कोरोना नियन्त्रणमा कहाँ अलमलिए सिडिओ ?

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७७, मंगलवार

प्रियास्मृति ढकाल- नेपालगन्ज २०, साउन ।
जेठको दोस्रो साता बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाले लगत्तै रामबहादुर कुरुम्वाङले स्वास्थ्य पेजसँगको अन्तरवार्तामा भन्नुभएको थियो,–‘सरकारले मलाई लकडाउन कार्यान्वयन गर्ने जिम्मेवारीका साथ पठाएको छ, त्यो जिम्मेवारी पुरा गर्नु मेरो पहिलो प्राथमिकता हो ।’ त्यतिबेला बाँके कोरोनाको इपिसेन्टर बनेको थियो । नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा संक्रमितको संख्या बढेको बढैइ थिए । देशकै ध्यान बाँकेले खिचेको थियो । नरैनापुरमा २५ बर्षिय युवकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु समेत भइसकेको थियो । लकडाउन कार्यान्वयन नहुँदा भाइरस संक्रमणको जोखिम बढेको स्थानीय प्रहरी प्रशासनलाई आरोप लागिरहेका बेला कुरुम्वाङको आगमनले बाँकेबासीलाई राहतका अनुभूति भयो । किनकी अब्बल प्रशासक कहलिएका कुरुम्वाङबाट कोरोना भाइरसको जोखिम टर्ने अपेक्षा बाँकेबासीले गरेका थिए ।

संयोग त्यो अपेक्षाले केही हदसम्म मुर्तरुपमा पनि पायो । नेपालगन्ज र नरैनापुरमा संक्रमणको दर विस्तारै कम हुँदै गयो । अन्य पालिकाहरुमा संक्रमणका केही केसहरु थपिए पनि कोरोनाको इपिसेन्टर चाही बनेन् । संक्रमण दर घटदै जानु र नयाँ केस नभेटिएपछि प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बाँके कोरोनाबाट मुक्त हुन थालेको सामाजिक सञ्जालमै लेख्नुभयो । र, मिडियाहरुमा पनि कोरोना नियन्त्रणमा आइसकेको प्रतिक्रिया दिदै जानुभयो । तर लकडाउन खुलेपछि संक्रमणको दर बढेसँगै उहाँको बोलि फेरिएको छ ।

साउन ७ गते लकडाउन खुलेपछि बाँकेमा संक्रमणको दर हेर्दा उहाँको भनाइमा समुदायस्तरमै फैलिएको छ र बाँके उच्च जोखिममा परेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताउँने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ नियन्त्रणमा आइसकेको भनिएको कोरोना भाइरस फैलियो भनेर किन चिच्याहकलो गरिरहनुभएको होला ? पंक्तिकारले केलाउने प्रयास गरेको छ ।

१- लकडाउन खुलेसँगै नेपालगन्जको जमुनाह नाका भएर आउजाउ गर्नेको संख्या बढ्यो । स्थानीय तहले मनलाग्दी भारत जान सिफारिस दिए । विरामी भेट्न, औषधी लिन, मलामी र विहेमा जान भनेर स्थानीय तहबाट सिफारिस लिएको जमुनाह प्रहरीको अभिलेखमा देखिन्छ । तर त्यसरी सिफारिस लिएर जानेहरुले त्यसको दुरुपयोग गरे । सिफारिसमा एउटा समस्या देखाउने तर उद्देश्य अर्कै भइदिएको भेउ स्थानीय प्रशासनले थाहा पाउन सकेन् अर्थात सिडिओले पत्तो पाउनु भएन् । र, नेपालगन्जबाट सीमावर्ति रुपैडिया बजार जाने र आउने क्रम बाक्लियो । वारीपारी गर्नेलाई न क्वारेन्टिनमा राखियो, न त उनीहरु स्वयम होम क्वारेन्टिनमा बसे । नेपालगन्जका जनप्रतिनिधि, राजनीतिक दलका नेतादेखि धनाढ्यहरुले भारतबाट आफ्ना आफन्त, नातेदार तथा छिमेकीहरुलाई क्वारेन्टिनमा नबसाएर सिधै घर पुर्याए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्ने सवालमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ असफल देखिनुभयो । विश्वमै सबैभन्दा बढी संक्रमित भएको देशको सूचिमा भारत तेस्रो स्थानमा पर्छ । जोखिम देशबाट आउने नागरिकलाई कसैको दवाव र प्रभावमा नपरी क्वारेन्टिन गरिनु पर्ने थियो, त्यो हुन सकेन् । र, वारीपारी गर्नेहरुले कोरोना पनि लिएर आए ।

२- सरकारले भनेको थियो लकडाउन हटेपनि सर्वसाधरणहरुले घरबाट बाहिर निस्कदा मास्क अनिवार्य लगाउनु पर्ने छ र बजार व्यवसाय सन्चालन गर्नेले पनि सामाजिक दुरीको पालना गर्ने र गराउनु पर्ने छ । तर बाँकेमा यो दुवै हुन सकेन् । न सर्वसाधारणले मास्कको प्रयोग गरे, न त बजार व्यवसाय सन्चालन गर्नेले सामाजिक दुरीको पालन गर्न गराउन सके । यहाँसम्मकी बढी भिडभाड हुने सरकारी कार्यालयमा समेत सामाजिक दुरीको पालना हुनै सकेन् । आन्तरिक राजश्व, यातायात, मालपोत, नेपालगन्ज उपमहानगरपालिकालगायतका भिडभाड बढी हुने यी कार्यालयमा कोरोना भाइरसको जोखिम नै नभए झै गरियो । कोरोना नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता ठान्ने सिडिओले यसतर्फ नजर अन्दाज गर्न हुन्थेन् । यदी यी कार्यालयमा मास्क, सेनिटाइजर र सामाजिक दुरीको पूर्णरुपमा पालना गराउन सकेको भए सायद यो अवस्था नआउन पनि सक्थ्यो ।, अझ पछिल्लो पटक त झन संक्रमण विरुद्ध जनचेतना जगाउँन भन्दै आयोजना गरिएका र्यालीमा सामाजिक दुरीको धज्जी उडाइएको छ । सिडिओ, एसपीदेखि उपमेयरसम्म लावालस्कर लगाएर बजार घुमेको दृष्यले संक्रमणविरुद्ध जनचेतना बढायो की भाइरसको जोखिम स्वयमतिर आकर्षित गर्यो ? उहाँहरु आफैले जान्नु होस् । पंक्तिकारलाई लागेको जनचेतना जगाउने यो प्रक्रिया ठिक थिएन् ।

