साउन २२, नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षण गर्दा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको विवरणमा बाँकेमा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्वास्थ्य पेजलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, कोभिड १९ व्यवस्थापन समितिले संख्यामात्र खुलाउने र अन्य विवरण नखुलाउने निर्णय समेत भएको जानकारी गराउनुभएको थियो ।
भेरीले ४८ घण्टाको नतिजा सार्वजनिक गर्दा १२ महिलासहित बाँकेका २८ जनामा भाइरस संक्रमण देखिएको हो । अस्पतालले दिएको जानकारी अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एकजना चिकित्सकमा समेत भाइरस संक्रमण पुष्टि भएको छ ।