स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी गराउने बिषयमा छलफल

    • स्वास्थ्य पेज

  • २३ चैत्र २०८०, शुक्रबार

कोहलपुरः बाँकेको कोहलपुर नगरपालिकाले स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी गराउने विषयमा सेवा प्रदायक निकायसँग छलफल गरेको छ । कोहलपुर नगरपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबीच कोहलपुर नगर अस्पतालबाट अव विशेषज्ञ सेवा दिने सम्झौता भइसकेको छ । कोहलपुर नगरपालिका स्वास्थ्य वीमा संयोजन समितिले कोहलपुर नगरसभा हलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य वीमा कार्यक्रमलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने विषयमा सघन छलफल गरिएको समितिका सदस्य समेत रहेका वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिनुभयो । स्वास्थ्य वीमा वोर्डमा सूचिकृत मेडिकल कलेज कोहलपुरका चिकित्सकहरुले नगर अस्पतालबाट तीन दिन विशेषज्ञ सेवा प्रदान गर्दैछन् ।

स्वास्थ्य वीमामा समेटिएका बिरामीहरुलाई उनीहरुले प्राप्त गर्ने स्वास्थ्य सेवालाई सहज, सरल र गुणस्तरीय बनाउने सवालमा मेडिकल कलेजले प्रतिबद्धता जनाएको छ । कलेजका निर्देशक डा.सुरेश कुमार कनोडियाले स्वास्थ्य सेवा सहज तरिकाले प्रवाह गर्ने सवालमा मेडिकल कलेज प्रतिबद्ध रहेको बताउनुभयो । समितिका संयोजक समेत रहनु भएका कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले नगरबासीको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्नका निमित्त प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कोहलपुर नगरपालिकाले स्वास्थ्य वीमा कार्यक्रमलाई तत्काल कार्यान्वयनमा लैजाने ढंगले अगाडि बढेको भन्दै मेडिकल कलेजले बिरामीहरुको सहज उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले अस्पतालमा पुग्ने बिरामीहरुले छिटोछरितो र गुणस्तरीय उपचार सेवा पाउन नसकेको गुनासो आएको भन्दै त्यसतर्फ ध्यान दिन मेडिकल कलेजको ध्यानाकर्षण समेत गराउनुभयो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरसँगको सहकार्यमा कोहलपुर नगर अस्पतालबाट विशेषज्ञ सेवा दिन लागिएको कोहलपुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुभयो । आइतवार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, बुधवार जनरल फिजिसियन र शुक्रबार शल्य चिकित्सा सेवा प्रवाह गर्ने हुनेछ ।

जटिल खालका समस्या देखिएका बिरामीहरुलाई मेडिकल कलेजमा रिफर गरिनेछ । छलफल कार्यक्रममा डा. कनोडियाको नेतृत्वमा मेडिकल कलेजका चिकित्सक तथा कोहलपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्यको नेतृत्वमा जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

  • २३ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech