नर्सिङ र फार्मेसीमा कोटाभन्दा थोरै विद्यार्थी उत्तीर्ण

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७८, बुधबार

नेपालगन्जः नर्सिङ र फार्मेसीमा कोटाभन्दा थोरै विद्यार्थी उत्तीर्ण भएका छन् । चिकित्सा शिक्षा विषयमा लिइएको प्रवेश परीक्षाको यो नतिजाले पढाइको गुणस्तरमा नै प्रश्न उठाएको विज्ञहरू बताउँछन् ।

शिक्षण संस्था सञ्चालकहरू भने कोटाअनुसार विद्यार्थी उत्तीर्ण नहुँदा शिक्षण संस्था नै धराशायी हुने अवस्था आएको बताउँछन् । सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षाको स्नातक तहको पढाइमा ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था छ । पर्याप्त विद्यार्थी उत्तीर्ण नहुँदा सरकारले छुट्याएको छात्रवृत्ति कोटासमेत खेर जाने देखिएको छ ।

स्वदेशी लगानीको निजी शिक्षण संस्थाले १० प्रतिशत र विदेशी लगानीकाले २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ । आयोगले बीएस्सी नर्सिङका लागि शिक्षण संस्थामा यो वर्ष १ हजार २ सय ४० विद्यार्थीको कोटा तोकेको छ । प्रवेश परीक्षामा ३ हजार ४ सय ७८ जना सहभागी भएकामा ५ सय ४ जना मात्रै उत्तीर्ण भए । बी–फार्मेसीमा ९ सय २ जनाको कोटा तोकिएकामा ५ सय ४७ जनाले मात्रै पढ्न पाउने भएका छन् ।

बी–फार्मेसीको प्रवेश परीक्षामा भने ३ हजार १ सय ३८ जना सहभागी थिए । बीपीएचमा १ हजार ४ सय २० जनाको कोटा निर्धारण गरिएकामा ५ सय ६५ जना मात्रै उत्तीर्ण भए । प्रवेश परीक्षा भने २ हजार ६ सय २३ जनाले लेखेका थिए ।

यस्तै ७१ जनाको कोटा रहेको बीएस्सी एमआईटीमा ४५, ४ सय २५ वटा कोटा रहेको बीएस्सी एमएलटीमा १ सय १८ र १ सय ५० वटा कोटाको बीपीटीमा १ सय १४ जना मात्रै उत्तीर्ण भएका छन् ।

बीएएसएलपीमा भने कोटा संख्या बराबर नै ६ जना उत्तीर्ण भएका छन् ।एमबीबीएसमा भने प्रवेश परीक्षा उत्तीर्ण गरेकामध्ये आधाभन्दा बढीले नेपालमा पढ्न नपाउने भएका छन् । १ हजार ८ सय ३५ वटा कोटा रहेको एमबीबीएसमा ४ हजार ३ सय ९१ जनाले प्रवेश परीक्षा पास गरेका छन् । ११ हजार ४२ परीक्षार्थी प्रवेश परीक्षामा सहभागी थिए ।

एकीकृत प्रवेश परीक्षा पास गरेपछि सम्बन्धित विषयमा विदेश पढ्न जाने बाटो भने खुल्छ । बीडीएसका लागि परीक्षा दिएका ४ हजार ५ सय २१ जनामध्ये १ हजार ७ सय ९४ जना मात्रै उत्तीर्ण भए ।

उत्तीर्णमध्ये ५ सय ६५ जनाले यहीं पढ्न पाउँछन् । बीएनएसमा १ हजार ३ सय १५ जना कोटा रहेकामा १ हजार ३ सय ८० जनाले प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । एकीकृत परीक्षामा २ सय पूर्णाङ्कमा १ सय नम्बर ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

आयोगले यस वर्ष चिकित्साशास्त्रको स्नातक तह पठनपाठनका लागि ८१ वटा शिक्षण संस्थामा कोटा तोकेको छ । बीएस्सी नर्सिङमा २ र बी–फार्मेसीमा १ गरी ३ जना विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिएकामा एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

एमबीबीएसमा ३ सय ७९ जना विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । ती मध्ये ९४ जना मात्रै उत्तीर्ण गरेका छन् ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech