सल्यानमा कोरोनाको असरः ग्रामीण क्षेत्रका बजार धमाधम सील

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

 

सल्यान ७, मंसिर ।
कोरोना संक्रमणको जोखिम झन बढेपछि सल्यानका ग्रामीण क्षेत्रका बजारहरु धमाधम सील हुन थालेका छन् । शारदा नगरपालिकास्थित श्रीनगर, शान्तिनगर, बेलघारी, जोगदेखोला, बरला र बाग्चौर नगरपालिका–१२ स्थित दोभानबजार सील गरिएको हो । समुदायस्तरमा संक्रमित बढिरहेको भन्दै ती बजारहरु सील गरिएको हो । कात्तिक २३ गतेदेखि बन्द गरिएको श्रीनगरबजार जिल्ला प्रशासन कार्यालयले तेस्रो पटकका लागि सील गरेको छ ।

बाग्चौरमा लक्षणसहितका संक्रमित भेटिन थालेपछि एक साताका लागि बजारक्षेत्र सील गरिएको छ । १४ दिनसम्म सिल गर्दा पनि कोरोना संक्रमण नघटेपछि फेरी पाँच दिन श्रीनगर सील गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो । सील गरेको क्षेत्रमा थप कडाइ गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताउनुभयो । उहाँका अनुसार मास्क नलगाइ हिँड्नेहरुबाट जरिवाना संकलन गर्न थालिएको छ ।

संक्रमण बढ्दै गएपछि बाग्चौर नगरपालिका र कालिमाटी गाउँपालिका क्षेत्रमा पनि एक सातादेखि सील गरिएको जिल्ला प्रशासनले जनाएको छ । सल्यानमा ६ सय १२ जनामा कोरोना पुष्टि भए पनि ५ सय ५० जना उपचारपछि घर फर्किएका छन् । संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech