कोभिड विशेष अस्पतालको ९ महिने अनुभव

कोभिड केही होइन भनेर भ्रम फैलाउनेहरुलाई डा संजय वर्माको जवाफ–‘अस्पतालमा छट्पटाइरहेका विरामीलाई हेर्न आउनुहोस् ।’


    • प्रियास्मृति ढकाल

  • ५ पुष २०७७, आईतवार

नेपालगन्ज ५, पुष ।
नेपालमा भाइरस संक्रमणको त्रास फैलिसकेको थियो । मानिसहरुलाई संक्रमण पनि फाटफुट देखिन थालिसकेको थियो । पहिलो पोजेटिभ केस हेन्डिलिङ गर्दाको स्मरण गर्दै भेरी अस्पताल नेपालगन्जका डा संजय वर्मा भन्नुहुन्छ– ‘ओ माइ गड ! त्यो पल यति डर लाग्यो तर आफ्नो पेशा र जिम्मेवारीले डरलाई सर्लक्कै निल्यो र विरामीको उपचारमा होम्मिन प्रेरित गर्यो ।’

बाँकेको पहिलो केस नेपालगन्ज जोलहनपुरुवाको थियो । करिव ६ दशक नजिकका ती पुरुषलाई संक्रमण पुष्टि भएपछि उनलाई खजुरास्थित कोरोना विशेष अस्पतालमा लगियो । भेरी अस्पताल मातहतको उक्त अस्पतालमा विरामीको उपचारका लागि अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेको नेतृत्वमा चिकित्सक, नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीको टीम खटियो । त्यही टीममा हुनुहुन्थ्यो डा वर्मा पनि ।

‘अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापा राती घरै आउनुभयो वर्माले थापाको भनाइ उध्रृत गर्दै भन्नुभयो–‘वर्मा जी तपाई खजुरा आइसोलेसनमा जानु पर्यो ।’ परिवारले नजानमात्र होइन जागिरै छोड्न आग्रह गर्यो । कोरोनाको त्रास । घरमा ६, ९ र १३ वर्षका छोराछोरी । श्रीमतिको दवाव स्वभाविक पनि हो । तर डा वर्मालाई यस्तो महामारीमा स्वास्थ्यकर्मी नै अगाडी नसरे को अघि सर्छ ? यही प्रश्नले उहाँलाई आफ्नो, छोराछोरी र श्रीमतिको मायालाई किनारा लगायो र कोभिडका विरामीको उपचार म आफैले गर्नै पर्छ भन्ने मान्यतालाई जित्यो र आइसोलेसन पुरायो ।

डुडुवा गाउँपालिका–२ वेतहनीका डा वर्मा करिव ९ महिना भयो अहिले पनि कोभिडका विरामीको उपचारमा खटिरहनुभएको छ । भेरी अस्पताल मातहत संचालित कोभिड विशेष अस्पतालमा कोभिडका विरामीहरुको उपचारमा खटिदै आउनुभएका डा वर्मा पहिलेभन्दा अहिले गम्भीर संक्रमित आउनेक्रम बढेको बताउँनुहुन्छ ।

‘सुरु सुरुमा लक्षण चिन्ह नदेखिएका विरामीहरु आउनेक्रम बढी थियो तर अहिले उल्टो छ उहाँ भन्नुहुन्छ–‘लक्षण चिन्ह भएका र गम्भीर अवस्थाका विरामी आइरहुनभएको छ ।’ जस्का कारण स्वास्थ्यकर्मीहरु चार पाँच घण्टासम्म विरामीसँगै बस्नु पर्ने अवस्था छ । यसअघि त्यस्तो अवस्था थिएन् । ‘पीपीइ, फेसशिल्ड, मास्क, ग्लोब्सलगायतका व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरेरमात्रै विरामीको उपचारमा खटिने गरेका थियौं उहाँले भन्नुभयो–‘अहिले त फेसशिल्ड र मास्कको बलमा विरामीको उपचार गर्नु पर्ने अवस्था छ ।’ क्रिटिकल केसहरु आइरहेको हुन्छ ।

उनीहरुलाई कसरी बचाउँने हतार हुन्छ । जुन अवस्थामा भइन्छ त्यही अवस्थामा आइसोलेसनमा पसेर उपचार सुरु गर्नु पर्ने हुन्छ । ‘त्यस्तो अवस्थामा व्यक्तिगत सुरक्षाको ख्यालै हुन्न्’–उहाँको भनाइ छ । आफ्नो ज्यानको प्रवाह नगरी परिवार नभनि अहिलेसम्म विरामीको उपचारमा खटिरहेका डा वर्मा महामारीमा अग्रपंक्तिमा खटिएर उपचार गर्न पाउँदा आफ्नो लागि अवसरसँगै भाग्यमानी ठान्नुहुन्छ । तर एउटा कुराले भने उहाँलाइ सधै दुखाई रहन्छ । उपचार अभावमा कोभिड विरामीको मृत्यु भयो ।

उपचार नै पाएनन् भनेको सुन्दा आफ्नो ज्यान हत्केलामा राखेर गरिएको सेवा कहिलेकाही निर्थक्क झै लाग्ने गरेको उहाँको दुखेसो छ । ‘जस्तो सुकै विरामी होस् उस्लाई बचाउने हाम्रो एउटै मात्र अर्जुनदृष्टि हुन्छ उहाँले भन्नुभयो–‘क्रिटिकल अवस्थामा आउँदा बचाउन निकै मुस्किल पर्छ ।’ यो अवधिमा उहाँको आँखै अगाडी लगालग तीन जनाको मृत्यु भयो । त्यो कारुणीक पीडा डा वर्मा व्यक्त गर्न सक्नु हुन्न् ।

‘उपचार गरिरहेको विरामीले जव मृत्युवरण गर्छ उहाँ भन्नुहुन्छ–‘त्यो पल सहनै नसकिने पीडा हुन्छ ।’ उहाँ कैयौं पल त्यही पीडाले छट्पटिनु भएको छ । परिवारजन र आफन्तको त्यो रुवाबासीले आँसु खसेको छ । रातहरु अनिद्रै वितेका छन् । केही मानिसको समूहले कोरोना केही होइन भन्दै हिडेका छन् । तर उनीहरुलाई डा वर्माको जवाफ छ,–‘कोरोना के हो अस्पतालको आईसीयूमा छटपटाएको विरामीलाई हेर्दा थाहा हुन्छ । भाइरस संक्रमणबाट मृत्यु भएको व्यक्तिको परिवारलाई सोधे थाहा हुन्छ ।’

कोरोनाबारे अनावश्यक भ्रम नफैलाउन उहाँले सबैमा आग्रह समेत गर्नुभएको छ । ‘कोरोना नियन्त्रण, निदान र रोकथाम अव चुनौतिपूर्ण छ उहाँले भन्नुभयो–‘तर त्यतिकै सहज पनि छ । यदी जनताले भौतिक दूरीको पुर्णपालना, मास्कको अनिवार्य प्रयोग र सरसफाईमा ध्यान दिए नियन्त्रण गर्न गाह्रो छैन् ।’


Nabintech