सुर्खेत २७, असोज
कोरोना संक्रमण अघि प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरी १७ वटा आईसीयू र ६ वटा भेन्टिलेटर थिए । तर अहिले जडानको क्रममा रहेको डोल्पा बाहेक प्रादेशिक अस्पतालमा २५ आईसीयू र १० भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० आइसीयू र ६ भेन्टिलेटर रहेका छन् । त्यस्तै हुम्ला, कालिकोट र दैलेखमा पाँच पाँच आईसीयू र दुईदुई वटा भेन्टिलेटर, जाजरकोट र सल्यानमा दुईदुई आईसीयू र एकएक वटा भेन्टिलेटर छन् ।
रुकुमको चौरझारी सामुदायिक अस्पतालमा चारवेडसहित हाल प्रदेशभरी ६२ बेड आइसीयू र २६ वेड भेन्टिलेटर राखिएको छ । त्यस्तै १० वटै जिल्लामा अक्सिजन प्लानको तयारी थालिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावल कोरोना महामारी स्वास्थ्य पूर्वाधार सुधारमा अवसर बनेको बताउनुहुन्छ ।
कोभिड १९ को महामारी फैलिएका बेला स्वास्थ्य क्षेत्रमा सचेतना फैलाउने, पूर्वाधारदेखि जनशक्ति खटाउर्नेसम्मका काममा सुधार भएका छन् । प्रदेश सरकारले मेडिकल अफिसर समेत नबस्ने जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सकनै खटाएको छ । त्यहीबाट अहिले जटिल खालका शल्यक्रिया समेत हुन थालेका छन् ।
प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा प्रदीप पौडेल कर्णालीको स्वास्थ्य क्षेत्रको सुधारका लागि महामारी अवसर भएपनि अझ यसलाई स्तरीय बनाउन जनशक्ति र उपकरणको आवश्यकता देख्नुहुन्छ । कोरोना महामारीका बीच प्रदेश सरकारले १० जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मीगरी ४२ जनालाई खटाएको छ ।
कोरोना प्रतिकार्यका लागि संघ र प्रदेश सरकारले कर्णालीका १७ वटा अस्पताललाई ३० करोड ५९ लाख बढी रुपैयाँ खर्चिएका छन् । यसरी गरिएको खर्चमा पूर्वाधार निर्माण, स्रोतसाधनको व्यवस्थापन, विशेष चिकित्सकिय सेवा प्रवाहलगायतको उपयोग दीर्घकालिनसम्म रहिरहे कर्णाली प्रदेश अन्तर्गत दुर्गममा रहेका नागरिकले उपचार अभावमा अकाल्मै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने थियो की ?