कोभ्याक्स सुविधाअन्तर्गतको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको अनुरोध

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

काठमाडौं: उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।

नेपालीलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, कोरोनाविरुद्धको खोप विश्वकै नागरिकको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौँ ।

खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन ।जवाफमा संयोजक न्यान्तीले आफ्नातर्फबाट खोप ल्याउन सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म तीन लाख ४८ हजार मात्र मात्र प्राप्त गरेको छ ।

यसैगरी भारत सरकारबाट १० लाख डोज, भारतीय सेनामार्फत नेपाली सेनालाई एक लाख डोज र चीनबाट आठ लाख डोज खोप नेपालले प्राप्त गरेको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech