डा.विकासको नेतृत्वमा हाडजोर्नी सेवामा यसरी अब्बल बन्यो प्रदेश अस्पताल सुर्खेत

हिप रिप्लेसमेन्टदेखि घुँडाको जोर्नी प्रत्यारोपणसम्मका अत्याधुनिक शल्यक्रियाहरु प्रदेश अस्पतालमै सम्भव हुन थालेका छन् ।


    • प्रियास्मृति ढकाल

  • ७ बैशाख २०८३, सोमबार

नेपालगन्जः प्रदेश अस्पताल सुर्खेतमा दैनिक करिब सात सयको हाराहारीमा बिरामीले ओपीडी सेवा लिन्छन् । विशिष्टीकृत सेवा प्रवाहको लयमा अघि बढिरहेको तीन सय वेडको यस अस्पतालको हाडजोर्नी तथा नसारोग विभागमा मात्रै दैनिक दुई सयदेखि करिब दुई सय पचास जनासम्म बिरामी ओपीडी सेवामा आउने गर्छन् । सार्वजनिक बिदाबाहेक हरेक दिन शल्यक्रिया सेवा संचालन हुने गरेको छ भने अन्तरंग (भर्ना भएका बिरामीको उपचार) सेवा पनि नियमित रुपमा प्रदान गर्दै आएको छ ।

हिप रिप्लेसमेन्टदेखि घुँडाको जोर्नी प्रत्यारोपणसम्मका अत्याधुनिक शल्यक्रियाहरु प्रदेश अस्पतालमै सम्भव हुन थालेका छन् । त्यसैगरी, स्पाइन इन्जुरी अर्थात् मेरुदण्डसम्बन्धी समस्यादेखि ट्रमा सेवासम्मका स्तरीय सेवा प्रदेश अस्पतालले प्रवाह गरिरहेको छ । अस्पतालका हाडजोर्नी तथा नसारोग विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. विकास केसीका अनुसार पछिल्लो समय प्रदेश अस्पतालमै आधुनिक शल्यक्रियाहरु हुन थालेका छन् ।

कर्णाली प्रदेशमै पहिलो पटक घुँडाको जोर्नी प्रत्यारोपण गर्दै डा.विकास केसी नेतृत्वको टिम ।

‘हामीले अहिलेसम्म पाँच वटा हिप रिप्लेसमेन्ट गरिसकेका छौं उनले स्वास्थ्यपेजसँग भने–‘कर्णाली प्रदेशमै पहिलो पटक घुँडाको जोर्नी प्रत्यारोपण पनि सफलतापूर्वक सम्पन्न गरेका छौं ।’ उनका अनुसार कर्णाली प्रदेशको भौगोलिक बनावट चुनौतीपूर्ण छ । भीरपाखा र घाँस–दाउरा गर्नुपर्ने बाध्यताका कारण यहाँका नागरिकहरु लडेर चोटपटक लाग्ने जोखिममा बढी पर्छन् । यस्तै, सवारीसाधनको पहुँच सीमित हुनुका साथै दुर्गम भौगोलिक संरचनाका कारण हुने दुर्घटनाहरु पनि प्रायः गम्भीर हुने गरेका छन् ।

त्यसैले ट्रमा (गम्भीर चोटपटक) का बिरामीहरु पनि उल्लेख्य संख्यामा अस्पतालमा आउने गर्छन् । ‘कर्णाली प्रदेशका नागरिक लागि प्रदेश अस्पताल सुर्खेत रेफरल अस्पताल नै हो उनले भने–‘जुम्लाको कर्णाली विज्ञान प्रतिष्ठान भएपनि पहुँचका हिसावले सुर्खेत नै भरोसाको केन्द्रका रुपमा रहेको छ ।’

हरिले विभाग स्थापना गरे, विकासले पूर्णता दिए

डा. हरि सापकोटा सुर्खेतमा ख्यातिप्राप्त अर्थोपेडिक सर्जन थिए । उनकै नेतृत्वमा प्रदेश अस्पतालमा हाडजोर्नी तथा नसारोग विभाग स्थापना भएको हो । तर, कोभिड–१९ महामारीका क्रममा बिरामीको उपचार गर्दागर्दै उनी स्वयं संक्रमित भए र उपचारकै क्रममा उनको दुःखद निधन भयो । उनको निधनपछि प्रदेश अस्पताल मात्र होइन, समग्र सुर्खेतमै हाडजोर्नी विशेषज्ञको अभाव महसुस हुन थाल्यो ।

यही अभाव पूर्ति गर्न २०७७ साल माघमा डा. विकास केसी काजमा सुर्खेत खटिए । त्यसबेला हाडजोर्नी तथा नसारोग विभाग एक–दुई जना चिकित्सकको भरमा चलिरहेको थियो । हप्तामा दुई दिन मात्र शल्यक्रिया सेवा उपलब्ध हुन्थ्यो । क्रमशः अस्पतालको पूर्वाधार विकासले गति लिँदै गयो । डा. विकास केसीको पहलमा अर्थोपेडिक विभाग विस्तार हुँदै गयो र संघीय, प्रदेश तथा छात्रवृत्ति अन्तर्गतका चिकित्सकहरू थपिँदै गए । अहिले उक्त विभागमा ११ सदस्यीय सशक्त टोली कार्यरत छ । जसलाई अस्पतालकै सबैभन्दा सक्षम र उत्कृष्ट विभागका रुपमा लिइन्छ । हाल अस्पतालमा हप्ताको पाँच दिन नियमित शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ ।

वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. विकास केसी

यसअघि शनिवार बाहेक हप्ताका छ दिन सेवा उपलब्ध हुँदै आएको थियो । सामान्यदेखि जटिल प्रकृतिका दैनिक ४–५ वटा शल्यक्रिया सफलतापूर्वक हुँदै आएका छन् । अर्थोपेडिक विभागका लागि छुट्टै दुईवटा शल्यक्रिया कक्ष व्यवस्था गरिएको छ भने ४० वटा बेड पनि छुट्याइएको छ । सो वार्डलाई ‘हरि सापकोटा स्मृति अर्थोपेडिक वार्ड’ नामकरण गरिएको छ । साथै, तीमध्ये ४ वटा बेड विपन्न नागरिकका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रत्येक दिन शल्यक्रिया सेवा प्रवाह हुने भएकाले बिरामीले महिनौं पालो कुर्नु पर्ने अवस्था पनि छैन । आफ्नै ठाउँमा उपचार पाएपछि बिरामीको लागत खर्च पनि जोगिएको छ ।

डा. हरि सापकोटाले स्थापना गरेको विभागलाई डा.विकास केसीले पूर्णता दिने काम गरेका छन् । कर्णालीका दूरदराजका बिरामीहरुले आफ्नै प्रदेश राजधानी सुर्खेतमै हाडजोर्नीसम्बन्धी विशिष्टीकृत सेवा पाउन थालेका छन् । भएको स्रोत स्रोत–साधनको अधिकतम उपयोग गर्दै डा. केसी नेतृत्वको टोलीले जटिल प्रकृतिका शल्यक्रियाहरु निरन्तर रुपमा सफलतापूर्वक गर्दै आएको छ । प्रत्येक दिन शल्यक्रिया सेवा प्रवाह हुने भएकाले बिरामीले महिनौं पालो कुर्नु पर्ने अवस्था पनि छैन । आफ्नै ठाउँमा उपचार पाएपछि बिरामीको लागत खर्च पनि जोगिएको छ ।

‘हाडजोर्नीसम्बन्धी बिरामीलाई बाहिर रेफर गर्नुपर्ने अवस्था अब छैन उनी भन्छन्–‘बिरामीका आफन्तहरुले नै अन्यत्र लैजान चाहनुहुन्छ भने रोक्ने कुरा भएन, नत्र प्रदेश अस्पतालमै उपचार सम्भव छ ।’तर, केही जटिल केसहरुमा भने न्यूरोसर्जन, भास्कुलर सर्जन, दक्ष रेडियोलोजिस्टलगायत विशेषज्ञको अभाव अझै महसुस हुने गरेको उनले बताए । ‘ट्रमाका केसहरुमा हाडजोर्नी तथा नसारोग विशेषज्ञले मात्र सेवा दिन सक्दैनन्, त्यतिबेला न्यूरोसर्जनदेखि भास्कुलर सर्जनसम्मको आवश्यकता पर्छ’–उनले भने । डा.केसी करिव पाँच वर्षदेखि प्रदेश अस्पताल सुर्खेतमा बसेर दुर्गमका नागरिकलाई सेवा दिँदै आएका छन् ।

काज फिर्ताको निर्णय व्यवहारिक छैन

बालेन नेतृत्वको सरकारले अहिले काज फिर्ता गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । पहुँचका आधारमा सुगम क्षेत्रमा काज मिलाएर बसेका चिकित्सकहरुलाई क्रमशः दरवन्दी भएकै ठाउँमा फिर्ता पठाउने काम भइरहेको छ । हाडजोर्नी तथा नशारोग विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. विकास केसीको नाम पनि काज फिर्ताको सूचिमा छ । तर यस निर्णयप्रति वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. केसीको चित्त बुझेको छैन ।

दुर्गम क्षेत्रमा निरन्तर सेवा दिइरहेका चिकित्सकलाई समेत ‘सुगममा काज’ को एउटै आधारमा फिर्ता गर्ने निर्णय न्यायोचित नभएको अनुभूति भएको छ डा. विकासलाई ।

डा. केसीको दरबन्दी काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भए पनि उनी करिब पाँच वर्षदेखि कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा काजमा खटिएर विशेषज्ञ सेवा दिँदै आएका छन् । यस अवधिमा उनले करिब आठ महिना मात्रै ट्रमा सेन्टरमा गएर सेवा दिए । बाँकी समय सुर्खेतमै बसेर कर्णालीका दुर्गम क्षेत्रका बिरामीलाई उपचार गर्दै आएका छन् । दुर्गम क्षेत्रमा निरन्तर सेवा दिइरहेका चिकित्सकलाई समेत ‘सुगममा काज’ को एउटै आधारमा फिर्ता गर्ने निर्णय न्यायोचित नभएको अनुभूति भएको छ डा. विकासलाई ।

‘दुर्गममै बसेर सेवा दिइरहेका चिकित्सकलाई पनि एकै ढाँचामा काज फिर्ता गरिँदा सेवाप्रवाहमा प्रत्यक्ष असर पर्ने जोखिम देख्छु’ उनी भन्छन् । डा. केसीका अनुसार कर्णाली प्रदेशमा पहिले नै चिकित्सक दरबन्दीको अभाव छ । यस्तो अवस्थामा भएका चिकित्सकलाई समेत काज फिर्ताका नाममा हटाइएमा यहाँका नागरिकको स्वास्थ्य सेवामा गम्भीर असर पर्ने र ठूलो समस्या उत्पन्न हुने जोखिम देखिन्छ ।

  • ७ बैशाख २०८३, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech