भेरी अस्पतालमा पहिलो पटक थालेसिमिया पीडित बालिकाको ‘Splenorenal Shunt’ शल्यक्रिया

भेरी अस्पतालका वरिष्ठ  ग्यास्ट्रो सर्जन डा.कृष्णमोहन अधिकारीका अनुसार यस प्रकारको शल्यक्रिया काठमाडौंका एक दुई ठाउँमा हुने गरेको भएपनि काठमाडौं बाहिर सम्भवत नेपालगन्जमै पहिलो पटक गरिएको हो ।


    • समिरमान श्रेष्ठ

  • २८ चैत्र २०८०, बुधबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा थालेसिमिया तथा  ‘Non-cirrhotic portal hypertension’ बाट  पीडित एक जना बालिकाको ‘Splenorenal Shunt’ शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

बारबर्दिया नगरपालिका– ११ वेलभार बर्दियाकी ११ वर्षीया बालिकाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । यही १८ गते शल्यक्रिया गरिएकी उनलाई २५ गते डिस्चार्ज गरिएको छ।

अस्पतालका ग्यास्ट्रो सर्जन डा.कृष्णमोहन अधिकारीको नेतृत्वमा गरिएको शल्यक्रियामा खजुरा क्यान्सर अस्पतालका कार्डियो थोरासिस भास्कुलर सर्जन डा.निरज भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, सर्जनहरु डा.सन्तोष श्रीपाइली र डा.कमल हसन अन्सारी, डा.विधान पौडेल लगायत नर्सिङ्ग स्टाफहरुको टिमले सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

थालेसिमिया भएको बिरामीलाई रगत चडाईरहदा फियो सुन्निएर फियो फाल्नुपर्ने अवस्था आउँन सक्छ । यो शल्यक्रियामा फियो निकालेर त्यहाँको रक्तनलीलाई लिएर मिर्गौलाको रक्तनलीमा जोडिन्छ ।

सामान्य मानिसमा आन्द्रामा हुने रगतको सञ्चार कलेजोसम्म पुग्नुपर्ने हुन्छ तर यो समस्या भएको बिरामीमा कलेजो सुन्निएको र आन्द्रामा भएको रगतको नशाहरु गुजल्टिएर बसेको कारणले गर्दा रगत कलेजोसम्म पुग्न पाएको हुदैन । यसकारण फियोको रक्तनलीलाई मिर्गौलाको रक्तनलीमा जोडेर कलेजोसम्म रगत सञ्चार सहज बनाउने गरिन्छ । यो शल्यक्रियालाई जटिल मानिने चिकित्सकहरु बताउँछन् ।

ती बालिकालाई तीन वर्षको उमेरमा थालेसिमिया पुष्टि भएको थियो । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले ती बालिकालाई थालेसिमिया पुष्टि गर्नुभएको थियो । वंशानुगत यो रोग थारु समुदायमा बढी रहेको चिकित्सकहरु बताउँछन् ।

शरीरमा रगतको मात्रा कम भएर बिरामीको स्वास्थ्य अवस्थालाई जटिल पार्ने यो रोगबाट प्रभावित ती बालिकाले प्रत्येक महिना रगत चढाउँदै आएकी थिइन् । भेरी अस्पतालका वरिष्ठ  ग्यास्ट्रो सर्जन डा.कृष्णमोहन अधिकारीका अनुसार यस प्रकारको शल्यक्रिया काठमाडौंका एक दुई ठाउँमा हुने गरेको भएपनि काठमाडौं बाहिर सम्भवत नेपालगन्जमै पहिलो पटक गरिएको हो । बालिकाका बुवा लक्ष्मण चौधरीले छोरीको शल्यक्रियापछि अवस्था सामान्य रहेको बताउनुभयो ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech