काठमाडौं: परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालको कुपण्डोलस्थित भवनमा स्थापना गरिएको ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन् ।
अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ल्याब स्थापना गरिएको बताए । उनका अनुसार नर्सिङ, अनमी, मिडवाइफ तथा चिकित्सकहरूको सिकाइका लागि ल्याबको उपयोग हुनेछ । ल्याब स्थापनाका लागि वन हार्ट वर्ल्डवाइडले आर्थिक सहयोग गरेको हो ।
ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने बताए । उनले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा सफल भएको बताउँदै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताए ।
यसैबिच मन्त्री पौडेलले अस्पतालको विस्तारित बर्थिङ युनिटको समेत उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा एकै पटकमा ८ जनाको प्रसूति गराउन सक्ने क्षमता रहेकामा अब थप ४ जना गरि जम्मा १२ जनालाई प्रसूति गराउन सक्ने गरि सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ ।