भेरी अस्पतालकी नर्स सुनितालाई एक लाख राशीको मदन भण्डारी पुरस्कार

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालको आइसीयूमा कार्यरत स्टाफ नर्स सुनिता साहकारीलाई यसबर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

मदन भण्डारी फाउण्डेशनले कोभिडबिरुद्ध खटिएका दुई जना फ्रन्टलाइनरलाई उक्त सम्मान दिनेक्रममा साहकारी पनि छनौट हुनु भएको अस्पतालका मेसु डा प्रकाश थापाले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

फाउण्डेशनले एक लाख राशीको सो पुरस्कार नर्स साहकारीसँगै र नेपाल एम्बुलेन्स सर्भिस कीर्तिपुर स्टेशनका एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई दिने निर्णय गरेको छ ।

फाउन्डेशनका सचिव पेम्वा लामाद्धारा जारी विज्ञप्तीमा उक्त पुरस्कार आगामी १४ असारका दिन, जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।

समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति वा संस्थाहरुलाई प्रदान गरिदै आएको यो पुरस्कार यसअघि हाँस्य कलाकार महजोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, धुर्मुस सुन्तली फाउन्डेशनल, प्रा.डा सुवोध शर्मालाई प्रदान गरिएको थियो ।

सम्मानपत्र सहित एक लाख धनराशीको पुरस्कार पाउने स्टाफ नर्स साहकारी नरहरीनाथ गाँउपालिका ४ कालिकोट निवासी हुनुहुन्छ । उहाँ २०७६ चैत १६ देखि करारमा नियुक्ती लिई भेरी अस्पतालमा कोभिड आइसीयूमा काम गर्दै आउनुभएको छ । भेरीमा कोभिड आइसीयूमा काम गर्ने क्रममा आफै दुईपटक कोरोना संक्रमणमा पर्नुभएको छ ।

संक्रमितलाई बचाउन आफ्नो दुःखलाई ‘साइड’मा राखेर सुनिता सेवामा खटिदै आउनुभएको छ। सुनिताको पीडा सुन्दा कसको मन रुँदैन होला ? तर सुनिता आफ्नो मनलाई कठोर पत्थरजस्तो बनाएर महामारीमा जनतालाई बचाउन सेवामा खटिदै आउनुभएको छ।

२५ वर्षीया सुनितालाई कोरोनाभन्दा ठूलो बज्रपात परेको छ । सुनिताले लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरमा ब्लड क्यान्सरबाट गत माघमा पति गुमाउनु भएको थियो । सुनिताको विवाह भएको ८ वर्ष मात्र भएको थियो ।

काठमाडौंको पाटन अस्पतालमा उपचारको क्रममा पतिको मृत्युपछि उतै दाहसंस्कार गरेर कोरोनाको ‘इपिसेन्टर’ नेपालगञ्जको भेरी अस्पतालमा साहस जुटाउँदै सेवामा उहाँको खटाइले धेरैको ज्यान जोगिएको छ ।

यस्तै कीर्तिपुर स्टेशनमा कार्यरत नेपाल एम्बुलेन्स सर्भिसका एम्बुलेन्स चालक बोमबहादुर गुरुङ कोरोना सुरु भए यता दिनरात कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल पु¥याउने काममा खटिएका चालक हुनुहुन्छ ।

फाउण्डेशनद्धारा जारी विज्ञप्तीमा जनस्वास्थ्यको क्षेत्र, विशेषगरी कोभिड १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही कोभिडबाट संक्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गर्नुभएकोमा उहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको उल्लेख छ ।

 

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech