डा.अनुप बास्तोला लेख्नुहुन्छ- घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?

हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं । हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो ।


    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

काठमाडौं: कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिरहेको छ । संक्रमण दर करिब शुन्यमा झर्न थालिसकेको नेपालमा एकाएक संक्रमण समुदाय स्तरमा भुसको आगोझै फैलिएको छ । देशका विभिन्न जिल्लामा अस्वभाविक रुपमा संक्रमण फैलन थालेपछि चिकित्सकहर चिन्तित छन् ।

काठमाडौं, नेपालगन्ज लगायतका शहरमा अस्पतामा आइ.सि.यु बेड, भेन्टिलेटर लगायत पाउन मुस्किल हुन थालेको छ । शैया अभावमा बिरामीहरुको बिचल्ली सुरु भएको छ । गम्भीर प्रकृतिका बिरामीहरु बढ्दा अब अस्सिजनको समेत कमी हुन थालेको छ ।

अक्सिजन चाहिने बिरामी धेरै रहेको र यसको पुर्तिमा चुनौति थपिएको भन्ने कुरा बाहिर आएपछि अहिले नागरिक स्तरबाट अस्सिजनका लागि सहयोग संकलन सुरु भएको छ । राजधानीमा दिन प्रतिदिन संक्रमण पुष्टि हुनेहरु बढिरहेका छन् । चिकित्सहरुले लकडाउन गरेको संक्रमणको चेन ब्रेक गर्नुको विकल्प नभएको प्रतिक्रृया दिन थालेका छन् ।

कोरोना संक्रमित बिरामीहरुको उपचारमा निरन्तर लागिरहनुभएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा कोभिड संयोजक डा अनुप बास्तोलाले सामाजिक सन्जाल मार्फत समय अनुकुल नभएको भन्दै स्वास्थ्य सावधानी अपनाउन अपिल गर्नुभएको छ ।

अत्यावश्यक काम बाहेका घरबाहिर ननिस्कन भन्दै उहाँले सकेसम्म सुरक्षित रहने कोसिस गर्न सबैलाई आग्रह गर्नुहुन्छ ।

डा. बास्तोलाले सामाजिक सन्जालमा लेख्नुभएको सन्देश

यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं-हामी सचेत र चनाखो हुँदैनौं ।

मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।

विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं । घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था ?

जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए ।

हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं । हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो ।

संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ । अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् ।

तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । चेन ब्रेक नगरी हामीले सम्हालिने मौका पाउने छैनौं । अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।

कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं । सुरक्षाका सबै मापदण्ड अपनाऔं । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ-कहाँ चुक्यौं ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech