कुनै पनि दम्पतीकोे सबै कुरा नर्मल छ, तर पनि बच्चा बस्दैन भने उनीहरूमध्ये कसैमा वंशानुगत बाँझोपनको सम्भावना हुन सक्छ । एक वर्षसम्म महिलामा रजस्वला भएदेखि र पुरूषमा वीर्य उत्पादन हुन थालेपछि नियमित यौन सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ । गर्भ नबस्ने अर्थात् बाँझोपन हुनुमा महिलाकै कमजोरी देखाउने नेपाली समाजको मान्यता अझै कायम छ । बाँझोपन महिलामा मात्रै हुन्छ र महिलाकै कमी–कमजोरीका कारण गर्भ नरहने पुरुषवादी चिन्तन व्याप्त देखिन्छ । गर्भ नरहनुको कारण यही हो भन्न सकिन्न । कुनै मानसिक कारणले समेत प्रभाव पार्ने गरेको देखिन्छ भने केही स्वास्थ्यको कारणले समेत गर्भ बस्न सक्दैन । यी दुवै समस्याको समाधानका आ–आफ्नै उपचार पद्धति छन् ।
गर्भ नरहनुको कारण ?
पुरषको शुक्रकिट बन्यो तर गर्भ बस्न्लाई चाहिने आवश्यक मात्राभन्दा कम शुक्रकिट भयो भने गर्भ रहदैन । यी समस्या समाधानका उपाय समेत छन् । सन्तानको चाहँना राख्ने जोडीले डिम्ब निस्किने समय तथा यौन चाहँना भएको समयलाई ध्यान दिएर यौन सम्बन्ध राख्दा प्रभावकारी हुन सक्छ ।
महिलाको डिम्ब नै ननिस्केको खण्डमा समेत गर्भ बस्दैन । डिम्ब अस्वस्थ भयो भने र नियमित यौन सम्बन्ध भएन भने पनि गर्भ बस्ने सम्भावना रहँदैन । यसका लागि महिला महिनावारी समयको गणनाले सहयोग पुर्याउन सक्छ । महिनावारी भएको दिनको १० औं दिनदेखि २० औँ दिनभित्रको समय बच्चा बस्नका लागि उपयुक्त समय हो । यो समयमा यौन सम्पर्क भए बच्चा बस्ने सम्भावना बढी हुन्छ ।
महिलाको पाठेघरको नली बन्द हुनु पनि गर्भ नबस्ने कारणमध्ये एक हो । महिलाको फेलिपिन ट्युब बन्द हुँदा विभिन्न खालका संक्रमण हुनसक्छ । यसका साथै पाठेघर नलीमा इन्फेक्सनजस्ता कारणले पनि गर्भ नबस्न सक्छ । बाँझोपनको समस्या लिएर अस्पताल आउने केही प्रतिशत महिलामा यो कारण पनि देखिएको छ ।
अन्य विविध कारण बाझोपनको समस्या देखिन्छ । केहि कारणहरु तल उल्लेख छन् ।
महिलाको महिनावारी गडबड हुनु : महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ। कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ। यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम।
पाठेघरको समस्या : जन्मजात पाठेघरको समस्या, पाठेघरमा मासु पलाएको अथवा पहिला गरेको शल्यक्रियाको दाग छ भने गर्भपतन र समयभन्दा अगावै बच्चा जन्मने समस्या देखिने गर्छ ।
पुरुषकारक बाँझोपन: ३०-४० प्रतिशत जोडीमा यो करणले बाँझोपन हुने गर्छ । सामान्यतया वीर्यको स्तर कम हुनु, कम शुक्राणु बन्नु वा जन्मजात पुरुषको भित्री अंगमा समस्या हुनु पुरुषकारक बाँझोपनका कारण हुन् ।
हर्मोनको समस्या: कुनै कारण मस्तिष्कबाट निस्किने हर्मोन हाइपोथल्यामसबाट जीएनआरएच र पिट्युटरीबाट एफएसएचरएलएच को मात्रा कम भएमा पनि बाँझोपन हुन्छ । यी हर्मोनहरू अण्डाशयबाट अण्डा र शुक्रकीटबाट शुक्राणु निकाल्न चाहिन्छन् । उदाहरणका लागि, मस्तिष्कबाट निस्किने प्रोल्यक्टिन हर्मोनको मात्रा कुनै कारण बढी भएमा वा यसको उत्पादन हुने ठाउँमा मासु पलाएमा जीएनआरएच को मात्रा घट्छ, जसले बाँझोपन गराउँछ । यसबाहेक थाइरोइड ग्रन्थिसम्बन्धी रोगले पनि बाँझोपन गराउँछ ।
गर्भपतन : पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ।
- प्रदूषित वातावरण, तनावपूर्ण र अव्यवस्थित जीवनशैलीले र मधुमेह,थाइराइडको समस्याले पनि बाँझोपन देखिन सक्छ ।
बाँझोपनबाट बच्ने उपाय
सकेसम्म ३० वर्षको उमेर भित्र बच्चा जन्माउने योजना बनाउने । पहिलो बच्चा नभएकाले अस्थायी साधनको प्रयोग गर्दा बिचार पुर्याउने। धेरैपटक गर्भनिरोधक औषधिको प्रयोग गर्न हुदैन । साथै जिवनशैलीमा विशेष ध्यान दिनु आवश्यक छ । आफ्नो तौललाई नियन्त्रणमा राख्ने, लागुपदार्थको सेवन नगर्ने लगायतका कुरामा विशेष ध्यान दिनु आवश्यक छ ।
उपचार सम्भव छ ?
बाँझोपनको कारणको पहिचान गरेर समयमै उपचार गरे बाँझोपन हटाउन सकिन्छ । डराउने र आत्तिनेभन्दा पनि सही बाटो कहाँ हो भनेर जाँच गर्न जानुपर्छ । बाँझोपन भइसकेपछि राम्रो डाक्टरसँग परामर्श गर्नुपर्छ ।
प्रजनन दर बढाउन जोडीहरूले जीवनशैली केही परिवर्तन गर्नुपर्छ, जस्तो कम कीटनाशक भएका फलफूल र तरकारीहरूको सेवन बढाउने, तौल बढी भए घटाउने, नियमित व्यायाम गर्ने, चुरोट र रक्सी नखाने आदि । यसले प्रजनन क्षमता बढाउन धेरै फाइदा गर्छ । बच्चा जन्माउने निर्णय गरेपछि फोलिक एसिड सेवन सुरु गर्ने र नियमित आहारमा अत्यधिक पौष्टिक खानेकुराहरू खानुपर्छ ।