काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । चैत १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी साँझ अस्पतालबाट डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो । पक्राउपछि स्वास्थ्य परीक्षणका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो, जहाँ स्वास्थ्य समस्या देखिएपछि उनी अस्पतालमै भर्ना भएका थिए ।
अस्पतालमै उपचाररत अवस्थामा प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा ओलीकी पत्नी राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटपछि सर्वोच्च अदालतको आदेशमा चैत २६ गते उनी हिरासतमुक्त भएका थिए ।
अस्पताल बसाइका क्रममा उनले अदालतमा भर्चुअल माध्यमबाट बयान समेत दिएका थिए । उपचारको क्रममा उनको पित्त थैलीको शल्यक्रिया (पत्थरीको अपरेसन) गरिएको थियो ।
पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएकाे उनकाे सचिवालयले जनाएकाे छ ।








