नेपालगन्ज: नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गरेका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । डा. गोंगलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको छ ।
डा. गोंगलले आफ्नो चिकित्सकीय जीवनभर न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक गरेका थिए ।
उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का संस्थापक निर्देशकसमेत थिए । करिब चार दशकसम्म वीर अस्पतालमामा सेवा दिएका डा. गोंगलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए ।
१८८९ चैतमा काठमाडौंमा जन्मिएका उनले त्रिचन्द्र कलेजबाट बीएस्सी पूरा गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजमा एमबीबीएस गरेका उनले बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरे ।
सन् १९६१ मा नेपाल फर्किएपछि गंगोलले वीर अस्पतालमा काम सुरु गरेका थिए । नेपाल चिकित्सक संघले श्रद्धाञ्जली दिँदै डा. गोंगलको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको बताएको छ ।







