कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ?

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०७८, शनिबार

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।

धेरैजसो दम्पतीलाई गर्भ रहनका लागि कुन समय सेक्स गर्नुपर्छ भन्ने जानकारी नभएको पाइन्छ । सेक्सको समय सही भयो भने गर्भ बस्न कठिनाइ हुँदैन । गर्भ धारणका लागि कति पटक र कसरी सेक्स गर्ने भन्ने जानकारी भयो भने महिनौं कोसिस गर्नु पर्दैन । आफ्नो योजनाअनुरूप सहजै गर्भधारण गर्न सकिन्छ । दम्पतीलाई यस्तो कुराको जानकारी नभएको स्थितिमा समस्या समेत सिर्जना हुनसक्छ ।

महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । सामान्यतः महिनावारी शुरु भएको दिन देखि नवौं दिन सम्म यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ । महिलाको योनी भित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ । महिनावारी ठीक २८ दिनमा नै नभएर ढिलो चाँडो हुन्छ भने यो फर्मुला काम नगर्न पनि सक्छ । सुरक्षित काललाई नै गर्भनिरोधकका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरूलाई लिएर हिसाब गर्नु पर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने

२४-१८= ६  हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

३१- ११= २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ ।

गर्भनिरोधको कुरा

विवाहित जीवनमा यौनसम्पर्क पर्याप्त मात्रामा गरिने भएकाले गर्भ नरहोस् भन्नाका लागि भरपर्दो गर्भनिरोधकको उपाय अपनाउनु नै श्रेयष्कर हुन्छ । छोटो समयका लागि गर्भनिरोधक चाहिएमा कन्डम, खाने चक्की तथा तीन महिने सुई निकै प्रभावकारी उपायहरू हुन् । कपर–टी र नरप्लान्ट केही लामो समयका लागि उपयुक्त साधन हुन् । यी साधनको प्रयोग सुरु गर्नुअघि परिवार नियोजन सेवा केन्द्र, प्रजनन स्वास्थ्यका सेवा केन्द्र वा अस्पतालबाट यी साधनको प्रयोगका बारेमा राम्रोसँग परामर्श लिनु राम्रो हुन्छ ।

यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।

 

 

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech