भरतपुरमा क्षयरोगका बिरामी खोज्न अभियान चल्यो

    • स्वास्थ्य पेज

  • ११ फाल्गुन २०७७, मंगलवार
भरतपुरमा क्षयरोगका बिरामी खोज्न अभियान चल्यो

चितवनः नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ।

भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९९१ जनाको खकार परीक्षण गरी ४५ क्षयरोगका बिरामीको उपचार गरिरहेको छ। कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीका अनुसार संस्थाले चालु आर्थिक वर्षको हालसम्म १४४ जनाको परीक्षण गरेको छ। तीमध्ये आठ क्षयरोगका बिरामी भेटिएका छन्।

संस्थाका सभापति दामोदर न्यौपानेका अनुसार यस वर्ष विभिन्न आठवटा जनचेतनामूलक कार्यक्रम गरिएको छ। गत वर्ष १० वटा कार्यक्रम गरिएको थियो। विभिन्न सङ्घसंस्था, सरोकारवाला, बिरामी, समुदायका मानिस, स्वास्थ्य आमा समूहलगायत लक्षित वर्गसम्म पुगेर रोगका बारेमा जानकारीसँगै जनचेतना फैलाउने काम भइरहेको छ।

संस्थामा हाल २९ क्षयरोगका बिरामी उपचाररत छन्। ती बिरामीमध्ये सात जनालाई मल्ट्री ड्रग रेसिस्टेन्ट अर्थात् महङ्गो खालको औषधि खुवाएर उपचार गरिँदैछ। छ महिना औषधि खाँदा निको नभएका जटिल बिरामीलाई यो औषधि खुवाउने गरिन्छ। न्यौपानेका अनुसार ती बिरामीलाई एक जनाको उपचारमा रु आठ लाख हाराहारी खर्च हुने गर्दछ। उनीहरुका लागि सरकारले औषधि, पोषण र परीक्षण खर्च उपलब्ध गराउँछ। त्यसको सहजीकरण संस्थाले गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो। उनीहरुलाई नौदेखि १८ महिना औषधि खुवाउनुपर्ने हुन्छ।

सामान्य अवस्थाका बिरामीका लागि करिब रु छ हजार खर्च हुने गर्दछ। उनीहरुलाई छ महिनासम्म नियमित औषधि खुवाउनुपर्ने हुन्छ। क्षयरोग दुई प्रकारका हुने गर्दछन्। एउटा फोक्सोमा लाग्ने गर्दछ भने अर्को अन्य अङ्गमा लाग्ने गर्दछ। फोक्सोमा लागेको क्षयरोग श्वासप्रश्वासबाट सर्ने गर्दछ। अन्य अङ्गमा लागेका क्षयरोग सर्दैन।

सङ्घले क्षयरोगका बिरामीको एचआइभी एड्स परीक्षण र एचआइभीका बिरामीको क्षयरोग परीक्षणसमेत गर्ने गर्दछ। उहाँको भनाइमा नेपालमा विसं २०१० मा स्थापना भएको यस संस्थाअन्तर्गतका शाखामा सामाजिक व्यक्ति रहेर समुदायमा सेवा गर्दै आएका छन्। यस संस्थाले विद्यालयमा जुनियर नाटा नामक समिति गठन गरी जनचेतनामूलक कार्यसमेत गर्ने गरेको छ।

सो संस्था सञ्चालनका लागि रु ४७ लाख ५० हजारको अक्षयकोष खडा गरिएको छ। संस्थाले विगत १० वर्षदेखि एम्बुलेन्स सञ्चालन गर्दै आएको छ। यससँगै हालै मात्र नयाँ एम्बुलेन्स खरिदका लागि संस्थाका पूर्वसभापति भीमराज पाठकले रु १५ लाख संस्थालाई उपलब्ध गराएकाले छन्।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech