नेपालगन्ज २१, असोज ।
कोेराना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ की ३५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज १७ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वाव दिइकी थिइन् । त्यसको भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
उनलाई त्यसैदिन राती पौने १२ बजे भेरी अस्पतालमा रहेको कोभिड वार्डमा भर्ना गरिएको थियो । ती महिलालाई रेमडिसिभिर, सिप्याप थेरापीसँगै हाइ फ्लो अक्सिजन समेत दिइएको थियो । उनको बुधवार दिउँसो तीन बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १० जनाको मृत्यु भइसकेको छ । दाङमा २४ घण्टा नवित्दै दुईजनाको मृत्यु भएको छ । यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा राप्ती गाउँपालिका ८ की ७० बर्षीया महिलाको भाइरस संक्रमणबाट मृत्यु भएको थियो । योसहित दाङमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।