कोरोनाबाट तंग्रीएको नरैनापुर

    • स्वास्थ्य पेज

  • ८ असार २०७७, सोमबार

प्रियास्मृति ढकाल,

नेपालगन्ज ०८, असार ।
गएको जेठ दुई गते नरैनापुरमा एकैपटक आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ राख्ने भन्नेमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहलाई ठूलो तनाव भयो । पालिकामा आइसोलेसन सेन्टर थिएन । कोरोना विशेष अस्पताल खजुरामा बेड भरिभराउ थियो । संक्रमितहरुलाई दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउन पनि समस्या भयो । किनकी त्यसको दुई दिन अघि बर्दियाबाट ११ बर्षिया संक्रमित बालिकालाई बेलझुण्डी लैजान लाग्दा दाङमा विरोध भएपछि उनलाई बाँकेको खजुरामै राख्नु परेको थियो । आफ्नो पालिकाका संक्रिमतलाई आइसोलेसन सेन्टरमा राख्देउ भन्न उहाँले सिडिओदेखि प्रदेश सांसदसम्मै हात जोड्नु पर्यो ।

संक्रमण पुष्टि भएको करिव ४८ घण्टापछि संक्रमितहरुलाई बेलझुण्डी लगियो । त्यसको दुई दिनपछि दीपेन्द्र प्रावि क्वारेन्टिनमा एकजनाको मृत्यु भयो । पिसिआर परीक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आयो । त्यस्को भोलीपल्ट एकैपटक ५९ जना कोरोना संक्रमित थपिएपछि नरैनापुर कोरोनाको ‘हटस्पट’ बन्यो । पालिका अध्यक्ष साह आत्तिनुभयो । जनप्रतिनिधि र कर्मचारी त्राहीत्राही भए । कर्मचारीहरु घरबाट निस्कन छाडे । कोरोना आफ्नो नियन्त्रण भन्दा बाहिर गएको र आफुले केही गर्न नसक्ने भन्दै साहले मिडियामा हारगुहार गर्नुभयो । न सिडियो आए, न त एसपी उहाँ सम्झनु हुन्छ–‘यो क्षेत्रबाट निर्वाचित प्रदेश र संघीय सांसद समेत त्यतीबेला कोही आएनन् ।’

भारतबाट आउनेक्रम नरोकिएकाले संक्रमितको संख्या थपिनेक्रम चलिरहेको थियो । जेठको दोस्रो सातासम्म संक्रमित एक सय १८ पुगे । पालिका अध्यक्ष साह भन्नुहुन्छ–‘जव समस्या आफ्नो काँधमा आई पर्छ आफै जुध्नु पर्ने रहिछ ।’ जनताको सेवा गर्छु भनेर आइसकेपछि केही गर्नु पर्छ भन्ने आट र साहस उहाँले जुटाए । घरमा बसेका जनप्रतिनिधि र कर्मचारीहरुलाई परिचालन गर्नुभयोे । विद्युत र पानी नभएका क्वारेन्टिनलाई व्यवस्थित गर्न कर्मचारी परिचालन गर्नुभयो । कोरोनाबाट आत्तिएका जनतालाई सम्झाउँदै हिड्नुभयो । लकडाउनलाई पालना गर्न स्थानीयलाई अपिल गर्नुभयो । सामाजिक दूरीको पूर्ण पालना गराउनुभयो । सरसफाई र खानपिनमा ध्यान दिन आग्रह गर्नुभयो । स्थानीय स्वास्थ्य संस्थाहरुमा पनि कर्मचारी नियमित बस्न थाले । दुई वटा एम्वुलेन्स ‘स्ट्याण्ड वाई’ भए ।

उहाँ भन्नुहुन्छ–‘नेपाली सेना पनि परिचालन भयो । संक्रमणको दर पनि घट्न थाल्यो ।’ आइसोलेसनबाट कोरोना भाइरस जितेर घर फर्किनेक्रम पनि सुरु भयो ।’ जेठको १३ गते बाँकेका सिडिओ फेरिए । कुमारबहादुर खड्काको ठाउँमा रामबहादुर कुरुम्वाङ आउनुभयो । कुरुम्वाङ सुरुमै ‘हटस्पट’ नरैनापुर पुग्नुभयो । जवकी खड्का कोरोना संक्रमण फैलिएको नरैनापुरमा एक दिन पनि जानु भएनन् । सिडिओले आफुले गर्न सक्ने सहयोगको प्रतिबद्धता जनाउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा सँगै भएको आभाष दिलाउनुभयो । पाकिला अध्यक्ष साहलाई थप प्रेरणा मिल्यो । कोरोना विपदबाट हार खाएर हात उठाएका उहाँ खुसी हुँदै भन्नुहुन्छ–‘अव कोरोनासँग कुनै डर छैन् ।’ स्वास्थ्यकर्मीको न गतिलो उपस्थिति न त कुनै प्रशासनिक संयन्त्रका अधिकारीको सहज उपलब्धता । न स्थानीय तहकै जनप्रतिनिधिहरू नै भेटिने । यस्तो हालतबाट गुज्रिएको नरैनापुरले यिनै समस्यालाई सुधार गरेपछि कोरोनासँग जुध्न सहज भएको त्यहाँका स्थानीय पत्रकार विनिय दिक्षित बताउँनुहुन्छ ।

करिव साढे दुईदशकसम्म विद्युत नपुगेको ठाउँमा अहिले विद्युत पुग्यो । विद्युत पुगेलगत्तै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकी र नमूना प्रावि मोतिपुरमा सुविधा सम्पन्न आइसोलेसन सेन्टर स्थापना गरिएको छ । चिकित्सकविहीन पालिकामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) पढेका डा सागर पन्त खटिएका छन् । सदरमुकाम नेपालगन्जदेखि करिव ४० किलोमिटर पूर्वमा रहेको नरैनापुरमा अहिले मिडियाहरुको उपस्थिति पनि भइरहेको छ । नरैनापुरको विषयमा समाचार लेख्दा पुष्टीकरण गराउनै असहज हुन्थ्यो । किनकी मिडियाकर्मीको उपस्थिति नै न्यून हुन्थ्यो । अक्सर अरुले भनेकै भरमा समाचार बाहिर आउथ्यो ।

अध्यक्ष साह भन्नुहुन्छ–‘मिडियाले धेरै सर्पोट गर्यो । धेरै मिडिया स्थलगतरुपमै आएर अवस्था बुझ्नु भएको छ । नरैनापुरमा फैलिएको संक्रमण नियन्त्रणका लागि सरोकारवालालाई घचघच्याउन मिडियाले गरेको योगदान विर्सिन सक्दैन् ।’ जेठको अन्तिम सातासम्म आइपुग्दा नरैनापुर कोरोनाबाट मुक्त भइसकेको छ । यो अवधिमा पालिकाले करिव एक करोड रकम खर्च गरिसकेको पालिका अध्यक्ष साह बताउँछन् । उहाँ भन्नुहुन्छ–‘पालिकाको करिव एक करोड खर्च भएको छ । प्रदेश सरकारले १० लाख बजेट पठाएको थियो । क्वारेन्टिनमा बसेकाहरुलाई खानाखाजा र बस्नलाई पालिका आफैले सहयोग गरेकाले खर्च अझै बढ्न सक्छ ।’ संक्रमित सबै निको भएर घर फर्किसकेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ भन्नुहुन्छ–‘नरैनापुरको खिल निकाल्न सफल भयौं ।’

नरैनापुर गाउँपालिका–५ मटेहियाका रामधन यादवलाई अव कोरोना भाइरस सामान्य जस्तै लागिसकेको छ । कोरोनासँग भाग्न सकिने अवस्था छैन उनले भने–‘कोरोनासँगै बाँच्नु पर्छ तर उच्च सावधानी र सतकर्ता चाही अपनाउनु पर्छ ।’ उहाँको भनाइले नै पुष्टि गर्छ नरैनापुरमा अव कोरोनाको त्रास छैन् ।विज्ञहरु भन्छन्–‘कोरोनाको महामारी अन्त्य नहुँदासम्म सावधानी अपनाउनुको विकल्प देखिदैन् ।’

बाँके जिल्लामा रहेर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तीमा खटिएका भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे पालिकामा भित्रिने नयाँ व्यक्तिहरुलाई व्यवस्थित क्वारेन्टिनमा राख्ने र लक्ष्ण देखिएका विरामीलाई तत्काल आइसोलेट गरियो भने मात्र नरैनापुरले कोरोनाको जोखिम झेल्नु नपर्ने बताउँनुहुन्छ । सावुन पानीले हात धुने, गुणस्तरीय सेनिटाइजरको प्रयोग गर्ने, माक्सको प्रयोग अनिवार्य गर्नु पर्ने, सामाजिक दूरीको पालना गर्ने हो भने धेरै हदसम्म कोरोना भाइरसबाट जोगिन सकिने उहाँको सुझाव छ ।

  • ८ असार २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech