काठमाडौं: सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब सरकारी अस्पतालहरूमा पनि आइतबार बिदा हुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो निर्णय परिवर्तन गर्दै आइतबार ओपीडी सेवा सञ्चालन नगर्ने व्यवस्था पुनः लागू गरेको हो । यसअघि मन्त्रालयले बिरामीलाई सहजता हुने भन्दै आइतबार पनि ओपीडी खुला राख्न आग्रह गरेको थियो । तर नेपाल चिकित्सक संघलगायतले सो व्यवस्थाअनुसार सेवा सञ्चालन गर्न असमर्थता जनाएपछि सरकार पुनः पुरानै व्यवस्था लागू गर्न बाध्य भएको हो ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएको उल्लेख गरिएको छ । साथै स्वास्थ्यकर्मीहरूको मनोबल तथा हितलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाइएको छ । यद्यपि मन्त्रालयले स्वास्थ्य सेवामा कुनै अवरोध नआउने गरि आकस्मिक तथा अन्तरंग (इनडोर) सेवा भने २४ सै घण्टा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ।
आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतका सेवाहरू बिरामीको सहजतालाई ध्यानमा राख्दै पुनः तालिका (रिसेड्युल) गरिने मन्त्रालयले जनाएको छ । सेवा उपलब्ध नभएको अवस्थामा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने तथा एम्बुलेन्स सेवा सधैं तयारी अवस्थामा राखिने व्यवस्था मिलाइने पनि विज्ञप्तिमा उल्लेख छ । यसका साथै बिदाका दिनमा समेत आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न अस्पतालहरूलाई निर्देशन दिइएको छ । उपलब्ध सेवासम्बन्धी जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति









