गर्मीमा आँखालाई यसरी स्वस्थ राख्न सकिन्छ

हिंजोआज आँखामा कुनै समस्या हुनेबित्तिकै आफूखुसी औषधि किनेर राख्ने चलन बढेको छ । जुन एकदमै गलत हो । त्यसरी प्रयोग गर्दा त्यसले आँखालाई असर पारिरहेको हुन्छ ।


    • स्वास्थ्य पेज

  • २७ फाल्गुन २०७७, बिहीबार

आँखा हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्व छ । यिनै संसार देख्ने आँखामा कहिलेकाँही विभिन्न खाले समस्याहरू देखापर्छन् । त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ । यो याममा हावा चल्ने, धूलोधुँवाले आँखामा विभिन्न खाले समस्या ल्याउने हुन्छ ।

त्यसैले गर्मीमा आँखालाई यसबाट जोगाउन आवश्यक छ । यो समयमा आँखा सुख्खा हुने, एलर्जी तथा आँखा पाक्ने समस्या देखिन्छन् । आजकल बाहै्र महिनाजसो आँखा सुख्खा हुने समस्या देखिन थालेको छ । गर्मीमा धेरै हावा चल्ने, धेरै कम्प्युटरमा काम गर्ने कारणले सुख्खा हुने समस्या हुन्छ ।

पछिल्लो समय अनलाइन कक्षाका कारण मोवाइल, ल्यापटप र कम्प्युटर बालबालिकाले धेरै समय प्रयोग गर्ने गरेका छन् । जस्का कारण बालबालिकामा आँखाको समस्या देखिने क्रम बढ्दै गएको छ । मोतिया बिन्दु भएका विरामीहरु आइरहेकै हुन्छन् । धुवाधुलोका कारण आँखा चिलाउने, रातो हुने समस्या लिएर अस्पताल आउनेको संख्या अहिले बढिरहेको छ ।

गर्मीमा पसिना आउने हुन्छ । त्यो आँखामा परेपछि इन्फेक्सन हुन्छ । आँखालाई यी समस्याबाट जोगाउन बाहिर निस्कँदा चस्मा अथवा सनग्लास लगाएर निस्कने, घर आएपनि सफा पानीले सफा गर्नुपर्छ । बच्चाहरुलाई पनि यी कुरा सिकाउनुपर्छ । गर्मीमा आँखा पाक्ने समस्या हुन्छ ।

यो रोग सरुवा भएकाले अन्यलाई पनि छिटो सर्न सक्छ । रोगीले प्रयोग गरेका वस्तुहरु अर्को व्यक्तिले प्रयोग गर्दा, रोगीको रुमाल, तकियाजस्ता चीज अर्को व्यक्तिले प्रयोग गर्दा किटाणुको माध्यमबाट सर्छ । आँखा पाकेको बेलामा सरसफाईमा ध्यान दिन सकिएन भने यो लामो समयसम्म निको हुदैँन ।

तर सरसफाईमा ध्यान दिइयो र औषधि प्रयोग गरेमा एकहप्तासम्ममा निको हुन्छ । हिंजोआज आँखामा कुनै समस्या हुनेबित्तिकै आफूखुसी औषधि किनेर राख्ने चलन बढेको छ । जुन एकदमै गलत हो । त्यसरी प्रयोग गर्दा त्यसले आँखालाई असर पारिरहेको हुन्छ । हामीकहाँ धेरै औषधिको साइडइफेक्टस हुन्छ ।

त्यसैले एकपल्ट नेत्रविशेषज्ञको राय लिनु आवश्यक छ । अर्को कुरा आँखालाई पनि आरामको जरुरत हुन्छ । लामो समय काम गर्दा आँखा थाक्छ । त्यसैले कामको बीच–बीचमा आँखालाई आराम दिने, पर्याप्त पानी पिउने गर्नुपर्छ । यसो गर्ने हो भने आँखालाई धेरै हदसम्म स्वस्थ राख्न सक्छौं ।
( डा विवेक आचार्य भेरी अस्पताल नेपालगन्जमा नेत्ररोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ)

  • २७ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech