बढुवा माग गर्दै एकै पटक ८० भन्दा बढी चिकित्सकहरुले बीपी प्रतिष्ठान छाडे

चिकित्सक अभावका कारण बिरामीको भीड थेग्न मुस्किल


    • स्वास्थ्य पेज

  • २२ आश्विन २०८०, सोमबार

नेपालगन्जः शिक्षक कल्याण समाजको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार ८० भन्दा बढी चिकित्सकहरुले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाडेका छन् । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै सामूहिकरुपमा उनीहरू काठमाडौं हिँडेका हुन् । उनीहरुले स्वास्थ्य मन्त्रालयमा घेराउ र धर्ना दिन बीपी प्रतिष्ठान छाडेका हुन् । एकै पटक ८० भन्दा बढी चिकित्सकहरुले प्रतिष्ठान छाडेर काठमाडौं जाँदा प्रतिष्ठानमा उपचार सेवा प्रभावित भएको छ । प्रतिष्ठान छाडेर काठमाडौं जानेहरुमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरु रहेका छन् । बिरामी उपचार सेवा गर्ने मुख्य मेरुदण्ड उनीहरु नै हुन् । प्रतिष्ठानमा प्रोफेसर तहका चिकित्सक ३० जनाभन्दा कम रहेकाले उनीहरुबाट मात्र उपचार सेवा दिन नसक्ने अवस्था छ ।

प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराजअहमद खानले प्रतिष्ठानका पदाधिकारी र कार्यकारिणी समितिलाई पटकपटक दिएको अल्टिमेटमलाई बेवास्ता गरेकाले तीन दिनअघि नै बिदाको निवेदन लेखेर स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा घेराउ र धर्ना दिन प्रतिष्ठान छाडेको बताउनुभयो । यसबाट पर्ने असुविधा प्रतिष्ठानका पदाधिकारी स्वयमले जिम्मा लिनुपर्ने उहाँको भनाइ छ । समाजको आन्दोलनका कार्यक्रम अनुसार २२ गते सम्पूर्ण फ्याकल्टी सहकुलपति तथा स्वास्थ्यमन्त्री साथै कुलपति रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन काठमाडौं जाने, २३ असोजदेखि २५ सम्म स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा धर्ना दिने र २६ असोजसम्ममा आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता सुरु नगरे सामूहिक राजिनामा दिने रहेको छ ।

प्रतिष्ठानका डा.मुधुर बस्नेतले देशकै एक प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा रहेको प्रतिष्ठानमा वर्षौंदेखि बढुवाको प्रक्रिया अवरुद्ध हुँदा कतिपय शिक्षकहरुको सात वर्षदेखि बढुवा हुन नसक्दा त्यसकै कारण एकातिर योग्य शिक्षकहरुको पलायन बढ्दो रहेको बताउनुभयो। कतिपय महत्त्वपूर्ण विभागहरुमा एक जना पनि प्रोफेसर नहुँदा पठनपाठनमा समेत असर पर्न परिरहेको र यही क्रममा शिक्षकहरुको पलायन भइरहेमा छिट्टै प्रतिष्ठानको पठनपाठन र सेवामा गम्भीर ह्रास आउने निश्चित भएकाले देशकै प्रमुख ननप्राक्टिसिङ संस्थालाई बचाउन आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

  • २२ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech