राप्ती स्वास्थ्य प्रतिष्ठानको विवाद सुल्झियो, आजदेखि सेवा नियमित, भएको के हो ?

    • स्वास्थ्य पेज

  • ३० असार २०८०, शनिबार

नेपालगन्जः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उत्पन्न समस्या समाधान भएको छ । छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि ल्याइएका ११ वर्षीय बालकको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै अस्पतालको इमरजेन्सीसहितको सेवा अवरुद्ध पारेका थिए । हिंजो अवेर भएको सर्वदलीय तथा सर्वपक्षीय भेलाले छानवीन समिति गठन गर्ने, पीडित परिवारलाई क्षतीपूर्तिका लागि पहल गर्ने लगायतका सहमति भएपछि अस्पतालमा उत्पन्न समस्या समाधान भएको अस्पतालका प्रबन्ध निर्देशक डा रमेश कँडेलले जानकारी दिनुभयो ।

पीडित परिवारको आर्थिक अवस्था हेरेर मानवीयतालाई समेत ख्याल गर्दै बालकको उपचारका लागि अस्पतालमा लागेको खर्च मिनाह गर्ने, आर्थिक सहायताका लागि स्थानीय सरकार, प्रदेश सरकार, प्रदेश मन्त्रालय लगायतसँग पहल गर्ने, मृतक बालककी आमा वा दिदीलाई योग्यताका आधारमा अस्पतालमा रोजगार दिने लगायतका सहमति समेत भएको छ ।

सहमतिसँगै आजदेखि अस्पतालको काम नियमित भएको छ । बालकको मृत्युपछि मृतका आफन्तले अस्पतालको लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा आन्दोलन गरेर सेवाप्रवाह ठप्प पारेका थिए ।

भएको के थियो ?

अस्पतालका इमर्जेन्सी इन्चार्ज डा.उमाकान्त तिवारीका अनुुुसार तीन वर्षदेखि छारेरोग देखिएको बालकलाई बुधबार छारेरोग देखिएर आकस्मिक कक्षमा उपचारका लागि ल्याइएका थिए । आकास्मिक कक्षको इन्चार्ज भएकै कारण सुरुदेखि नै  उक्त केसलाई डा तिवारीले हेन्डलिङ गर्नु भएको थियो। आकस्मिक कक्षमा पनि बालकलाई दुई तीन पटक झट्का महसुस भएको थियो ।बालकको उपचार भएर छारेरोग कन्ट्रोल भयो। फेरि छारेरोग नदेखियोस् भनेर पिआइसियुमा राखियो। बालकको स्वास्थ्यमा सुधार भइरहेको थियो।

के कारणले छारेरोग देखियो पत्ता लगाउन पर्ने थियो, कारण पत्ता लागेन भने समस्या फेरि देखिन्थ्यो। छारेरोगको कारण पत्ता लगाउन टाउकोको एमआरआई गर्ने योजना बालरोग विशेषज्ञसहित हाम्रो टिमले बनायो। सोही योजना अनुसार बालकलाई एमआरआई रुममा लगियो। एमआरआई गराउँदा ३० मिनेटसम्म राख्नुपर्छ। बिना औषधि एमआरआई गराउन राख्दा बालकले हलचल गर्‍यो। त्यसपछि उनलाई सान्त गर्न बच्चाको डोजको हिसाबले औषधि दिइयो। एकैछिनमा बालकमा फेरि छारेरोगको लक्षणजस्तो देखियो। अक्सिजन लेबल कम भयो। बालकलाई अक्सिजन दिनुपर्ने भयो। एमआरआईभित्र पनि सेन्ट्रल अक्सिजन सप्लाई छ। सुरुमा त्यसले दिइयो। अक्सिजन दिँदा पनि अक्सिजन लेबल ९४ भन्दा माथि हुनुपर्ने भएन। बालकमा अक्सिजन लेबल ४६ भयो ।

अक्सिजन लेबल मेन्टेन नभएपछि फेरि पिआइसियुमा लैजाने र अर्को दिन एमआरआई गर्ने कुरा भयो। एमआरआई भित्र नर्स, डाक्टर र एमआरआईको टेक्निसिएन मात्र हुनुहुन्थ्यो। बालकलाई ह्वीलचियरमा राखेर माथिल्लो तलामा लानुपर्ने थियो। त्यसैले बाहिरबाट कसैलाई बोलाउ भनेर एमआरआई कक्षबाहिर रहेका गार्डले एमआरआई कक्षको ढोका खोल्ने क्रममा एमआरआईको चुम्बकले अक्सिजन सिलिन्डर तानेर एमआरआई मेसिनमा ठोक्कियो। त्यो क्रममा बच्चालाई सिलिन्डरले लागेको पनि छैन। तर अक्सिजन सिलिन्डर फुल स्पीडमा ठोक्किँदा ठूलो आवाज आयो।

एमआरआई रुममा अक्सिजन सिलिन्डर र एमआरआई मेसिन ठोक्किँदा आवाज आएसँगै बालकमा फेरि छारेरोगको अट्याक आएको देखिन्छ। बालकको ओठ टोकिएको अवस्था थियो। पिआइसियुमा लगेपछि बालकमा कुनै सुधार भएन। एक्सरे गरेर हेर्दा बालकको फोक्सोमा एस्पिरेसन निमोनिया (फोक्सोमा र्‍याल तथा थुक सर्केर हुने निमोनिया) पनि देखियो। बालकको अक्सिजन पनि मेन्टेन भइरहेको थिएन। बालकलाई भेन्टिलेटरमा राखियो । भेन्टिलेटरमा राख्दा राख्दै सबै औषधिहरु चलाउँदा चलाउँदै पनि बालकलाई बचाउन सकिएन। छारेरोग भएका बिरामीलाई ठूलो आवाज भएको ठाउँमा, भिडभाड, आगोको नजिक नजानु भनेर सल्लाह दिन्छौँ। त्यसले पनि छारे रोग बल्झाउन सक्छ भन्छौँ।

  • ३० असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech