नेपालगन्जः बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका अन्दाजी ७ वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रकाशसिंह कार्कीले जानकारी दिए ।
नातिको जिल्ला अस्पताल बर्दियामा र बाजेको बाँकेको नेपालगंजस्थित नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको हो। भूमिराजकी श्रीमती ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते छन्। घाइते दुवै जनालाई उपचारका लागि नेपालगन्ज ल्याइएको छ । उनीहरुको सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बिहान योग गर्न गइरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो ।
भूमिराज योग गुरू हुन् । उनीसहित ४ जना आइतबार बिहान सवा ५ बजे योग गर्न आयुर्वेद अस्पताल जाँदै थिए। सडक पार गर्ने क्रममा उनीहरूलाई एम्बुलेन्सले ठक्कर दिएको थियो। प्रहरी निरीक्षक कार्कीका अनुसार बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर तर्फ जाँदै गरेको लुम्बिनी बा– ०–३०५ नम्बरको एम्बुलेन्सले उनीहरू चारै जनालाई ठक्कर दिएको थियो।
ठक्कर दिने एम्बुलेन्स कोहलपुरको सिर्जनशील टोल विकास संस्थाले सञ्चालन गर्दै आएको थियो। ठक्कर दिँदा एम्बुलेन्समा चालक मात्रै सवार थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।








