बैशाख ९ गते दाईलाई कोरोना पोजेटिभ भएको ११ दिन भईसकेको थियो । दाईलाई सन्चो नभएपछि चिकित्सकलाई देखाउनका लागि हामी(म र ठूली भाउजु)ले दाईलाई लिएर डा.खगेन्द्र जगं शाह कहाँ गयौ । डा.सापले रगत जाँच र छातीको एक्सरे गर्नु पर्छ भन्नुभयो । हामीले ल्याबमा लगेर रगत जाँच गरायौं । एक्सरेको लागी त्यँहा उपलव्ध नभएपछि अर्को ठाउँमा गई एक्सरे गर्यौ । सबै रिपोर्ट हेरेपछि डा शाहले निमोनिया सुरु भइसकेकाले भर्ना गर्न सुझाव दिनुभयो ।
बेडको अभाव भएको उहाँले संकेत गर्नुभयो । उहाँले औषधि र इन्जेक्सन चाही लेखेर दिनु भयो । म एकदमै डराएको थिएँ । माइलो दाई कोहलपुरबाट आउनु भयो । तत्कालको अवस्थाबारे सबै दाईलाई जानकारी गराए । भेरीमा बेडको अभाव भएपछि कोहलपुर मेडिकल कलेजमा बेडको व्यवस्थापन हुन्छकी भन्ने आशले दाई त्यतातिर जानुभयो । मेरो मोवाइलमा घन्टी बज्यो । कल रिसिभ गरे ।
भेरीमा एउटा बेड खालि हुन लागेको भन्दै भर्ना गर्न भनियो । तत्काल हामी दाईलाई लिएर म र भाउजु भेरी अस्पतालको कोरोना विशेष कक्षतिर गयौं । त्यँहा फेरी बुझदा बेडखाली छैन् भन्ने जवाफ आयो । धेरै अनुरोध गर्यौं । तर बेडको व्यवस्थापन हुन सकेन् । त्यतिकैमा एक जना डा.आउनुभयो । दाईको अक्सिजन लेभल जाँच गर्नुभयो । ९२ कहिले ९३ देखाइरहेको थियो । डाक्टर सावले भर्ना गरौं भन्नुभयो ।
दाईलाई कोभिड बिमारी कक्षतिर लगियो । बेड नं.१८ मा दाईलाई भर्ना गर्यौं । दाजुलाई ज्वरो आइरहेको थियो । खोकी पनि लागिरहेको थियो । भर्ना गरियो तर कुनै औषधि अस्पतालले दिएन । मन साह्रै दुखि रहेको थियो । आँखामा आँशु पनि आइसकेको थियो । आफन्त इष्टमित्रको बारम्बार फोन आईरहको थियो । कतिको कल रिसिभ भयो कतिको भएन । बोल्न नसक्ने अवस्थामा थिएँ । त्यही पनि मनलाई दह्रो पारेर दैलेखमा रहनु भएको ठूलो दाईलाई बोलाए ।
आफ्ना आँखालाई चारैतिर नियालेर हेरे । कुनै बेडखालि थिएन । सबै बेडमा बिमारीहरु अक्सिजनको सहायतामा छटपटाई रहेका थिएँ । कुरुवाहरुले कसैले शरिर दवाइ दिइरहेका थिए भने कसैले हावा हम्किरहेका थिएँ । विमारीका कुरुवा कोही श्रीमती कोही छोरा कोही बुहारी नाती थिएँ भने कतिका कोही पनि थिएनन । सबै बिमारीहरु छटपटाईरहेका र कुरुवा अतालिरहेका थिएँ । विमारीको हेरचाह गरिरहेको अवस्था थियो ।
बेडमा भर्ना भएको चार घण्टासम्म दाईलाई अक्सिजनबाहेक अन्य औषधी दिईएको थिएन । म बारम्बार डाक्टर र स्वास्थ्यकर्मी बस्ने ठाँउमा गएर बोलाउथे । डाक्टरले बल्लतल्ल औषधी लेखेको पर्चा मलाई थमाइदिए । मेडिकलमा गएर औषधि किनेर ल्याएँ । औषधी ल्याएको केहि समयपछि करिब साँझ ५÷६ बजेको बिचमा एक जना नर्सले दाईलाई इन्जेक्सनमार्फत औषधीदिनुभयो । त्यसपछि मेरो मन अलि शान्त भयो ।
अस्पतालभित्रको बिमारीको अवस्था देखेर मन साह्रै डराइरहेको थियो । मेरो दाईलाई राखेको बेडको छेउमा १७ नं. को बेडमा एक जना बुढि हजुरआमा छटपटाई रहनुभएको थियो । उहाँँको साथमा बुहारी र नातीपनि थिएँ । उहाँको घर खजुरा रहेछ । ति बुढि हजुरआमाको अवस्था एकदमै नाजुक थियो । उहाँलाई आइसीयू वा भेन्टिलेटरको आवश्यक्ता थियो । तर त्यँहा कुनै आइसीयू वा भेन्टिलेटर खाली नहुँदा ति हजुर आमालाई अक्सिजनको सहायतामा राखिएको रहेछ ।
दाईलाई राखिएको बेडको बगलमा १९ र २० नम्बर बेडमा एक दम्पती थिए । उहाँको सिराहा घर भई हाल खाघ संस्थानमा काम गर्नु हुदो रहेछ । तर उहाँको कुरुवा चाही कोहि नरहेछन् । उहाँहरु दुबैलाई दाईको समस्या जस्तै रहेछ । औषधी दिएको केहि समय सम्म त दाईलाई ज्वरो आएको थिएन । तर त्यही रात फेरी ज्वरो बढेर आयो । खोकी पनि लागिरहेको थियो । म अतालिए । दौडेर डाक्टर र नर्स बस्ने कक्षतिर गए ।
त्यहाँ म जस्तै अन्य ३ जना पनि बोलाउन जानु भएको रहेछ । अर्को कोभिड हलबाट डाक्टर।।।डाक्टर।।। भन्ने आवाज आईरहेको थियो । पीपीइ र ग्लोब्स लगाएका डाक्टर र नर्स हलतिर गए । एकजना मृत्युसँग छटपटाइ रहेका रहेछन् । एकछिन पछि उनी शान्त भए । एक जना नर्स भने हाम्रो हलमा आउनुभयो । दाईको ज्वरो नाप्नु भयो । अर्को इन्जेक्सन दिनुभयो । त्यो रात मलाई निन्द्रा नै लाएन ।
भोलिपल्ट बिहान फेरी विमारीलाई औषधी दिन थालियो । सबै बिमारीलाई औषधी दिए जस्तै मेरो दाईलाई पनि औषधी दिईएको थियो । म बाहिर निस्के, गेटको दक्षिणतिर जहाँ कोभिड बिमारीको मृत शरिर राखिएको थियो । म झन डराए । एक जना युवा अक्सिजन मास्क फालेर हात जोडेर सबैसँग माफी मागेर म मर्छु भन्दै कराउन थाले । त्यो भन्दा म झन डराए । नर्सले अक्सिजन मास्क लगाइदिनु भयो । केही हुँदैन् भन्दै सम्झाउनु भयो । कोरोनाले दिएको पीडा र छटपटीको महसुस गरे ।
त्यही दिन बेड नं.१७ की हजुरआमाले पनि अन्तिम सास फेर्नुभयो । छेउमै मृत शरिर देख्दा डर लाईरहेको थियो । बेलाबेलामा दाईलाई सम्झाउँथे नआत्तिनु केही हुदैन् भनेर । तर के गर्नु आफैलाई डरको भारीले थिचिरहेको थियो । दाईलाई अस्पताल पुर्याएको तेस्रो दिनमा डाक्टरले अक्सिजन लेभल हेरे पछि बिमारीको अवस्था अहिले ठिक छ यतिकै भएमा भोलि घर जाने भन्नुभयो ।
मैले ज्वरो कम भएपनि खोकी अलि कम भएको छैन भने । डाक्टरले खोकी विस्तारै ठिक हुँदै जान्छ भन्नुभयो । अस्पताल गएको चौथो दिन बिहानको औषधी दिईसकेको थियो । डाक्टरले डिस्चार्ज लेटर लेखिदिनुभयो । दाईलाई लिएर मेरो ठूलो दाई भाउजु र माइलो दाई सहित हामी घर तिर लाग्यौं ।
स्वास्थ्यकर्मीहरुले संक्रमित विरामीको उपचारमा गरेको त्याग देखेर उनिहरुप्रति नमन गर्न मन लाग्यो । सीमित जनशक्तिका बिच उनिहरुले आफ्नो ज्यानको प्रवाह नगरि सेवा दिइरहेका छन् ।