चिसोमा जेष्ठ नागरिकमा देखिने समस्या र बच्ने उपाय

    • स्वास्थ्य पेज

  • ८ माघ २०७७, बिहीबार

नेपालगन्ज ८, माघ ।

माघको पहिलो साताको अन्त्यसँगै चिसो ह्रवात्तै बढेको छ । चिसोमा खासगरी बालबालिका र जेष्ठ नागरिकहरुलाई बढी समस्या हुने गर्छ । तर यो लेखमा चिसोमा जेष्ठ नागरिकमा देखिने प्रमुख समस्या र बच्ने उपायकाबारेमा चर्चा गर्न खोजेका छौं ।

चिसोका कारण दीर्घरोग बढ्ने हुन्छ। चिसो हुँदा बाहिरको वातावरणमा प्रदूषण पनि बढ्दै जान्छ। धुवाँ, धुलोका कणहरु बढ्ने गरेकाले छिटो दीर्घरोग बढ्छन्। रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले जेष्ठ नागरिकलाई चिसोले छिटो समात्ने र दम, निमोनिया बढ्ने गर्छ। जेष्ठ नागरिले बिहान चिसो पानीले नुहाउने चलन छ। त्यसो गर्दा दम, निमोनिया बढ्नुका साथै अन्य स्वास्थ्य समस्या पनि देखा पर्दछन्।

जेष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोमा स्वास्थ्य समस्या बढी देखिने गर्छ। चिसो समयमा जेष्ठ नागरिकलाई निमोनिया, दम, उच्च रक्तचापका साथै अन्य दीर्घरोग बढ्ने गर्छ। यसका साथै जोर्नीसम्बन्धी समस्याले पनि धेरै दुःख दिने गर्छ। चिसो मौसममा जेष्ठ नागरिकमा धेरै देखिने समस्या भनेको निमोनिया हो।

चिसोमा निमोनिया गराउने भाइरस सक्रिय हुन्छ। जेष्ठ नागरिकमा रोगसँग लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले निमोनियाले छिटो आक्रमण गर्ने गर्छ । यस्तै यो मौसममा जेष्ठ नागरिकमा दम दीर्घरोग पनि उस्तै समस्या हुने गर्छ । चिसोले दमका बिरामीलाई धेरै दुःख दिन्छ। फोक्सोमा संक्रमण बढ्ने भएकाले चिसोमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरै हुने हुने गर्छ । त्यस्तै चिसोमा रक्तचाप धेरैमा बढ्ने गर्छ। यसको मुख्य कारण पानी कम पिउनु हो। त्यसले रगत बाक्लो हुने र रक्तचाप बढ्ने गर्दछ।

चिसोमा मानिसहरुको गतिविधि पनि कम हुने गर्छ । यस्ले पनि उच्च रक्तचापमा असर पुर्याउँछ । यसले गर्दा दीर्घरोग बढ्नुका साथै हृदयघात र मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ। चिसो मौसममा जोर्नीसम्बन्धी समस्या भएका जेष्ठ नागरिकको निमित्त निकै कष्टकर हुन्छ। किनभने जाडोमा जोर्नी धेरै सुन्निने र दुख्ने गर्छ।

चिसोबाट यसरी जोगिन सकिन्छ
– जाडोबाट बच्नको लागि नियमित बिहान चिसो पानीले नुहाउनु हुँदैन।
– यदि आफैं नुहाउन नसक्ने जेष्ठ नागरिकलाई तातोेपानीले हल्का शरीर सफा गरिदिने।
– तातो पौष्टिकयुक्त खानेकुरा खानुका साथै न्यानो लुगा लगाएर बस्नु पर्छ।
– ६० वर्ष उमेर पुगिसकेका वृद्धवृद्धाले निमोनिया र फ्लुबाट बच्न वर्षको एक पटक निमोनिया र फ्लु विरुद्धको खोप लगाउनु पर्छ।
– दीर्घरोगीहरुले डाक्टरको सल्लाहबमोजिम नछुटाई औषधि खानु पर्छ।
– आगो, हिटर ताप्नु पर्छ तर आगो, हिटर ताप्दा सबै झ्याल–ढोका थुनेर बस्नु हुँदैन् ।
– जाडो मौसममा कम पानी पिउने चलन छ। पानी नपिउँदा विभिन्न समस्याले सताउनुका साथै उच्च रक्तचाप पनि बढ्ने गर्दछ। त्यसैले प्रशस्त तातो वा मनतातो पानी पिउनु पर्छ।
– रक्तचापका बिरामीले जाडोमा शरीर तातो बनाउन तातो सुप खाने गर्नुपर्छ। तर सुपमा नुनको मात्रा कम गर्नुपर्छ। नुनले रक्तचाप बढाउँछ।
– मौसमी फलफूल, दही र सागपात खाँदा चिसो लाग्छ भन्ने गलत बुझाइ छ। तर त्यसमा कुनै वैज्ञानिक सत्य छैन। त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल र सागपात खानु पर्दछ।

(छाती तथा फोक्सो रोग विशेषज्ञ डा सुभाष योगी नेपालगन्ज मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ)

 

 

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech