दोस्रो पटकको संक्रमण जितेपछि डा न्यौपानेद्धारा प्लाज्मा दान

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०७७, बिहीबार

 

नेपालगन्ज १३, कात्तिक ।
दोस्रो पटकको कोरोना भाइरस संक्रमण जित्नुभएका एकजना चिकित्सकले विहीबार प्लाज्मा दान गर्नुभएको छ । सैनिक अस्पताल नेपालगन्जमा कार्यरत जुम्ला चन्दननाथ नगरपालिका–६ का ३२ बर्षीय डा पदमराज न्यौपानेले रक्त संचार केन्द्र नेपालगन्जमा प्लाज्मा दिनुभएको भेरी अस्पताल नेपालगन्जका मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो ।

डा न्यौपानेलाई पहिलो पटक साउन १६ गते भाइरस संक्रमण देखिएको थियो । त्यसको ७३ दिनपछि असोज २६ गते आफुलाई रि–इन्फेक्सन देखिएको डा न्यौपानेले बताउनुभयो ।

‘पहिलो पटक संक्रमण हुँदा मलाई कुनै लक्षण चिन्ह देखिएको थिएन उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘दोस्रो पटक संक्रमित हुँदा भने निकै कठिन अवस्थाबाट गुज्रिए ।’ कोभिड १९ सामान्य लागेपनि लक्षण चिन्ह सहित संक्रमित हुँदा भने गाह्रो भएको उहाँले बताउनुभयो ।

दोस्रो पटक संक्रमण हुँदा काठमाडौंको छाउनी अस्पतालमा पुगेर उपचार गर्नुपरेको डा न्यौपानेले बताउनुभयो । दोस्रो पटक संक्रमण भएको १७ दिनपछि विहीबार उहाँले प्लाज्मा दिनुभएको छ ।

डा न्यौपानेको शरिरमा भाइरस संक्रमण विरुद्ध प्रतिरोधी (एन्टिबडी)को विकास भइसकेपछि उहाँले प्लाज्मा दिनुभएको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारश पाण्डेले बताउनुभयो ।

भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेका विरामीहरुलाई प्लाजमा थेरापी विधिबाट उपचार गर्ने गरिएको छ । सुरुका दिनमा प्लाज्मादाताहरुको शरिरमा एन्टिबडी विकास भएनभएको चेकजाँच नगरेरै प्लाज्मा दिने गरिएको भएपनि अहिले भने चेकजाँचपछि मात्र प्लाजमा दिने गरिएको छ ।

अधिकांश लक्षण चिन्ह देखिएका पूर्वसंक्रमितहरुको शरिरमा एन्टिबडी विकास भएको देखिएको चिकित्सकहरुले बताएका छन् । बाँकेमा अहिलेसम्म ४० जना भन्दा बढीले प्लाज्मा दान गरिसकेका छन् ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech