कोरोनाका कारण हुम्लाका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०७७, बिहीबार

 

हुम्ला ४ मंसिर ।
कोरोना भाइरस संक्रमण फैलिन थालेपछि हुम्लाका शैक्षिक संस्था बन्द गरिएको छ । जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गर्ने निर्णय गरेको हो ।

लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्तादेखि सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ ।कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बिहीबारदेखि बन्द गरिएको हो । सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन् ।

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ ।

नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो ।

कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ ।

यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टिन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शैय्या क्षमताको क्वारेन्टिनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरिएको छ । प्रत्येक गाउँपालिकामा पाँच शैय्या क्षमताको आइसोलेशन र १५ शैय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या भयावह हुने अवस्था सिर्जना भएको खण्डमा जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीबाट अपुग भएमा थप स्वास्थ्य जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताउनुभयो ।

 

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech