बालबालिकाको तौल बढ्नु एक गम्भीर समस्या हो । यदि बालबालिकाको तौल आवश्यकताभन्दा बढी छ भने उनीहरुमा विभिन्न प्रकारका शारीरिक र मानसिक समस्या हुनसक्छन् । रोबर्ट वुड जनसन फाउन्डेशनका अध्यक्ष डाक्टर रिचर्ड बेसरका अनुसार फिट बालबालिकाको तुलनामा बढी तौल भएका बालबालिकाले आफ्नो शारीरिक र मानसिक क्षमताको कम प्रयोग गर्न सक्छन् ।
बालबालिकालाई फिट राख्नका लागि दुईवटा कुरा ध्यानमा राख्नुपर्छ । एउटा उनीहरुको खानपिन र अर्को शारीरिक क्रियाकलाप । एउटा स्वस्थ डाइट चार्ट र तालिका बनाएर तपाईं आफ्नो बालबालिकालाई राम्रो स्वास्थ्य उपहार दिन सक्नुहुन्छ । डाक्टर काट्जा रोवेलका अनुसार तौल बढ्दा निम्तिने समस्या वयस्कको तुलनामा बालबालिकामा बढी भयानक हुन्छ । तसर्थ अभिभावकले उनीहरुको खानपिन र क्रियाकलापप्रति बढी नै सतर्क हुनुपर्छ ।
बालबालिकालाई फिट राख्ने ५ तरिकाः
१. जंक फूडको साटो स्वस्थ खानेकुरा दिनुहोस्ः
विशेषज्ञका अनुसार बालबालिकालाई जंक फूडबाट टाढा राख्न अत्यावश्यक छ । अभिभावकले बालबालिकाका लागि यस्तो विकल्पको खोजी गर्नुपर्छ जुन प्याकेटमा बन्द खानेकुराको विकल्प हुन सकोस् । जंक फूडले बालबालिकामा कोलेस्ट्रोलको स्तर आवश्यकताभन्दा बढी नै बढाइदिन्छ । जसका कारण बालबालिकालाई आवश्यक पोषक तत्वको अत्यधिक कमी हुन्छ र फ्याटका कारण बालबालिकाको तौल बढ्ने गर्छ ।
२. बालबालिकाको स्क्रिन टाइम कम गर्नुहोस्ः
बालबालिकामा मोबाइल, कम्प्युटर र टिभीको अगाडि धेरै बेरसम्म बस्ने बानी बढेको छ । अभिभावकले बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यसले बालबालिकाको स्वस्थ बानी नष्ट गरिदिने गर्छ । यसले बालबालिकालाई अल्छी बनाउँछ जुन तौल बढ्ने सबैभन्दा ठूलो कारण हो ।
३. दैनिक शारीरिक क्रियाकलाप गराउनुहोस्ः
बालबालिकाले नियमित शारीरिक क्रियाकलाप गर्न अत्यावश्यक छ । यदि यस्तो भइरहेको छैन भने अभिभावकले यसबारे सोच्नुपर्छ । विज्ञका अनुसार पाँच वर्षभन्दा कम उमेरका बालबालिकाले दैनिक कम्तिमा आधा घण्टाको व्यायाम गर्नुपर्छ । यसले बालबालिकालाई शारीरिक रुपमा फिट त गराउँछ नै उनीहरु मानसिक रुपमा पनि फिट हुन्छन् ।
४. बालबालिकालाई मानसिक रुपमा बलियो राख्नुहोस्ः
मानसिक रुपमा बालबालिका तनावमा हुँदा पनि तौल बढ्ने गर्छ । तसर्थ अभिभावकले बालबालिकाको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । यदि आफ्नो बच्चा तनावमा छन् भने उनीहरुलाई उत्प्रेरित गर्ने जिम्मेवारी अभिभावकको हो ।
५. बालबालिकाको ७ घण्टाको निद्रा पूरा गर्न दिनुहोस्ः
कम सुत्दा पनि बालबालिका अल्छी हुन्छन् र यसले उनीहरुको तनाव बढाउने गर्छ जुन तौल बढ्नुको कारण हो । अभिभावकले आफ्नो सन्तान चाँडै सुतुन् तर चाँडै उठुन् भन्ने कुरामा ध्यान दिनुपर्छ । साथै सात घण्टाको निद्रा पुग्यो कि पुगेन भन्ने कुरामा पनि विचार गर्नुपर्छ ।
उमेरको हिसाबले बालबालिकाको सही तौलः
३ देखि ५ महिना – ६ देखि ७.८ किलो
६ महिनादेखि १ वर्ष – ७.८ देखि १०.२ किलो
१ देखि ३ वर्ष – १०.२ देखि १४.२ किलो
३ देखि ६ वर्ष – १४.६ देखि २०.७ किलो
६ देखि १२ वर्ष – २०.७ देखि ३७ किलो
बालबालिकामा तौल बढ्दा हुने समस्याः
हाइपरटेन्सन
मुटु कमजोर हुनु
जोर्नीमा दुखाई
तनाव
डर
बिर्सने समस्या
बालबालिकाका लागि स्वस्थ खानपानः
दुध
गेडागुडी
ओट्स
हरिया र पत्तेदार सागसब्जी
फलफूल र ड्राई फ्रुट
मासु र अण्डा
नट्स
घ्यू र बटर