३- कमै प्रशासक हुन्छन् मिडियामैत्री । मिडियामैत्री प्रशासक नहुँदा मिडियाकर्मीलाई तथ्यगत सूचना बाहिर ल्याउन कहिलेकाँही ठूलै समस्या पर्नेगर्छ । यो हिसावले हेर्दा सिडिओ कुरुम्वाङ मिडियामैत्रीमात्र होइन् मिडियोप्रेमी पनि हुनुहुन्छ । किनकी मिडियालाई सहज सुचना प्रदान गर्नु हुन्छ र छिटो ‘रेस्पोन्स’ पनि गर्नुहुन्छ । यो मिडियाका लागि एकदमै सहज पाटो हो । एकजना नेपाल प्रहरीका अधिकारी भन्दै थिए, प्रहरीलाई नै थाहा नभएको कुरा सिडिओ सावले फेसबुकमा स्टाट्स लेख्दिनु भएछ, पत्रकारहरुले कल गरेर तनाव दिए । उनको भनाइ अवैध ढुंगा गिट्टी नियन्त्रणमा सिडियोले लेखेको स्टाट्स लक्षित थियो । किनकी सामाजिक सञ्जालमै सिडियोबाट यसरी लेख्दा कहिलेकाँही त्यसको अनुसन्धान प्रभावित हुने सम्भावना बढी हुन्छ ती अधिकारीको भनाइ थियो । खैर, त्यो बिषयले कति प्रभाव पार्छ पार्दैन् त्यो फरक पाटो भयो । तर, कोरोना भाइरस संक्रमणको बिषयमा पनि सिडियो कुरुम्वाङका दुई बिषय विवादास्पद छन् । एउटा बाँके कोरोनामुक्त हुँदै छ भन्ने र, अर्को कोरोना समुदायस्तरमै फैलिएको छ । कोरोना मुक्त हुँदै गएको भए अहिले फेरि निषेधाज्ञा किन लगाउनु पर्ने अवस्था आयो ? सरकारले नेपालमा कोरोना भाइरस समुदायस्तरमा फैलिएको पुष्टि नगर्दै सिडियो कुरुम्वाङले समुदायस्तरमै फैलिएको पुष्टि के आधारले गरिरहनु भएको छ ? सामाजिक सञ्जाल र मिडियामा व्यक्त धारणाले बास्तविकतामा कालो चस्मा लगाइदियो जहाँ यो अवस्था सिर्जना भयो ।

सिडियोका यी चार विकल्पले कोरोनाको चेन तोड्ला ?
स्वास्थ्य पेजले सुरुमै प्रश्न गर्यो तपाईलाई सरकारले कोरोना रोकथाम तथा नियन्त्रणकै लागि भनेर बाँकेमा खटाएको हो । नियन्त्रणमा आएको भनिएको कोरोना भाइरसको संक्रमण त झन बढ्यो अव के गर्नु हुन्छ ? उहाँले आफ्ना सामु चारवटा विकल्प रहेकोे सुनाउनुभयो ।
१- लकडाउन
२-सीमामा कडाई
३-पिसिआर परीक्षण दर बढाउने
४- जनचेतनामुलक कार्यक्रम
कोरोना रोकथाम तथा नियन्त्रणमा उहाँले सुझाएका चार विकल्पको पनि चर्चा गरौं

लकडाउनः
१२० दिन लामो लकडाउन साउन ७ गतेदेखि हट्दा सर्वसाधारणदेखि उद्योगी व्यवसायीहरुले राहतको श्वास फेरेका थिए । बजार केही चलाएमान देखिन थालेको थियो । चाडपर्व भित्रिरहेका कारण कारोवार बढ्ने आशा व्यवसायीहरुको थियो । तर, स्थानीय प्रशासनले आइतवारदेखि आज मंगलवारसम्म पूर्णरुपमा निषेधाज्ञा गरेका कारण सर्वसाधारणदेखि उद्योगी व्यवसायी फेरि निराश भएका छन् ।, अवस्था हेरेर बाँकेमा लकडाउन थपिने भनिएकाले आज थप हुन सक्छ । पछिल्लो पटक संकलित नमूनाको रिपोर्टलाई आधार मान्ने हो भने बाँकेका निश्चित ठाउँमा मात्र भाइरस संक्रमण देखिएको छ । जस्तैः भिडभाड बढी हुने त्रिभुवन चोक, सरकारी कार्यालयहरु र खजुरा गाउँपालिका वडा नं. ४ । नरैनापुर, जानकी, बैजनाथ र डुडुवा गाउँपालिकामा नयाँ केस देखिएको छैन् । यी पालिकाहरुबाट गरिएको ‘र्यान्डम स्याम्पलिङ’ मा पनि पोजेटिभ केस देखिएको छैन् । त्यसैले यी क्षेत्रलाई लकडाउन गर्नु उपयुक्त नहुने जनस्वास्थ्यकर्मीहरु बताउँछन् । जहाँ केसहरु देखिएका छन त्यही ठाउँलाई मात्र लकडाउन गरेर ‘र्यान्डम स्याम्पलिङ’ गर्नु उपयुक्त हुने उनीहरु बताउँछन् ।

सीमामा कडाईः
नेपालगन्जको जमुनाह नाकाबाट आउजाउ गर्ने क्रम रोकिएको छैन् । विभिन्न आवश्यकता देखाएर कोरोनाको अति प्रभावित भारत जाने र आउने दोहोरो प्रक्रिया चलिरहेकाले यस्मा लगाम लगाउन अत्यन्तै जरुरी छ । त्यसका लागि स्थानीय तहले दिने सिफारिस पूर्णरुपमा बन्द गरिएको प्रजिअ कुरुम्वाङको भनाइ छ । तर उहाँले भने झै बन्दै छ त ? जमुनाह नाका नजिकैका घर भएका एक स्थानीयबासी आश्चर्य मिश्रित अभिव्यक्ति दिदै भन्छन्–‘नेपालीहरु आउनेजाने क्रम चलिरहेको छ त, कहाँ रोकिनु । त्यस्का लागि जमुनाह नाकामा खटिएको सुरक्षाकर्मीको टीमलाई स्टिकरुपमा परिचालन गर्न जरुरी छ । त्यस्पछिमात्र सीमामा कडाई हुने छ ।

पिसिआर परीक्षण दर बढाउनेः
पिसिआर परीक्षण धेरै हुने अस्पतालहरुमा भेरी अस्पताल नेपालकै दोस्रो स्थानमा आउँछ । अस्पतालले हालसम्म करिव २२ हजार ५ सय पिसिआर परीक्षण गरेको छ । तर, बाँकेका कति पिसिआर भयो ? त्यसको हिसावकिताव गर्न जरुरी छ । नेपालगन्जमा रहेको भेरी अस्पतालले अहिलेसम्म बाँकेका १२ हजार २ सय ६१ जनाको मात्र पिसिआर परीक्षण गरेको छ । त्यस्मा ४ सय ५७ जनामा भाइरस संक्रमण देखिएको छ । पिसिआर परीक्षणको दायरा कसरी बढाउने ? कहाँ–कहाँबाट नमूना संकलन गर्ने ? किटको प्रयाप्तता छ की छैन ? कतिपय एक घर एक पिसिआरको माग राख्दै सडकमा आउन समेत भ्याइसकेका छन् । यस्तो अवस्थामा पिसिआरको दायरा बढाउने उपाय के हो ? त्यसको ठोस योजना बनेको देखिदैन् । अर्को कुरा, ट्रभाल हिष्ट्री नभएका व्यक्तिहरुमा समेत भाइरस संक्रमण देखिएकाले विज्ञहरुको टोली झिकाएर अनुसन्धान गर्नतर्फ समन्वयकारी भूमिका खेल्न पनि उत्तिकै आवश्यक छ ।

जनचेतनाः
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सचेतना फैलाउन सिडिओ, जनप्रतिनिधि र बाँके प्रहरीले नेपालगन्ज र कोहलपुरमा र्याली नै गरे । मास्क बाँड्दै हुल बाँधेर गरिएको र्यालीले जनचेतना कति बढायो त्यो त उनीहरु आफैले जानुन तर आलोचना भने निकै खेप्नु परेको छ । सामाजिक दुरी पालना गर्नुपर्छ भन्दै सिकाउने र कार्यान्वयन गराउने निकायका अधिकारीहरुले आफै त्यसलाई तोडेका छन् । कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि जनचेतना नै जगाउने हो भने माइकिङ गर्न सकिन्थ्यो । मिडियाहरुमा सूचना प्रवाह गर्न सकिन्थ्यो । तर हुल बाँधेर बजार परिक्रमा गर्नु भनेको भाइरस संक्रमणको जोखिम बढाउनु नै हो । त्यसैले अवको जनचेतनामुलक कार्यक्रम नागरिकलाई सकारात्मक प्रभाव पार्ने खालका हुनु पर्छ ।

 

 

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech