सुगरका बिरामीले उठेदेखि नसुतेसम्म के-के गर्ने, के खाने ?

    • डा.प्रियादर्शनी योञ्जन

  • १८ पुष २०७८, आईतवार

सुगर (मधुमेह, डाइभिटिज) भएको बिरामीले आफ्नो दैनिकी बिहान सबेरै उठेर सुरू गर्नुपर्ने हुन्छ।

अहिले चिसोको मौसम छ। चिसो बढिरहेको छ। सकेसम्म सात बजेभन्दा अगाडि उठ्नुपर्छ। सम्भव भए साढे ५, ६ बजेसम्म उठेको राम्रो।

उठेपछि सुरूमा एक गिलास तातो पानी पिउने। त्यसपछि जिउ तन्क्याउनुपर्छ। सुत्दाखेरी मांसपेशी कडा भएको हुन्छ। त्यसैले ५ मिनेट शरीर तन्क्याएर मात्रै आफ्नो दिनको सुरूआत गर्नुपर्छ।

दिनको सुरूआत सकारात्मक सोचबाट गर्नुपर्छ। त्यसको लागि ५ मिनेट ध्यान गरेर सुरू गरेको राम्रो हुन्छ। त्यसपछि ४५ मिनेटजति फटाफट हिँड्नुपर्छ। चिसोको मौसम भएकोले कम्तिमा आधा घण्टा आफ्नै घरमा हिँड्दा हुन्छ।

हिड्नुअघि कालो चिया, बिस्कुट अथवा दुई चम्चा सातु खाएर निस्किएको राम्रो हो। हिँडेर आएपछि एकदमै हल्का खाना खाएर कामको लागि निस्किनुपर्छ। खानामा ओड्स, सुख्खा रोटी, अण्डाको सेतो भाग, चनालगायत खान सकिन्छ।

अफिस जानेले घरबाटै खानेकुरा लिएर गएको राम्रो हुन्छ। सलाद, रोटी लिएर जान सकिन्छ। अफिस पुगेपछि काम सुरू गर्नुभन्दा पहिला तातोपानी अथवा कालो चिया खाएमा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

त्यसको दुई घण्टापछि हल्का खाना खानुपर्छ। २,३ बजे हल्का खाजा खानुपर्छ। सम्भव भए फलफूल सँगै खानुपर्छ।

काम गर्दा लगातार कुर्सीमा बस्नुभन्दा १-१ घण्टामा २-३ मिनेट भए पनि यताउता चलमलाउनुपर्छ।

घर आइसकेपछि जाडो मौसम भएकोले गेडागुडीको सुप खान सकिन्छ। त्यसपछि ७ साढे ७ बजेभित्र बेलुकाको खान खानुपर्छ। त्यसपछि ५-१० मिनेट कोठामै बिस्तारै हिँड्नुपर्छ। सुत्नुअघि सकेसम्म मोबाइल चलाउने र टेलिभिजन हेर्ने गर्नुहुँदैन। बरू किताब पढ्ने तथा ध्यान गरे राम्रो हुन्छ।

सुत्ने समय सधै एउटै बनाउनुपर्छ। सकेसम्म ६ देखि ८ घण्टाको राम्ररी निदाउनुपर्छ।

मधुमेह भएको बिरामीहरू अफिस जाने मात्रै हुँदैनन्। कोही घरमै बस्ने पनि हुन्छन्। कोही जेष्ठ नागरिक हुन्छन्। कतिपय ड्राइभिङ गर्ने, कोही खेतबारीमा काम गर्ने हुन्छन्। कतिलाई रातीको ड्यूटी गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा समेत सकेसम्म एउटै रूटीन मिलाउनुपर्छ।

धेरै तनाव लिनु हुँदैन। कसैले ड्राइभिङ गर्छ भने पनि खानाको समय मिलाउनुपर्छ। लामो समय खाली पेट बस्नु हुँदैन। त्यसैले २-३ घण्टाको अन्तरमा केही खानुपर्छ। लामो यात्रामा हुनेले आफ्नो साथमा फलफूल लिएर जानुपर्छ।

औषधि कहिले खाने भन्ने कुरा बिरामीको अवस्थामा भर पर्छ। धेरैजसो बिहान र बेलुकाको समयमा औषधि दिइन्छ।

सुगरका बिरामीले कम्तीमा महिनाको एक पटक सुगर नाप्नुपर्छ। अस्पताल र नजिकको ल्याबमा गएर परीक्षण गर्न सकिन्छ।

इन्सुलिन लिएका बिरामीले घरमा मेसिन हुनेले हप्तामा २-३ पटकनै परीक्षण गरेको राम्रो हो। घरमा इन्सुलिन नाप्ने मेसिन छैन भने हप्तामा एक पटक परीक्षण लगराउनुपर्छ।

(डा प्रियादर्शनी योञ्जन, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ हुनुहुन्छ)

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech