‘बाँकेको स्वास्थ्य क्षेत्रको विकासमा सांसद राईको अभिभावकीय भूमिका’

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७७, शुक्रबार

प्रियास्मृति ढकाल
नेपालगन्ज १४, कात्तिक ।
आँखा उपचारमा नेपालगन्ज अब्बल छ । नेपालका मात्र होइन सीमावर्ती भारतीयहरु पनि आँखा उपचारका लागि फत्तेवाल आँखा अस्पताल आउँछन् । ‘नेपालीभन्दा भारतीय नै बढी उपचारका लागि आउने गरेका छन् बाँके क्षेत्र नं. २ का संघीय सांसद तथा पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भन्नुभयो–‘न्यूरो र मुटु रोग उपचारका लागि नेपालगन्जका सरकारी अस्पताललाई पनि यस्तै अब्बल बनाउने मेरो ठूलो सपना छ ।’ भेरी अस्पतालले गंगालालकै हाराहारीमा अहिले मुटु रोग सम्वन्धि सेवा दिइरहेको छ । न्यूरो सेवालाई पनि स्तरोनती गरिएको छ । यी दुवै विभागमा अहिले विशेषज्ञ चिकित्सक छन । ‘ अझै उपकरण र जनशक्तिको पर्याप्तता छैन् उहाँले भन्नुभयो–‘मुटु र न्यूरोको समस्या आए विरामीहरु भारत वा काठमाडौं जान नपरोस बरु भारतीयहरु सेवा लिन नेपालगन्ज आउने गराउनु पर्नेछ, त्यसको लागि म प्रतिबद्ध छु ।’

सांसद राईकै पहलमा अहिले भेरीको ओपिडी भवन भव्य बनिरहेको छ । राई सहरी विकास मन्त्री भएका बेला उहाँकै पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । ‘प्रधानमन्त्री केपी ओली र तत्कालिन अर्थमन्त्री युवराज खतिवडालाई सिधै भेटे सांसद राईले भन्नुभयो–‘उहाँहरु दुवैजनाले सहमति दिनुभयो र यो अत्याधुनिक ओपिडी भवन निर्माण सम्भव भएको हो ।’ ४३ करोडबढीको लागतमा निर्माणाधिन ओपिडी भवन वातानुकुलित हुनेछ । सरकारी अस्पतालमा ओपिडी ब्लक वातानुकुलित भएको सम्भवत यो पहिलो भएको उहाँको भनाइ छ । अहिलेको ओपिडी ब्लकको छतबाट पानी चुहिन्छ, उपचार गर्ने चिकित्सक र उपचार सेवा लिने विरामीकै स्वास्थ्य अवस्था थप जोखिमपूर्ण छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २४ जिल्लालाई सेवा दिइरहेको भेरी अस्पताललाई विशिष्टिकृत सेवासहितको अस्पतालको रुपमा विकास भएपनि कार्यान्वयन हुन सकेको छैन् । प्रदेश मातहत ल्याइएको यो अस्पताललाई संघ मातहत पुर्याउन सांसद राईले अभिभावकिय भूमिका निभाउनुभएको छ । अस्पताल विकास समितिसँग हातेमालो गरेर भेरीलाई अत्याधुनिक, गुणस्तरीय सेवा दिने अब्बल सरकारी अस्पताल बनाउनु अवको आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ । संघीय चुनावका बेला राईले अघि सारेका एजेण्डा मध्ये भेरी अस्पताल सुधारको एजेन्डा पनि थियो । त्यो एजेण्डा पूरा हुने दिशामा उन्मुख भएको उहाँको भनाइ छ ।

कोभिड–१९ को बिषम परिस्थितिमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट अस्पतालका लागि भेन्टिलेटर खरिद गर्ने मन्त्री राईको ठूलो सपना थियो । साझेदारी विकास कार्यक्रमबाट डेढ करोढ रुपैयाँ कोभिडका लागि दिने निर्णय पनि भइसकेको थियो । खर्च गर्ने निकाय नेपालगन्ज उपमहानगरपालिकाको गैरजिम्मेवारीका कारण डेढ करोड रकम फ्रिज हुन पुग्यो । नेपालगन्जका मेयर धवलशम्शेर राणाले राजनीतिभन्दा माथि उठेर समन्वयकारी भूमिका निभाएको भए भेरी अस्पतालमा करिव ७–८ वटा भेन्टिलेटर अहिले जडान भइसकेका हुन्थे । कोभिडको यो महामारीमा भेन्टिलेटर अभावमा मानिसले मृत्युवरण गर्नुपर्ने अवस्था नआउन पनि सक्थ्यो सांसद राईको भनाइ छ । ‘पद भोली नरहन पनि सक्छ राईले भन्नुभयो–‘विकासमा राजनीति नगरौं ।’

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

राईकै अग्रसरतामा जिल्लाको नरैनापुर, बैजनाथ र खजुराका स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालका रुपमा स्तरोनती गर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खजुराको प्राथमिक स्वास्थ्य केन्द्रलाई चालू आर्थिक बर्षमै १५ शैयाको अस्पताल बनाउने निर्णय गरिसकेको छ । नरैनापुर र बैजनाथ क्रमागत योजनामा छन् । संबिधानले स्वास्थ्यलाई मौलिक हककारुपमा राखेको छ । प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउनु उसको नैसर्गिक अधिकार हो । सांसद राईले बाँकेको स्वास्थ्य सेवालाई प्रभावकारी गराउन जरुरी देख्नुहुन्छ । ‘स्थानीय तहका स्वास्थ्य संस्थामा नागरिकहरुले पाउनु पर्ने आधारभूत सेवा पाइरहेका छैनन् उहाँले भन्नुभयो–‘स्थानीय र प्रदेश सरकारले यसमा ध्यान पुर्याउनु पर्ने अवस्था छ ।’

 

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech