नेपालगन्जः बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटा गाउँ राजनीतिक उत्साहले भरिएको छ । यहाँका बस्तीहरु चुनावी बहसले गुञ्जिएका छन् । यिनै आवाजहरुको बीचमा भेटिन्छन् कालाफाँटाका युवा निजामुद्दिन खान । उमेर ३० वर्ष पुगेका खानले स्वास्थ्य क्षेत्रको दृष्टिकोणले कालाफाँटा अत्यन्तै विकट भएको सुनाउँछन् । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल मत माग्दै गर्दा खान भन्छन्–‘रोग र भोगसँग जुधिरहेका यहाँका नागरिकलाई यसबाट जोगाउने उपाय बताइदिनु पर्छ ।’
यतिमा मात्रै उनी रोकिँदैनन् । ‘यसअघि जिताएर मन्त्री र सांसद बनाएर पठाएका नेताहरू फर्केर आउँदैनन् । यस्तो नेता हामीलाई चाहिएको छैन’ उनी थप्छन् । नरैनापुर गाउँपालिका स्वास्थ्यका हिसाबले सबैभन्दा पछाडि परेको छ । भारतसँग खुला सीमाना भएकाले आयातित रोगहरुको प्रभाव पनि यहाँ बढी देखिन्छ । स्वास्थ्य र सरसफाइका दृष्टिकोणले नागरिकहरुको सचेतनाको अवस्था पनि सन्तोषजनक छैन । मातृ तथा नवजात शिशु मृत्युदरको अवस्था पनि उस्तै विकराल छ ।
खानको कुरा ध्यानपूर्वक सुनेपछि गौडेल भन्छन्–‘भारतसँग जोडिएका तराई-मधेशका थुप्रै बस्तीका नागरिकहरू स्वास्थ्य सेवाको पहुँचमा छैनन् । पहुँचमा भए पनि गुणस्तरीय सेवा उपभोग गर्न पाएका छैनन् ।यी समस्या केवल आश्वासन र भाषणबाट समाधान हुँदैनन् । कांग्रेसले नीति बनाएर सम्बोधन गर्छ । त्यो नीति काँग्रेसले आफ्नो प्रतिज्ञापत्रमा समेटिसकेको छ ।’ गौडेलले स्वास्थ्यमन्त्री गगन थापा हुँदा थुप्रै नीतिगत सुधार गरेको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको बारेमा पनि बुझाउने प्रयास गरे ।
आगामी भावी प्रधानमन्त्रीका रुपमा गगन थापालाई कांग्रेसले अघि सारेको उल्लेख गर्दै गौडेलले उनलाई प्रधानमन्त्री बनाउन आफूलाई मत दिन आग्रह गरे । त्यसपछि खानले युवाको आशा, परिवर्तनको आकांक्षा र नेतृत्वप्रतिको भरोसा मिसिएको भनाइ राखे । उनले यो पटक नरैनापुरमा पनि भावी प्रधानमन्त्री गगन कुमार थापाप्रति चर्चा र भरोसा देखिएको सुनाए । आफूलाई पनि भरोसा लागेको बताए। भरोसाको त्यो दियो बाल्न उनी गौडेललाई जिताउन चाहन्छन् । निजामुद्दिन खान भन्छन्–‘जेन–जी आन्दोलनपछि कांग्रेसभित्र आएको नेतृत्व परिवर्तनले हामी युवामा नयाँ आशा जगाएको छ । स्वास्थ्यमन्त्री हुँदा गगन थापाले राम्रो काम गरेका थिए । अब प्रधानमन्त्री भएपछि झन राम्रो काम गर्लान ।’ उनको भनाइले नरैनापुरमा बढ्दो राजनीतिक चेतना र युवाहरूको सक्रियतालाई संकेत गर्छ ।
उनी मात्रै होइनन्, नरैनापुरका अन्य युवाहरू पनि यही भावनामा छन् । यस्तै एक युवा हुन् सयन्स खान । उनी बर्दिवासमा काम गर्ने भए पनि अहिले चुनावी माहोलका लागि कालाफाँटा फर्किएका छन् । उनी न गगन थापालाई व्यक्तिगत रुपमा चिन्छन्, न त नारायण गौडेललाई । तर गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रमले निम्नवर्गलाई पुर्याएको राहतको भने खुलेर प्रशंसा गर्छन् । नरैनापुरजस्तो विकट बस्तीका युवाहरुमा पनि गगन थापाप्रति भरोसा जागेको छ । उनी नरैनापुर क्षेत्रका उम्मेदवार नभए पनि उनकै कारण गौडेलको पक्षमा मत बलियो बन्दै गएको छ ।







