काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्राथमिक उपचार तालिम प्रभावकारी बन्दै गएको छ ।
महानगरपालिका र रेडक्रसबीचको सम्झौता अनुसार हालसम्म ६ वडाका १५१ जनालाई तालिम प्रदान गरिएको छ । तालिम प्राप्त गर्नेमा ११४ महिला र ३७ पुरुष रहेका छन् ।
रेडक्रस काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलका अनुसार प्राथमिक उपचारको ज्ञानले विपद् वा आकस्मिक घटनाको समयमा तत्काल उद्धार तथा उपचार गर्न सहज बनाउनेछ । उनले टोलमा युवाको संख्या घट्दै गएको अवस्थामा महिलाको सहभागिताले ज्येष्ठ नागरिकलाई थप सहयोग पुग्ने बताए ।
महानगरपालिकाको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले यस्ता तालिमहरू आपत्कालीन व्यवस्थापनका लागि अत्यन्त उपयोगी हुने उल्लेख गरे । उनले तालिमलाई काठमाडौँ महानगरका सबै ३२ वडामा विस्तार गरिने जानकारी दिए ।
महानगरका अनुसार तालिमबाट प्राप्त प्रमाणपत्र नेपालसहित १९२ देशमा मान्य हुनेछ । कार्यक्रममा दुर्घटना, चोटपटक वा आकस्मिक स्वास्थ्य अवस्थामा उपलब्ध साधनको उपयोग, घाइतेको अवस्था स्थिर राख्ने, तथा आवश्यक सुधारात्मक उपाय अपनाउने सीप सिकाइन्छ ।
त्यस्तै, तालिममा दुर्घटना स्थलमा सुरक्षा, प्रारम्भिक स्वास्थ्य जाँच, श्वासप्रश्वास वा मुटु बन्द भएको अवस्थामा सीपीआर (कृतिम श्वास र छाती थिच्ने विधि) तथा रक्तश्राव नियन्त्रण गर्ने तरिका पनि अभ्यास गराइन्छ ।
महानगरले यस्ता तालिमले समुदायस्तरमै आपत्कालीन क्षमतामा वृद्धि गर्दै जीवनरक्षा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।







