काठमाडौंः सरकारले सप्तरीको राजविराजमा “रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान” स्थापना गर्ने कानुनी प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको “ऐन २०८३” को मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ।
मन्त्रालयका अनुसार काठमाडौं केन्द्रित स्वास्थ्य शिक्षा र सेवालाई विकेन्द्रित गर्दै मधेस प्रदेश र पूर्वी तराईमा नै गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागिएको हो।
हाल सञ्चालनमा रहेको गजेन्द्र नारायण सिंह अस्पताललाई स्तरोन्नति गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने र चिकित्सा शिक्षा, अनुसन्धान तथा सेवा एकै स्थानबाट सञ्चालन गर्ने योजना छ।
प्रतिष्ठानको केन्द्रीय कार्यालय राजविराजमा रहनेछ। यसले स्वास्थ्य विज्ञान अध्ययन, दक्ष जनशक्ति उत्पादन र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य लक्ष्य लिएको छ।
संस्थालाई स्वशासित रूपमा सञ्चालन गरिनेछ। प्रधानमन्त्री कुलपति, स्वास्थ्य मन्त्री सहकुलपति र उपकुलपति कार्यकारी प्रमुख हुने व्यवस्था प्रस्ताव गरिएको छ।
मन्त्रालयले सात दिनभित्र सुझाव दिन आग्रह गरेको छ र प्राप्त सुझाव समेटेर विधेयकलाई अन्तिम रूप दिई संसदमा पेश गरिनेछ।








