घोराहीः दाङको सञ्जीवनी टिचिङ हस्पिटलले अवको एक महिनाभित्रै सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने भएको छ । माघ २८ गतेदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारलाई तीव्र बनाउँदै साविक राप्ती क्षेत्रमै विशिष्टीकृत स्वास्थ्य सेवाको केन्द्र बन्ने लक्ष्यसहित अघि बढिरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिए । उनले भने-‘अब एक महिनाभित्र न्युरोलोजी, कार्डियोलोजी र युरोलोजीसम्बन्धी सुपरस्पेशियालिटी सेवाहरू सुरु गर्ने गरी तयारी गरेको छौं ।’
सुपरस्पेशियालिटी सेवा सञ्चालनमा आएपछि दाङसहित साविक राप्तीका बिरामीलाई कोहलपुर, नेपालगन्ज र बुटवलसम्म धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको पनि उनले बताए ।जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको अत्याधुनिक एमआरआई मेसिन, ‘हेलियम–फ्री’ प्रविधिमा आधारित नेपालमै पहिलो मानिएको उपकरण जडान गरि स्तरीय सेवा प्रदान गरिएको उनले बताए । साथै १९२ स्लाइस क्षमताको सीटी स्क्यान मेसिनमार्फत पनि नियमित सेवा दिइँदै आएको उनको भनाइ छ ।
करिब चार अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न अस्पतालमा हाल ३०० शय्या सञ्चालनमा छन्। ओपीडी सेवाअन्तर्गत जनरल फिजिसियनदेखि हाडजोर्नी, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, बालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटी, दन्त, नेत्र, एनेस्थेसियोलोजी, प्याथोलोजी, रेडियोलोजी तथा फिजियोथेरापी सेवा उपलब्ध छन्।
त्यस्तै, क्रिटिकल केयर सेवातर्फ आईसीयू, सीसीयू, एमआईसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयू, एचडीयू र हेमोडायलाइसिस सेवा सञ्चालनमा छन् । रेडियोलोजी तथा डायग्नोस्टिक सेवाअन्तर्गत डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, इसिजी, इको, सीटी स्क्यान, एमआरआई, इन्टरभेन्सनल एन्डोस्कोपी र कोलोनोस्कोपी जस्ता सुविधा उपलब्ध छन् ।
अस्पतालमा जनरल वार्डदेखि क्याबिनसम्मको व्यवस्था गरिएको छ भने क्याथ ल्याब, पीएफटी, ईएमजी, ईईजी, ब्लड बैंक र एम्बुलेन्स सेवा पनि सञ्चालनमा छन् । २४ घण्टा इमर्जेन्सी, फार्मेसी, प्रयोगशाला तथा सीटी स्क्यान सेवा निरन्तर उपलब्ध गराइएको छ। मोडुलर अपरेशन थिएटरमार्फत सामान्यदेखि जटिल शल्यक्रियासमेत भइरहेको अस्पतालले जनाएको छ।
शैक्षिक क्षेत्रतर्फ पनि अस्पतालले विस्तारको योजना अघि सारेको छ। आगामी वर्षदेखि नर्सिङ तथा पारामेडिक्स विषयको अध्यापन सुरु गर्ने र त्यसपछि क्रमशः एमबीबीएस तथा बीडीएस कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।







