नेपालगन्जः गुलरिया अस्पताल बर्दियाले आर्थिक सुशासन कायम गर्दै कार्यालयलाई शून्य बेरुजु बनाउन सफल भएको छ । लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालयहरुको आर्थिक सुशासनको लागि बेरुजुको समिक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रममा गुलरिया अस्पताल बर्दियाले आर्थिक सुशासन कायम गर्दै कार्यालयलाई शून्य बेरुजु बनाउन खेलेको भूकिकाको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्रले सम्मान गरेको छ ।
स्वास्थ्यमन्त्री खेमबहादुर सारु, लुम्विनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले उक्त प्रंशसा पत्र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुभाष पाण्डेलाई प्रदान गरे । लुम्विनी प्रदेश सरकार स्थापना भएदेखि (आर्थिक वर्ष ०७५/०७६ देखि आर्थिक वर्ष ०८०/८१) हालसम्म आर्थिक सुशासन कायम गर्दै कार्यालयलाई शून्य बेरुजु बनाउन गुलरिया अस्पतालले खेलेको भूमिकाको मन्त्रालयले उच्च मूल्यांकन गरेको स्वास्थ्य सचिव श्रेष्ठले बताइन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयका प्रमुखको सहभागीता रहेको कार्यक्रममा स्वास्थ्यमन्त्री सारु, प्रमुख सचिब अधिकारी स्वास्थ्य सचिब श्रेष्ठले आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिँदै, आम नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रशासनिक निकायलाई उत्तरदायी बन्न आग्रह गरेका थिए ।
स्वास्थ्यमन्त्री सारुले यसबाट कार्यकुशलता र समग्र प्रशासनिक प्रक्रियामा सुधार आउने विश्वास व्यक्त गरे । शून्य बेरुजु प्रोत्साहन कार्यक्रम मार्फत सरकारी स्रोतको सही उपयोग र दक्षतापूर्वक काम गर्न सरकारको प्राथमिकता स्वास्थ्यमन्त्री सारुको भनाइ छ । स्वास्थ्य सचिब श्रेष्ठले आर्थिक सुशासनलाई दृढ बनाउँदै, अस्पताल स्वास्थ्य कार्यलयमा पारदर्शिता र जवाफदेहिता कायम राखेर कार्य गर्न निर्देशन समेत दिइन् ।