बाँकेमा जोरबिजोर प्रणाली हट्यो, बजार ७ बजेसम्म खुल्ने, निषेधाज्ञा भने १० दिन थप

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

नेपालगन्जः बाँकेमा सार्वजनिक सवारीसाधन संचालनमा लगाईएको जोरबिजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै गएको सातादेखि सार्वजनिक सवारीसाधनमा लगाइएको जोरविजोर प्रणाली भोलीदेखि हटाएको जनाएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा रहेकाले सम्पूर्ण सवारीसाधन नियमितरुपमा चल्न दिने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । यस्तै पसल व्यवसाय पनि विहान ९ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको उहाँको भनाइ छ । यसअघि विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय संचालनको अनुमति स्थानीय प्रशासनले दिएको थियो ।

भाइरस संक्रमण नियन्त्रणमा रहेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप १० दिन लम्ब्याएर ३१ गतेसम्म पुर्याइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो । कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि गएको बैशाख ९ गतेदेखि नेपालगन्ज र १३ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसपछि हप्ताहप्तामा निषेधाज्ञा थप्दै आएको प्रशासनले आज भने १० दिन थप गरेको हो । यद्यपी निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन् ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech