावना बढी भएको पाइएको छ । बेसी पोलेको र धुँवामा सेकेको खाद्य परिकारहरूमा क्यान्सरजन्य सशक्त तत्वहरू हुन्छन् । जसबाट पेटको क्यान्सर हुने सम्भावना बढी हुन्छ । यस कारण बासी, धुँवामा सेकेको, पोलेको, डढेको मासु नखानु नै बेस हुन्छ । यसको सट्टामा खाद्य वस्तुहरूलाई कम तापक्रम जस्तै, बफाएर, उसिनेर आदि तरिकाबाट पकाएर खानाले स्वास्थ्यको लागि लाभ हुन्छ ।

६- बोसो भएको खाना खाँदै नखानु । खानै परे पनि एकदम कम खानु । तेल थोरै हाली पकाएको परिकार खानु । यस्तो परिकार बेसी भुटेर वा तारेर खानुको सट्टा उसिनेर वा राम्रोसँग बफाएर खानु । धेरै बोसो खानाले स्तन, ठूलो आन्द्रा, प्रोस्टेट ग्लाण्डको क्यान्सर हुने खतरा पनि उत्तिकै छ ।

७- जाँडरक्सी खाँदै नखाने । ध्यान दिनुहोस्, जाँडरक्सी बढी खानाले मुख, घाँटी र कलेजोमा क्यान्सर लाग्ने खतरा बढी हुन्छ । यसबाट स्तन क्यान्सरको खतरा पनि उत्तिकै छ ।

८- नुन बेसी हालेको खाना पनि कम खाने । नुन बेसी खानाले पेटमा क्यान्सरको सम्भावना बढी हुन्छ । स्वादैको लागि नुनभन्दा अन्य मसलाहरूको प्रयोग भने गर्न सकिन्छ ।

९- खाना पाएसम्म ताजा नै खानु । धेरै दिनसम्म तापक्रम नमिलाइकन थन्काई राखेको खाना नखानु । यस्तो खानामा विषाक्त तत्व घुस्ने सम्भावना हुन्छ । जसबाट कलेजो क्यान्सर हुने बढी सम्भावना हुन्छ । यसबाट बचाउन खानेकुरा सुरक्षित हुने गरी भण्डार गर्नुपर्छ । तुरुन्तै पग्लिएर वा स्वाद बिग्रिएर जाने खाद्य पदार्थ किन्दा वा घरमा ल्याउँदा यथोचित तापक्रमका साथ फ्रीजमा सुरक्षित राख्नुपर्छ । ढुसी परेको वा पुरानो अचार बनाइएको खानेकुरा खान हुँदैन ।

१०- बेसी बुट्टाबुट्टी एवं रंगाएका खानेकुराहरू नखाने । बेसी कृतिम तत्वहरू मिसाएर, डिब्बा बन्द गरी राखेका खानाको कम प्रयोग गर्ने ।

११- हामीले प्राकृतिक खाद्य पदार्थ मात्रा मिलाएर आवश्यकताअनुसार सेवन गर्न सकेमा अन्य कुनै कृत्रिम पोषणतत्व जरुरत पर्दैन ।

१२- शरीरको तौल धेरै कम वा बेसी हुन नदिने । उमेर बढी भइसकेकाले आफ्नो शरीरको वजन बढेमा पनि पाँच किलोग्रामभन्दा बढी बढ्न नदिने । यसका लागि दैनिक शारिरीक व्यायाम गरी शरीरलाई चुस्त र तन्दुरुस्त राख्ने । खानामा बोसो भएका खानेकुराको सट्टा सागपात, गेडागुडी, फलफूल, आलु, सखरखण्डा आदि खाने । अधिक वजन भएकालाई पेट, पाठेघर, पित्तथैली, प्रोस्टेट ग्लाण्ड आदिको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

१३- हिजोआज धेरै मानिसले गुट्खा खाने गरेका छन् । यो बानीले धेरैखाले क्यान्सरको जोखिम बढाउँछ । धूमपान एवं खैनी, गुट्खा, पान सुपारी तथा तम्बाखुजस्ता वस्तुहरूको निरन्तर सेवनले मुख, घाँटी, श्वासनली एवं फोक्सो आदिको क्यान्सर हुन सक्छ ।

बचौँ, बचौँ

क्यान्सर विभिन्न कारणबाट हुने एउटा भयावह रोग हो । तैपनि यसलाई नियन्त्रण गर्ने वा रोकथाम गर्ने दिसामा मूलतः सन्तुलित एवं स्वस्थ्य खानेकुराको ज्यादै महत्त्वपूर्ण भूमिका हुन्छ । ठीकसँग खानपिन गरी शरीरलाई सधैँ स्वस्थ्य एवं सक्रिय राख्न सकेमा ३० देखि ४० प्रतिशतसम्म क्यान्सरको खतरालाई हामी सजिलैसँग हटाउन सक्छौँ ।

छानिएको स्वस्थ्य एवं सन्तुलित भोजन खाने, अभ्यास गर्ने र धूमपानबाट टाढै बस्न सके बढीमा ६० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिन्छ । अरु केही नगरे पनि डाक्टरको सल्लाहअनुसार हरेक दिन फलफूल एवं सागपात ४–५ खेपसम्म खान सके पनि यसले क्यान्सरको खतरा कम गर्छ र यसबाट हाम्रो स्वास्थ्यमा आउने परिवर्तन पनि हेर्न लायकको हुन्छ । संक्षेपमा, स्वस्थ्य आहारको आधुनिक औषधि उपचारको अवधारणा नै वास्तवमा सन्तुलित शाकाहारी भोजन हो ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech