कोरोनासँग मिल्दो लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन सरकारको आग्रह

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७७, बिहीबार

 

काठमाडौं ११, मंसिर ।

सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन आग्रह गरेको छ । भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत सर्वसाधरणसम्म पुर्याउन स्वास्थ्य मन्त्रालयले भनेको छ ।

आज र भोलि राष्ट्रिय भिटामिन ए कार्यक्रम देशभर सञ्चालन हुँदैछ । यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो । परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिङ तिङ्करीले आज र भोलि देशभरि नै भिटामिन ए र जुकाको औषधि खुवाउने जानकारी दिनुभयो ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन ।

एक महिना ढिलो गरी अभियान भएकाले अहिले पनि एक महिनापछि सरेको महाशाखाका निर्देशक डाक्टर तिङ्करीले बताउनुभयो । ६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने डाक्टर तिङ्करीले बताउनुभयो । कोरोना संक्रमणलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाले नियमित लिँदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप अहिलेलाई भने स्थगित गरिएको छ ।

  • ११ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech