युरोपमा महामारीको नयाँ लहर सुरु हुने डब्लुएचओको चेतावनी

    • स्वास्थ्य पेज

  • १८ असार २०७८, शुक्रबार

एजेन्सीः युरोपेली देशहरूमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको देखिएको छ। विश्व स्वास्थ्य संगठनले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि भएको बिहीबार जानकारी दिएको हो।

डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ। रोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ।

‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सबै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भन्नुभएको छ । उहाँले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको हो।

उहाँले युरोपेली देशहरुमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गर्नुभयो। नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उहाँले बताउनुभयो ।

उहाँले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘‘खोपले डेल्टा भेरियन्टको कोरोनाभाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ।’

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech