किन आवश्यक छ यौनिकता शिक्षा?

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७७, मंगलवार

शर्मिला पोख्रेल,

युनेस्कोले बृहत यौनिकता शिक्षालाई यसरी परिभाषित गरेको छ, ‘वैज्ञानिक रुपमा सही, यथार्थपरक, कुनै पनि निर्णायक जानकारी प्रदान गरेर उमेर उपयुक्त, सांस्कृतिक रूपमा प्रासंगिक दृष्टिकोण राखेर यौन र यौन सम्बन्धको बारेमा सिकाउने अथवा पढाउने  शिक्षा नै बृहत यौनिकता शिक्षा हो।’

विश्वका कुल जनसंख्याको एक चौथाइभन्दा बढी हिस्सा किशोर-किशोरीले ओगटेका छन्, जुन  १०-२४   वर्ष उमेर समूहका छन्। किशोरावस्था जीवनको त्यो चरण हो, जतिबेला स्वास्थ्यका लागि उत्कृष्ट अवसरहरू हुन्छन् र धेरै चुनौती पनि, जसले भविष्यको वयस्कतालाई असर गर्छ। अनुसन्धानहरूले यो पनि देखाउँछन् कि किशोर-किशोरीमा प्रारम्भिक यौन सम्पर्क र सम्बन्धित कुराको बारेमा सही जानकारीको अभाव छ।

नेपालमा पनि अन्य एसियाली देशहरूमा जस्तै कडा धार्मिक तथा सांस्कृतिक नियमहरू छन्। यसले विवाहपूर्व यौन सम्बन्धलाई निषेध गर्छ। तापनि, नेपालमा भएका अध्ययन-अनुसन्धानको तथ्यांक हेर्ने हो भने आश्चर्य मान्नुपर्ने अवस्था छैन। काठमाडौंको कलेजमा गरिएको एउटा अध्ययन अनुसार कलेजका आधाभन्दा बढी विद्यार्थीले विवाहपूर्व यौन सम्बन्धको अनुभव गरिसकेको पाइएको छ (अधिकारी र तामाङ, २००९ )। यस्तो असुरक्षित यौन व्यवहारको कारण युवाहरूको स्वास्थ्य अति जोखिममा छ; त्यसैले पनि उचित यौनिकता शिक्षा प्रदान गरिनुपर्छ।

‘स्ट्रोम एन्ड स्ट्रेस’ किशोरावस्थाको विशेषताले किशोर वर्षलाई कथित ‘भित्री युद्ध’ लाई जोड दिँदै विचारशील भावनात्मक र व्यावहारिक उथलपुथलको रूपमा पनि चिनाउने कुरा  (एरिक्सन, १९६८ ) ले पनि गरेका छन्। स्ट्रोम एन्ड स्ट्रेस यो विश्वास हो कि किशोरावस्थामा अनावश्यक रूपले अशान्ति भइरहेको हुन्छ र यस्तो अवस्थाको विषयमा अफर र सोनर्ट-रेखल 1992 ले पनि समर्थन गरेका छन्।

युनेस्को, (२०१५ ), का अनुसार विश्वव्यापी रूपमा केवल ३४ प्रतिशत युवाले एचआइभी रोकथाम र प्रसारणको सही ज्ञान प्रदर्शन गर्न सक्छन् भनेर बताएको छ भने विश्वव्यापी रुपमा ३ जना किशोरीमध्ये दुई जनालाई पहिलो मासिकचक्रबारे ज्ञात नभएको अवस्था देखिनुले पनि किशोर-किशोरीको जोखिमपूर्ण यौन व्यवहारको स्थिति कति भयावह रहेको छ, आकलन गर्न सकिन्छ।

डब्लुएचओको २०१६  को रिपोर्ट अनुसार किशोर अवस्थामा गर्भधारण, उमेर नपुग्दै बच्चा जन्माउने अवस्था, एचआइभी संक्रमण, असुरक्षित गर्भपतन  र आत्महत्या किशोर-किशोरीमा मृत्युको प्रमुख कारण हुन्। यसैले यौन स्वास्थ्यलाई नै किशोरावस्थाको विकासको एक प्रमुख घटक मान्न सकिन्छ।

किशोरावस्थामा रहेका विद्यार्थीको लागि यौनिकता शिक्षा सम्बन्धी जानकारीको मुख्य स्रोतहरूमा साथी र विभिन्न मिडिया पर्छन्। तर यदि यस्ता प्राथमिक ठानिएका स्रोतहरू नै अल्पज्ञानी छन् भने किशोर-किशोरीले आफ्नो जिज्ञासा मेटाउन गलत बाटो खोज्ने गर्छन्, जसले गर्दा पूरै जीवन जोखिममा पर्छ।

आमाबाबु पनि आफ्ना बच्चाहरूसँग यौन मामिलामा छलफल गर्न हिच्किचाउँछन्। त्यसैले उनीहरूले यसको विरोध गर्छन्, कि त धम्कीपूर्ण दबाब पनि। सामाजिक र सांस्कृतिक मूल्य-मान्यताहरुले गर्दा यौन विषय वर्जित रहेको र आवश्यक भाव र विचार विनिमयको अभावमा युवा र अभिभावकबीच खाडल पैदा भएको पनि देखिन्छ। यसले  किशोर-किशोरीमा थप मानसिक तथा भावनात्मक असर पर्न जान्छ। किशोर-किशोरीहरुले अभिभावक, शिक्षक र अग्रज व्यक्तिसँग यौनिकतासँग सम्बन्धित जिज्ञासाहरू सहज रुपमा राख्न सक्दैनन्। किनकि  सामाजिक र सांस्कृतिक मूल्य-मान्यताहरू पनि कक्षाकोठा र घर मा यौनिकता विषयमा छलफलको लागि बाधा बन्छन्। तसर्थ, अध्ययनमा देखिएको छ कि, परिवार र स्कुल वातावरणभन्दा टेलिभिजन च्यानल, चलचित्र, पत्रिका र इन्टरनेटका विभिन्न साइटहरुले किशोर-किशोरीको यौन जिज्ञासा पूरा गर्ने गरेका छन्।

पाठ्यक्रममा भएको कुरा सही रुपमा विद्यार्थीमा पुग्न नसक्नुमा यौनिकता शिक्षा पढाउने शिक्षकमा उचित तालिमको अभाव रहेको तथ्यांक पनि नेपाल सरकार २०१५ ले गरेको अनुसन्धानले देखाएको छ।

अक्सर जैविक, मनोवैज्ञानिक र सामाजिक कारकद्वारा प्रभावित हुने भएकोले किशोर अवधिलाई संक्रमणको समय मानिन्छ। किशोरावस्था परिवर्तनको अवधि हो र यो एक संवेदनशील समय पनि हो। समय परिस्थिति अनुरुप यौनिकता शिक्षाको अनुहार बदलिए तापनि औपचारिक शिक्षा सुरु हुनुभन्दा अगाडिदेखि नै आफ्ना छोराछोरीलाई दिँदै आएको पाइन्छ। उदाहरणका लागि  पारिवारिक जीवन शिक्षा, सरसफाइ शिक्षा, परिवार नियोजन, व्यक्तिगत सरसफाइ शिक्षा इत्यादिलाई लिन सकिन्छ। पिताहरू छोराहरुलाई दीक्षित गर्दथे भने माताहरू पोसिला आहारद्वारा भविष्यका आमाहरू तयार गर्दथे।

१९८० को दशकमा एचआइभी एड्सले महामारीको रुप लियो, तब अमेरिकाबाट यौनिकता शिक्षालाई औपचारिक शिक्षामा समावेश गरियो र संक्रमणलाई नियन्त्रण गर्ने आशा गरियो। युरोप र अमेरिकाको इतिहास हेर्ने हो भने यौनिकता शिक्षा पनि उति नै पुरानो देखिन्छ।

पहिलो राष्ट्रिय स्वास्थ्य रणनीति १९९८ मा कार्यान्वयन भए लगत्तै नेपाल सरकारले पनि सन् २००० मा  राष्ट्रिय किशोर स्वास्थ्य र विकास रणनीति बनाएको देखिन्छ (आचार्य र साथीहरु, २००९)।

यौनिकता शिक्षाले मुख्यतः व्यक्तिगत स्वास्थ्य र स्वच्छताबारे सूचना दिन्छ। साथै यसले लैंगिक एकीकरणबारे किशोर-किशोरीहरूलाई जागरुकता प्रदान गर्छ र यौनजन्य रोगहरूबारे ज्ञान प्रदान गरेर संक्रमण घटाउने बारेमा जानकारी पनि प्रदान गर्छ। यसैगरी यस शिक्षाले बालविवाहलाई निरुत्साहन गर्छ। अनावश्यक गर्भधारण र असुरक्षित यौन सम्बन्धबारे युवालाई ज्ञान पनि प्रदान गर्ने भएकोले विद्यालयमा आधारित यौनिकता शिक्षा अति नै आवश्यक हुन गएको हो।

यसैले स्कुलले किशोर-किशोरीलाई पाठ्यक्रममा नै बृहत यौनिकता शिक्षाका तत्वहरू समावेश गरी प्रदान गरिरहेको छ। यौनिकता शिक्षा सही रुपमा युवाहरुलाई दिएर स्वास्थ्य प्रवर्धन गर्न प्रोत्साहित गर्न सकिन्छ (शिक्षा मन्त्रालय, २०१६ )। यसले गर्भनिरोधात्मक सामग्रीको बारेमा जानकारी प्रदान गर्छ। लैंगिक भूमिका स्पष्ट पार्छ र  सहयोगी पारिवारिक सम्बन्ध निर्माण गर्छ। साथै, यसले सांस्कृतिक र रचनात्मक आउटलेटहरूका बारे प्रचार गर्छ, जसले विद्यार्थीहरूलाई जोखिमपूर्ण यौन व्यवहार अस्वीकार गर्न मद्दत गर्छ। यति हुँदाहुँदै पनि समाजमा किशोरावस्थासँग सम्बन्धित खतरनाक र जोखिमपूर्ण गतिविधिहरूमा पनि वृद्धि भइरहेको देखिन्छ। यसले पक्कै पनि यौनिकता शिक्षाभित्र रहेको कमीतर्फ इंगित गरेको छ। विद्यालयबाट प्रदान गरिएको यौनिकता शिक्षा प्रभावकारी बन्न किन सकिरहेको छैन? यो जल्दोबल्दो मुद्दा पनि हो।

विद्यालयमा प्रभावकारी यौनिकता शिक्षा कार्यान्वयनको लागि स्कुल र स्वास्थ्य सेवाहरूबीच सञ्चार हुनु आवश्यक छ, जसले  युवा व्यक्तिहरूको आवश्यकता पूरा गर्न प्रोत्साहित गर्छ (डेवि, २००५ )। सबै यौन उन्मुख शैक्षिक कार्यक्रमको बृहत्तर उद्देश्य भनेको विद्यार्थीको स्वास्थ्य सुधार र प्रबर्द्धन गर्नु हो (सन्जाकदार र साथीहरु २०१५ )। यौनिकता शिक्षा कार्यक्रमहरूको उद्देश्य, विशेषगरी युवा र केटाकेटीलाई यौन व्यवहार र यौन दुर्व्यवहार विरुद्ध सचेत पार्नु मात्र होइन, उनीहरूलाई स्वस्थ्य र सुखप्रद यौन जीवनको लागि तयार पार्न मद्दत गर्नु पनि हो।

जीवनमा एउटा मात्र यस्तो शिक्षा छ, जसले सही निर्णय वैज्ञानिक रुपले गर्न सिकाउँछ। यौवनका सुरुवाती दिनहरु अति नै पीडादायी बन्न सक्छन्, यदि सहि रुपमा ज्ञान प्राप्त नहुने हो भने। यौनिकता शिक्षालाई लिएर समाजमा विभिन्न मिथकहरू व्याप्त छन्। सामाजिक बनोट नै यस्तो छ कि यौनसँग सम्बन्धित कुराकानी समुदायमा गर्न वर्जित मानिन्छ। यौनिकता शिक्षाले जीवनका ती सारा समस्याको समाधान लिएर आएको छ, जहाँ सन्तान उत्पादनको कुरा मात्र होइन, प्रेम सम्बन्धको कुरा मात्र होइन, धेरै कुरा समेटेको हुन्छ, जसले समाजमा हिंसारहित वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। जसले वृद्धहरूको जीवनलाई सहज बनाउने मन्त्र लिएर आएको छ। लिङ्गको आधारमा हुने जुन हिंसा छ, त्यसलाई रोक्ने अस्त्र बनेर आएको छ। बृहत यौनिकता शिक्षाले अझै बृहत कुराहरु समेट्छ।

तसर्थ , समाजमा घट्ने विभिन्न बाल अपराधहरू रोक्न ,किशोरावस्थाको जोखिमपूर्ण यौन व्यवहारलाई सकारात्मक रुपमा परिवर्तन गर्न, समग्रमा भन्नुपर्दा सही निर्णय लिन आजको समयमा यौनिकता शिक्षा किशोर-किशोरीको लागि अपरिहार्य बनेको छ। यस्ता जटिलताबाट मुक्त गर्न विद्यालयले पोस्टर, पम्प्लेट, अडियो  भिडियो र अन्य मिडियामार्फत यौन र प्रजनन स्वास्थ्यको बारेमा अधिकभन्दा अधिक जानकारी प्रदान गर्नको लागि तयार रहनुपर्छ। ‘खराब छनोट नै जीवन बर्बादीको आधार हो’ भन्ने कुरा बुझाउन यौनिकता शिक्षा किशोर-किशोरीका लागि अपरिहार्य छ।

(पोख्रेल केन्द्रीय स्वास्थ्य शिक्षा विभाग, कीर्तिपुरकी उपप्राध्यापक हुन्।)


Nabintech