कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नी सीताको निधन

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७७, बुधबार

 

काठमाडौं १९, कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

गएको दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई गएको १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उहाँलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं काठमाडांैको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले जनाएको छ ।सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधनबाट अत्यन्त दुःख लागेको बताउनुभएको छ । उहाँले सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महरा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सीता महराको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गर्दै दिवंगत सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech