विभेदपूर्ण लिङ्ग छनोटको समस्याः गर्भमै मारिन्छन् छोरी

    • स्वास्थ्य पेज

  • ६ पुष २०७७, सोमबार

रासस

लुम्बिनी सांस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भ्रूणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु छोरी रहेको थाहा पाएपछि उनी अर्कोपटक पनि गर्भ तुहाउन विवश भइन् । किनकी उनका श्रीमान् र परिवारलाई छोरी चाहिएको थिएन । जसरी हुन्छ छोरा जन्माउन उनलाई दबाब थियो ।

मेडिकलमा पाँचौ पटकमा गर्भ जाँच गर्दा पेटको शिशु छोरा रहेको रिपोर्ट पाइन् । छोराप्रति अति मोह रहेको परिवारमा केही हप्ता, महिना एकखालको खुशी छायो । सायद जाँचको प्राविधिक त्रुटिले होला छोरी जन्मिइन् । “परिवारका सदस्य प्रायः अस्पतालमै थिए, छोरी जन्मेको थाहा पाएपछि जिब्रो टोके । श्रीमान् त मसँग बोल्दा पनि बोल्नुभएन । सुत्केरी व्यथा त छँदैछ, त्यसमाथि छोरी जन्माउनुपर्दाको पीडा थपियो । छोरीप्रतिको परिवारको दृष्टिकोणले मलाई थप पीडा दियो”, उनले दुःखेसो पोखिन् ।

नचाहँदा नचाहँदै पनि छोरी जन्मिएपछि उनले शारीरिक, मानसिक र सामाजिकरुपमा यति पीडा सहनुप¥यो कि, जसको कुनै लेखाजोखा छैन । “न त जेठी छोरीले माया र सम्मान पाएकी छ, न त छोरा भनेर जन्माइएकी छोरीले । परिवारमा उनीहरूको हैसियत देख्दा निकै पीडा हुन्छ”, उनले भनिन् ।

विभेदपूर्ण लिङ्ग छनोट गरी गैरकानूनी तरिकाले पटकपटक गर्भपतन गराएका कारण उनको शारीरिक अवस्था कमजोर छ । उनले भनिन्, “अवसर पाए छोरीले पनि सबै काम गर्न सक्छन् भन्ने थाहा नभएको होइन । तर पारिवारिक दबाबका कारण तीनपटक छोराको चाहनामा गर्भपतन गराउन बाध्य भएँ ।” गर्भपतनकै कारण उनको तल्लो पेट दुखिरहन्छ । दुब्लाएर शरीर पातलो छ । मानसिक तनावका कारण टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या छ । उनले १२ कक्षासम्म र उनका श्रीमानले स्नातक तहसम्म अध्ययन गरेका छन् । परिवारका अन्य सदस्य पनि शिक्षित नै छन् तर छोराछोरीप्रति समान बुझाइ भने कसैको छैन ।

तिलोत्तमा नगरपालिकाको शङ्करनगर बस्ने अर्की एक महिलाले पनि छोरोको चाहनामा गर्भपतन गराइन् । पहिलो सन्तान छोरी भएका कारण छोरा जन्माउने चाहनामा उनले लिङ्ग छनोट गरी छोरी भएको थाहा पाएपछि गर्भपतन गरिन् । “मेरो श्रीमान एउटै छोरा भएकाले बंश चलाउन छोरा नै चाहिन्छ भन्ने सासूससुराको दबाब भयो । स्नातकोत्तर पढेको भएर पनि उहाँलाई सम्झाउन सकिन”, श्रीमानले साथ दिएको भए मलाई गर्भपतन गराउन मन थिएन । तर उहाँको पनि छोराको चाहना भएकाले गर्भपतन गराउन बाध्य भएँ”, दुखेसो पोखिन् । परिवारमा सासूको दबाबले गर्दा श्रीमानले पनि छोरा चाहिन्छ भन्नुहुन्छ । उनका श्रीमान् पेशाले व्यवसायी हुन् । परिवारमा आर्थिक स्थिति पनि राम्रो छ तर छोराछोरी समान हुन् भन्ने बुझाइको कमीले गर्दा यो अवस्था सिर्जना भएको उनको भनाइ छ ।

छोराको चाहनामा विभेदपूर्ण लिङ्ग छनोट गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिङ्ग परीक्षण गराउने गर्छन् । समाजका शिक्षित परिवारमै पनि लैङ्गिक विभेद कायमै छ । उच्च शिक्षा अध्ययन गरेका दम्पतीले पनि विभेदपूर्ण लिङ्ग परीक्षण गराएको पाइएको छ ।

स्त्री रोग विशेषज्ञ डा सदीक्षा चापागाईंका अनुसार रोगको निदान र उपचारमा सहयोगी सिद्ध प्रविधि र उपकरण हो– अल्ट्रासाउन्ड । गर्भवतीको परीक्षणका अलावा गर्भाशयमा रहेको शिशुको अवस्था, सम्भावित खतरा र शिशुमा देखिन सक्ने वंशाणुगत गडबडीको परीक्षण गर्न र अन्य रोगको पहिचानका लागि यसको प्रयोग हुन्छ । शिशुको अवस्था पत्ता लगाउन यसको प्रयोग अनिवार्य जस्तै छ । गर्भधारणको निश्चित अवधिपछि अल्ट्रासाउन्डमार्फत भ्रूणको लिङ्ग पहिचान गर्न सकिने भएकाले यो प्रविधि गैरकानूनी गर्भपतन गराउनेको हतियार पनि बन्ने गरेको छ ।

सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भ्रूणको लिङ्ग पहिचान गरिदिने र गैरकानूनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको पाइएको छ । त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन गरी कुनै कारबाही नहुँदा गलत काम गर्नेहरूले प्रश्रय पाएको पनि डा चापागाईंको बुझाइ छ ।

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने पराम्परागत संस्कारले गर्दा लैङ्गिक विभेदलाई बढावा दिएको छ जसले गर्दा छोराको छनोट बढी भई नवजात शिशु जन्ममा लिङ्ग अनुपात असन्तुलन बढेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको तथ्याङ्कलाई हेर्ने हो भने पनि पछिल्लो वर्षमा महिला शिशुभन्दा जन्मिने सङ्ख्या पुरुष शिशुको बढी छ । आर्थिक वर्ष ०७६/०७७ मा लुम्बिनी प्रादेशिक अस्पतालमा जन्मिएका ११ हजार ३७७ शिशुमध्ये पुरुष पाँच हजार ९८५ र महिला पाँच हजार एक सय ९३ थिए । जसमा १९९ शिशुको मृत्यु भएको थियो । जबकी दुई वर्षअघि ०७४/०७५ मा अस्पतालमा जन्मिएका १० हजार १३६ शिशुमध्ये महिला पाँच हजार ३५७ थिए भने पुरुष चार हजार ७३१ । अस्पतालमा १७४ शिशुको भने मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल रेकर्ड शाखाका पंकज पटेलले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का अनुसार नेपालमा सन् २००५ मा १०० नवजात महिला शिशु जन्ममध्ये १०३ नवजात पुरुष शिशु थिए । सन् २०१५ मा यो सङ्ख्या बढेर १०० नवजात महिला शिशु जन्ममध्ये ११० नवजात पुरुष शिशुको जन्म पुगेको थियो ।

यो तथ्याङ्कले विद्यमान लैङ्गिक असमानताका कारण छोरीको अवमूल्यन भइरहेको, प्रजननदर घटिरहेको तथा छोरीभन्दा छोराको चाहना बढेको हुनाले गर्भपतन गर्ने अभ्यास वृद्धि भइरहेको प्रतिविम्बित गरेको भन्न सकिन्छ । पछिल्लो समय शिशु जन्ममा लिङ्ग अनुपातको असन्तुलन अझै बढ्दै गएको छ ।

नेपालमा महिलाविरुद्धको हिंसाबाट कुनै वर्ग, जातजाति, संस्कृति र राजनीतिसमेत अछुतो छैन । यो पारिवारिक तहदेखि राष्ट्रियस्तरसम्म भेटिन्छ । धार्मिक आस्था र सम्प्र्दायमा आधारित सामाजिक बनावट, विभेदपूर्ण नीति र कानूनको प्रभावलेसमेत महिला हिंसा बढी संवेदनशील बन्न पुगेको छ ।

लैङ्गिकतामा आधारित हिंसा, लिङ्ग पहिचानको अवस्थादेखि मृत्युपर्यन्त छ, जसका पछाडि शताब्दीयौँदेखि जकडिएको धार्मिक अन्धविश्वास र शक्ति सम्बन्धको विभेदले यसलाई बढी जटिल र संवेदनशील बनाएको छ भन्नुहुन्छ, महिलाविरुद्ध हुने विभेद उन्मूलनको राष्ट्रसङ्घीय समिति (सीड) का प्रतिनिधि वन्दना राणा । “लैङ्गिक हिंसा नियन्त्रणका लागि जनचेतना बढाउन जरुरी छ । समाजमा छोराछोरीलाई समान व्यवहार नहुँदासम्म हिंसा रहिरहन्छ”, राणा भन्नुहुन्छ । समाजमा छोरीको महत्व बुझाउन सकियो भने विभेदपूर्ण लिङ्ग छनोट रोक्न सकिने उहाँको भनाइ छ ।

विशेषतः नेपालमा लिङ्ग छनोट, गर्भपतन, गर्भावस्थामा कुटपिट, शिशु अवस्थामा बालिकाको हत्या, शारीरिक दुर्व्यवहार, बालविवाह, यौनछेदन, यौन दुर्व्यवहार, जबर्जस्ती यौनसम्बन्ध, हाडनाता करणी, कार्यस्थलमा यौन दुर्व्यवहार, वैवाहिक बलात्कार, दाइजो र सम्पत्तिको कारण हिंसा÷हत्या, एकल महिला र वृद्ध महिलालाई हेला, भेदभाव जस्ता हिंसा हुने गरेको छ ।

कानूनमा महिलाका पक्षमा थुप्रै व्यवस्था छन् । छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था, लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हक, महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने र त्यस्तो कार्य दण्डनीय हुने तथा पीडितले क्षतिपूर्ति पाउने व्यवस्था नेपालको संविधानले गरेको छ तर, यसको व्यावहारिक कार्यान्वयन भने अत्यन्तै फितलो छ ।

सामाजिक विभेदको एउटा मूल कारण लिङ्गका आधारमा महिला र पुरुषलाई भिन्न व्यवहार गरिने प्रचलन हो । महिला र पुरुषलाई गरिने भिन्नै व्यवहार उनीहरूको क्षमतामा आधारित नभइकन स्थितिमा आधारित हुन्छ । त्यो स्थिति आफैमा असमान व्यवहारको परिणाम हो भन्नुहुन्छ, अधिवक्ता मीरा ढुङ्गाना । “लिङ्गको पहिचान गरी गर्भपतन गरे गराएमा कानूनी कारवाही हुने व्यवस्था छ तर यो क्रम झनै बढेको छ”, ढुङ्गाना भन्नुहुन्छ, “महिलाको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्नकै लागि गर्भपतन गर्न पाउने कानून बनाइएको हो तर यही कानूनले गर्दा महिला नै जन्मन नपाउने अवस्था सिर्जना हुनु दुःखद् हो ।” पारिवारिक इज्जत र प्रतिष्ठाका डरले गर्दा जबर्जस्ती गर्भपतन गराउनु परे पनि यस्ता उजुरी बाहिर नआउने गरेको अधिवक्ता ढुङ्गानाको भनाइ छ ।

विभिन्न संस्थाको अध्ययनको नतिजालाई हेर्दा छोरी जन्मदा तुलनात्मकरुपमा परिवारका सदस्यहरू कम खुशी हुने गरेको देखिएको छ । छोरीको जन्मको खबरले महिलाको श्रीमानको तुलनामा सासूससुरा खुशी नहुने, छोरा जन्मँदा परिवारले मनाउने उत्सव तथा बाँडिने मिठाइ पनि छोरालाई दिइने महत्वका प्रमाणहरू हुन् ।

सन्तान जन्मनुअघि लिङ्ग पहिचान र विभेदपूर्ण लिङ्ग छनोट भइरहेकाले तराई र पहाडका केही जिल्लाको जनसङ्ख्यामा लैङ्गिक असमानता देखिन थालेको वातावरण, स्वास्थ्य, जनसङ्ख्यासम्बन्धी गतिविधिको अनुसन्धान केन्द्र (कृपा) को तथ्याङ्कमा उल्लेख छ । झण्डै दुई वर्षअघि कृपा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पालगायत १२ जिल्लामा गरेको अनुसन्धानमा एक वर्षमुनिका जनसङ्ख्याको सबैभन्दा बढी लैङ्गिक विभेद अर्घाखाँची जिल्लामा देखिएको थियो । सबैभन्दा कम मकवानपुरमा थियो । अर्घाखाँचीमा एक वर्ष उमेर समूहका बालबालिकामध्ये १०० बालिकाको अनुपातमा १२७ बालक छन् ।

छोरी सय जना जन्मँदा छोरा १०५ जना जन्मनुसम्मको अनुपात सामान्य मानिन्छ तर कृपाको अनुसन्धानमा सय जना छोरी जन्मँदा १ सय २७ जनासम्म छोरा जन्मेको पाइएको थियो । नेपालमा गर्भपतन गर्ने अधिकारले कानुनी मान्यता पाएपछि छोरीको गर्भपतन गर्ने दर बढेको हो ।

कृपाले एक हजार ९८० जना आमामा छोराछोरीको चाहनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानमा सहभागी ५८ प्रतिशत महिलाले १८ हप्ताको गर्भमै बच्चा छोरा वा छोरी के छ भन्ने जानकारी पाउने गरेको बताएका थिए । सहजै भिडियो एक्स–रे गर्न सकिने सुविधाले पनि लिङ्ग पहिचान र गर्भपतन बढेको छ ।

नेपालको जनगणना २०६८ को तथ्याङ्कले नै लैङ्गिक सन्तुलनको अवस्था खतरामूलक रहेको देखाएको थियो । तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड, ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुषको एक करोड २८ लाख ४९ हजार अर्थात् कुल जनसङ्ख्याको करिब ४८।५० प्रतिशत र महिलाको एक करोड ३६ लाख ४५ हजार ४६३ ९५१।५० प्रतिशत० देखिन्छ । लैङ्गिक अनुपातलाई हेर्ने हो भने प्रति सय जना महिलामा ९४।१६ जना पुरुष पर्न आउने देखिन्छ ।

नेपालमा गर्भपतनसम्बन्धी केही ऐन, नियम र मापदण्ड भए पनि विभेदपूर्ण लिङ्ग छनोट गरेर गर्भपतन गराउने कार्यलाई रोक्ने विषयमा प्रदेश सरकारले पनि ध्यान दिएको पाइँदैन । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दो छ । स्वास्थ्य निर्देशनालयका परिवार नियोजन सुपरभाइजर कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा आर्थिक वर्ष ०७६/०७७ मा १८ हजार ७६० जनाले सुरक्षित गर्भपतन गराएका छन् । आव २०७५/०७६ मा यो सङ्ख्या १७ हजार ३१३ रहेको थियो । स्वास्थ्य संस्थाको तथ्याङ्कमा लिङ्ग छनोट गरेर गर्भपतन गराएको सङ्ख्या नखुलाइए पनि हरेक वर्ष गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएको छ ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ । गर्भपतनले कानूनी मान्यता पाएकै कारण पछिल्लो समय गर्भपतन गराउको सङ्ख्या बढ्दै गएको छ ।

विभिन्न कारणले पटकपटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा समस्या हुने स्त्रीरोग विशेषज्ञ डा चापागाईं बताउँनुहुन्छ । उहाँका अनुसार औषधि पसलबाट किनेका विभिन्न औषधिको आफूखुशी प्रयोग र अनुभव नभएका व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्णरूपमा नजान सक्छ । गर्भ आधा मात्रै गएर आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्किने सम्भावना धेरै रहन्छ । जसले सङ्क्रमण भई क्यान्सर हुने डरसमेत रहन्छ ।

त्यस्तै कतिपयले मेडिकल पसलबाट औषधि किनेर प्रयोगमा ल्याउने गर्छन् । यस्तो अवस्थामा स्वास्थ्य अवस्थाबारे कुनै जानकारी नहुने हुँदा स्वास्थ्यमा विभिन्न असर पर्छ । अत्यधिक रक्तश्रावले ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबिन र आइरनको कमी हुने गर्छ ।

यसैगरी औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने वा पाठेघर फुट्न सक्ने जोखिम रहन्छ । यसले विभिन्न सङ्क्रमण हुन सक्छ । जसकारण सेतो पानी बग्ने, पाठेघरमा क्यान्सर हुनेसमेत हुन्छ । कतिपय अवस्थामा पछि गएर बाँझोपनको समस्या पनि हुने भएकाले सकेसम्म गर्भपतन नगराउनु राम्रो हुने स्त्रीरोग विशेषज्ञ डा चापागाईंको सुझाव छ ।

लैङ्गिक विभेद अन्त्यका लागि सङ्घ र प्रदेश सरकारले योजना र कार्यक्रम नबनाएका होइनन् तर कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन ।

लुम्बिनी प्रदेश सरकारले लैङ्गिक नीति तर्जुमा गरी महिला तथा यौनिक अल्पसङ्ख्यकको आर्थिक तथा सामाजिक सशक्तीकरणको निमित्त पोषण शैक्षिक तथा कानूनी सचेतना, आय वृद्धि र रोजगारी सिर्जनाको विषयलाई समावेश गरी सहकार्यमा सामाजिक परिचालन कार्यक्रम गरिने जनाएको छ । “हामीले छोराछोरी समान छन् भन्ने चेतना फैलाउन सचेतनामूलक कार्यक्रम र शिक्षामा विशेष जोड दिएका छौँ”, सामाजिक विकासमन्त्री सुदर्शन बरालले भन्नुभयो ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech