गम्भीर लक्षण देखिएका सङ्क्रमित होम आइसोलेशनमा बस्दा ज्यान जाने जोखिम बढ्यो: डा बाँस्तोला

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७७, शनिबार

काठमाडौं ६, मंसिर ।

लक्षण देखिएका सङ्क्रमित होम आइसोलेसनमा बस्दा गम्भीर समस्या हुन सक्ने भन्दै डाक्टरले लक्षण नभएमा मात्रै घरमै बस्न सुझाव दिएका छन् । अहिले कोरोनाको गम्भीर लक्षण देखिएकाहरु पनि घरमै आइसोलेशनमा बस्दा ज्यान जाने जोखिम बढेको सरुवा रोग विषेशज्ञ डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।

उहाँका अनुसार लक्षण नदेखिएका, हल्का रुघाखोकी र सामान्य लक्षण भएका सङ्क्रमित मात्रै होम आइसोलेसनमा बस्नु पर्छ । गम्भीर लक्षण देखिएका बिरामीको स्वास्थ्यमा जुनसुकै बेला जटिल अवस्था आउन सक्ने भएकाले अस्पताल जानु पर्ने उहाँको सुझाव छ ।बिरामीलाई एक्कासी स्वास्थ्य समस्या देखिएर अस्पतालमा पुर्याउँदा शैय्या नपाउने सम्भावना हुने डाक्टर बाँस्तोलाको भनाइ छ ।

यही कारण कतिपयको अस्पतालमा शैय्या खोज्दाखोज्दै, अस्पतालसम्म जान गाडी खोज्दाखोज्दै पनि ज्यान जाने पाइएको छ । यस्तै, कतिपय बिरामीहरु भने कोरोनाको लक्षण देखिँदा पनि १४-१५ दिन आइसोलेशनमा बस्नु पर्छ भनेर पीसीआर टेस्ट नै नगराइ घरमै बसिरहँदा पनि समस्या भएको डाक्टरले बताएका छन् ।

अहिले काठमाण्डौ उपत्यकाको अस्पतालमा भर्ना हुनेमा धेरैजसो अक्सिजन चाहिने र गम्भीर खालका सङ्क्रमितहरु मात्र रहेका पनि डाक्टर बाँस्तोलाले बताउनुभयो । अस्पतालको आइसियु अहिले पनि भरिभराउ नै रहेको उहाँले बताउनुभयो । तर आइसोलेशन वार्डहरु भने खाली हुँदै गएका छन् ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech