नेपालगन्जः थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि भेरी अस्पतालमा निःशुल्क पाइने भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीले रगत चढाएपछि प्रयोग गर्नुपर्ने उक्त औषधि यसअघि आफैले किन्नु पथ्र्यो ।
यो औषधि महंगो छ । एउटै ट्याबलेटको १ सय ५० रुपैयाँ सम्म पर्छ । नेपाल सरकारले बजेट पठाएसँगै भेरी अस्पतालले थालेसेमियाका बिरामीलाई यो औषधि निःशुल्क दिन सुरु गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले जानकारी दिनुभयो ।
यो औषधि बच्चाको ओपिडीमा निःशुल्क पाइने पनि उहाँले जानकारी दिनुभयो । पैसा महंगो भएका कारण बिरामीले यो औषधि खान पाएका थिएनन् । थालेसेमियाका बिरामीलाई रगत चढाउनु पर्ने भएकाले बढी रगत चढाउँदा आइरन ओभरलोड भएर कलेजो, मुटुको समस्या हुने जोखिम बढी हुन्छ ।

थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि
२० पिन्ट भन्दा बढी रगत चढाएपछि शरिरमा आइरन ओभरलोड हुन्छ । त्यहीँ भएर डिफेरासिरोक्स औषधि नियमित खानु पर्छ । तर महंगो पर्ने भएकाले बिरामीहरुले किन्न नसकेर औषधि खाने गर्दैनथे र खाएभनेपनि केहि समयमै छाड्ने गर्थे । भेरी अस्पताल, मेडिकल कलेज, कान्ति आरोग्य लगायतका अस्पतालमा एक सयको हाराहारीमा थालेसेमियाका बिरामीले उपचार सेवा लिइरहेका छन् ।
बंशाणुगत यो रोगका कारण खासगरी थारु समुदायका बालबालिकाहरु बढी प्रभावित छन् । भेरी अस्पतालले निःशुल्क डिफेरासिरोक्स औषधि दिन सुरु गरेपछि थालेसेमियाका बिरामीलाई ठूलो राहात मिलेको छ ।