नेपालगन्जः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिनुभयो । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताउनुभयो ।
‘प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो उहाँले भन्नुभयो–‘ प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’
यसका लागि चिकित्सा शिक्षा आयोगको यही कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मङ्सिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्णरुपमा तयार रहेको बताउँदै उहाँले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने जानकारी दिनुभयो ।
तीन दिनअघि उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्यौलमा भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए ।
निमित्त उपकुलपति डा थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० सीट भर्ना भइसकेका छन् ।